धरान । भारतको दिल्लीमा भएको मुस्लिम धार्मिक सभामा सहभागी भएका १९ जना नेपालीमध्ये ६ जना मात्रै सम्पर्कमा आएका छन् ।

कोरोनाभाइरसको लकडाउनकै अवधिमा दिल्लीको निजामुद्दिन क्षेत्रमा गरिएको ‘तबलिगी ए जमात’ को कार्यक्रममा नेपालबाट १९ जना मुस्लिम समुदाय सहभागी बनेका थिए । जसमध्ये ६ जना नेपाल सरकारको सम्पर्कमा आएका हुन् । नेपाल फर्किएका उनीहरू बुधबार सम्पर्कमा आएका हुन् । अन्य कता गए भन्ने विषयमा अहिलेसम्म कुनै निक्र्यौल हुन सकेको छैन ।

सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा पठाइएको प्रदेश १ प्रहरीले जानकारी दिएका छ । उनीहरूलाई सप्तरीस्थित बादेवर्साइनको क्वारेन्टाइनमा पठाइएको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै उनीहरू नेपाल प्रवेश गरेका थिए । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारत सरकारले यसविषयमा कडा कदम चाल्नेसमेत बताएको थियो । भारत सरकारले धार्मिक सभामा सहभागी भएका देशहरूलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाउन सक्ने गरी कदम चाल्ने तयारी गरेको जनाएको थियो ।

नेपालसहित १६ देशका करिब ३ सय मुस्लिम समुदायका मौलानाहरू त्यहाँ सहभागी बनेका थिए । प्रहरीका अनुसार क्वारेन्टाइनमा पठाइकाहरूमा भोक्राहा नरसिंह गाउँपालिका–८ का सुलेमान मियाँ, सलमान मियाँ, सोही गाउँपालिका ५ का असलम मियाँ, मोहमद समिम मियाँ, र मोहमद हाफिज मियाँ र ६ नम्बरका इद्रिस मियाँ छन् ।

तर, यसविषयमा जिल्लाका डिएसपी विनाेद शर्माले दिल्लीकाे धार्मिक सभामा सहभागी हुनेहरू काेही पनि सम्पर्कमा नअाएकाे पुष्टि गरे । उनले भारतबाट अाउनेहरूलाइ अहिले नियन्त्रणमा लिँदै क्वारेन्टाइनमा पठाउने कार्य भइरहेकाे दाबी गरे । 'दिल्लीकाे धार्मिक सभामा सहभागी हुने काेही पनि नेपाल अाएकै छैनन् । यदि काेही लुकेर अाएकाे रहेछ भने पनि हामी खाेजी गर्छाैं'-उनले भने ।