वराहक्षेत्र/ तपाईले विद्यालयका शिक्षक सरुवा भएकोे त सुन्नुभएकै होला, तर पूरै विद्यालय नै सरुवा भएको कतै देख्नुभएको छ ? छैन भने एक पटक वराहक्षेत्र नगरपालिकाको चिलैया टापुमा पुगे हुन्छ । त्यहाँको बालसेवा आधारभूत विद्यालय प्रत्येक वर्षजसो सरुवा भइरहन्छ ।

वडा नम्बर–६ मा पर्ने सप्तकोशी नदी किनारस्थित चिलैया टापुको यो विद्यालय प्रत्येक वर्ष नदीमा आउने बाढीले गर्दा स्थानान्तरण हुन्छ । आज यहाँ रहेको विद्यालय भोलि कहाँ पुग्ने हो, टुङ्गो हुन्न ।

विद्यालय समस्यै समस्याले जेलिएको छ । नदी कटानले गर्दा सरुवा भइरहनु पर्ने बाध्यता छ । अरूबेला ठीकै रहे पनि वर्षा शुरु भएपछि शिक्षकले डराई डराई पढाउनु पर्ने अवस्था छ । ‘विद्यार्थीले पढ्नु पर्ने बेलामा पानी प¥यो कि ध्यान जति कोशीतिर दिनुपर्ने अवस्था छ’ –प्रधानाध्यापक धनकुमारी राईले भनिन् ।

लगातारको कोशी कटानका कारण नदी विद्यालयको नजिकै आइसकेको छ । ‘अहिले फेरि तत्कालै सार्नुपर्ने स्थिति रहेको छ’ प्रधानाध्यापक राई भन्छिन्, ‘हिउँदमै विद्यालय नसारे वर्षामा धेरै गाह्रो हुन्छ ।’ २०५४ सालमा विद्यालय स्थापना हुँदा अहिलेको भन्दा आधा किलोमिटर उत्तर दिशामा रहेको थियो । हाल अभिभावकको भेलाले विद्यालय चिलैयाको पश्चिम र माझी गाउँको पूर्वमा रहेको स्थानमा सार्ने निर्णय गरेको छ । ‘सार्ने त भनियो तर सार्ने पो कसरी, सबैभन्दा ठूलो समस्या भनेको आर्थिकको नै हो’ प्रधानाध्यापक राई गुनासो गर्दै भन्छिन्, ‘कसैगरी सारिहाले पनि खुल्ला चौरमा पढाउनुको अर्को विकल्प छैन ।’

उनलाई ८७ जना विद्यार्थीलाई कसरी खुल्ला भूइँमा पढाउने र बाढी आएर विद्यालय भत्काउनु प¥यो भने विद्यार्थी लिएर कहाँ जाने भन्ने चिन्ता छ । विद्यालयको समस्या यति मात्र कहाँ हो र ? विद्यालयमा एउटा पनि शिक्षकको दरबन्दी छैन । ६ जना शिक्षक हुनुपर्ने हो, तर ३ जना शिक्षिका मात्र छन् । एक पिरियडमा तीनवटा कक्षा लिनुपर्ने अवस्था छ ।

कक्षामा एउटा राम्रो कालोपाटीसमेत छैन । खानेपानीका लागि एउटा कल छ । विद्यार्थी बस्ने बेञ्च अनि अफिसमा टेबलसमेत दयनीय छन् । विद्यालयको अवस्था बारे नगरपालिकामा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक राई बताउँछिन् । ‘जनप्रतिनिधि आउँछन्, अनुगमन गरेजस्तो गर्छन् अनि जोखिम क्षेत्र घोषणा भएको भन्दै झारो टार्ने काम मात्र गर्छन्’ –उनी भन्छिन् ।

आर्थिक वर्ष २०७५/७६ को लागि नगरपालिकाले एकमुष्ठ २ लाख ६६ हजार अनुदान दिएको छ । एकजना शिक्षक राख्ने अनुमति छ । त्यसबाट वर्षभरिको शिक्षकको तलब दिन, चक, डस्टर, प mाइल किन्न र विद्यालयको मर्मत, अफिस खर्च धान्न मुस्किल छ । वडानम्बर ६ को कार्यालयले बाल विकास कक्षाका लागि ३ लाख दिएको छ । त्यसबाहेक अरू केही पनि नगरपालिकाबाट सहयोग न पाएको तथा विद्यालय र शिक्षक व्यवस्थापनमा समेत निकै अप्ठ्यारो भइरहेको उनले बताइन् ।

अभिभावक दिलकुमार माझी पाएको अनुदान सकिएपछि विद्यालय बन्द हुने अवस्था रहेको बताउँछन् । विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष युकुमार मगरले शिक्षक दरबन्दी नभएकोले विद्यार्थीको पढाइमा असर परिरहेको बताए । शिक्षक दरबन्दी नभएको सो विद्यालय नगरपालिकामा एउटा मात्रै विद्यालय हो । शिक्षकको लागि नगरपालिकाले अनुदान उपलब्ध गराएको वराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम अधिकारीले बताए । यो वर्षातमा कोशी विद्यालयसम्म आइपुग्छ । नयाँ स्थानमा सारिने जग्गाको उपलब्धता बारे प्रक्रिया अघि बढाउनको लागि प्रधानाध्यापक र वडाध्यक्षसँग पनि कुरा भएको उनले बताए ।