पथरी/ मोरङको कानेपोखरी गाउँपालिकास्थित कानेपोखरी जङ्गल क्षेत्रभित्रका रैथाने विभिन्न प्रजातिका हरिण जोगाउन अहिले सवडिभिजन वन कार्यालय कानेपोखरीलाई गाह्रो हुँदै गएको छ । माघ महिनाभित्र मात्र विभिन्न समयमा जम्मा ४ वटा हरिण मारिएको तथ्याङ्क वन कार्यालय कानेपोखरीमा रहेको छ ।

‘हरिण’ कसले शिकार गर्छ र कसले हुलबाट बिच्काउँछ भन्ने वन कार्यालयका कर्मचारीहरूलाई थाहा भने छैन । अहिले हरिण मार्ने जम्मा दुईवटा भुस्याहा कुकुरले शिकार गर्दै गरेको र हरिणलाई लखेटेर मार्ने गरेको वनका उपभोक्ता र कर्मचारीहरूले देखेको सवडिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीदास यादव बताउँछन् । उनले यो माघ महिनामा ४ वटा हरिण दुईवटा कुकुरले मारेको उनले बताए । ती कुकुर कहाँबाट आउँछन् र कसका हुन् भन्ने कसैलाई थाहा नभएको बताउँदै रोकथामको उपाय खोज्दै गरेको यादवले जनाए ।

पटक–पटक कुकुर आतङ्कबाट हरिण मारिएपछि वन कार्यालयले कानेपोखरी गाउँपालिकामा कुकुर आतङ्कबारे समस्या समाधान गर्न निवेदन दिइसकेको छ । कुकुर आतङ्कबाट हालसम्म ७ वटा हरिण मारिएका छन् । माघ १५ गते वडा नं. ७ को वन कार्यालय कानेपोखरीको लकडीको घाटगद्दीमा चर्न आएको बेला कुकुरले आक्रमण गरी मारेको थियो । त्यसैगरी माघ १८ गते वडा नं. ७ को ग्रामीण सुधार सामुदायिक वनको तल्लो भेगमा कुकुरले लखेट्ने क्रममा उपभोक्ताहरूले पक्रेर वन कार्यालयलाई बुझाएका थिए । कुकुरले टोकेको सो हरिण केहीबेरमै मरेको थियो । माघ २९ गते वडा नं. ५ को जनजागृति सामुदायिक वनको कार्यालयदेखि तल्लोभेगको बस्तीमा ती दुईवटा कुकुरले लखेटेर हसरण मारेको उपभोक्ताले भेटेका थिए ।

पुस महिनामा लेटाङ–कानेपोखरी सडक–खण्डमा कुकुरले खेदाउँदै गर्दा सवारी साधनमा हरिण ठोक्किएर मरेका थिए । त्यसैगरी सोही महिनामा कानेपोखरी चोक पश्चिमको जङ्गलमा कुकुरले कुदाउँदै लैजाँदा चिसाङपुलपारि सवारी साधनको ठक्करले हरिण मरेको अधिकृत यादवले बताए । सवडिभिजन कार्यालय कानेपोखरीले मरेका ४ वटा हरिणलाई मुचुल्का बनाई खाल्डोमा पुरेको थियो । त्यसैगरी दुईवटा मरेका हरिण सवडिभिजन कार्यालय बेलबारीले र एउटा हरिण सवडिभिजन कार्यालय लेटाङले पुरेको थियो ।

मरेका हरिणहरू ३० देखि ३५ केजीसम्मका थिए । कानेपोखरी वन कार्यालयको उत्तरपट्टि घाटगद्दीको खुला क्षेत्रमा कहिलेकाहीँ ६० देखि ७० वटासम्मको हुल आएर बस्ने, खेल्ने र चर्ने गरेको वन कार्यालयले जनाएको छ । शिकारी कुकुरले हरिणको खुट्टा र घाँटीमा टोक्ने गरेको पाइएको छ । पश्चिममा चिसाङ खोलादेखि पूर्वमा डाँसखोलासम्मको जङ्गल क्षेत्रमा विभिन्न प्रजातिका हरिणहरू रहेका छन् ।

उष्ण तथा समशितोष्ण क्षेत्रको जङ्गल तथा घाँसे मैदानमा पाइने शाकाहारी जनावर हरिण मोरङको कानेपोखरीको जङ्गल क्षेत्रमा पशस्त पाइने गरेका छन् । हुल बाँधिएर हिँड्ने हरिणको सङ्ख्या कानेपोखरी जङ्गल क्षेत्रमा अहिले वृद्धि भएको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवीन राईले बताए । पूर्व–पश्चिम राजमार्ग उत्तरदेखि पानी खान दक्षिणतर्फ हरिण आउने भएकोले धेरै दुर्घटना हुने गरेको समूहका अध्यक्ष राईले बताए । राजमार्ग दक्षिणको जङ्गलभित्र रहेका पोखरी, सुकुना खोला, भलुवा सिमसारमा प्रायः हरिणलगायत सबै जङ्गली जनावर पानी पिउन त्यसतर्फ आउने गरेका छन् ।

यसअघि त्यहाँ शिकारीहरूले बँदेल, हरिणलगायत जङ्गली जनावरहरूको शिकार गर्दै आएका थिए । शिकारीहरू पक्राउ पनि परेका थिए । जङ्गली जनावरको शिकार गर्ने क्रममा पक्राउ परेकाहरू अहिले पनि जेलमा रहेका छन् । प्रहरीले जङ्गलको तल्लोभेगको बस्तीबाट हतियारसहित हरिणको छाला, सिसहित शिकारीहरूलाई पक्राउ गरेको थियो । पहिलेको भन्दा मान्छेबाट जङ्गली जनावरको शिकार अलि कम भइ पनि अहिले कुकुर आतङ्कबाट हरिणको शिकार बढ्दै गएको छ ।