धरान/फिल्म क्षेत्रमा उनी किशोर सम्बाहाङ्फे भनेर चिनिन्छन् अनि बक्सिङ खेलमा किशोरकुमार लिम्बू । फिल्मका कलाकार, निर्माता, वितरकको परिचय बनाएका उनी बक्सिङमा कुशल खेलाडी हुँदै कुशल प्रशिक्षक । किशोरले फरक क्षेत्रमा फरक–फरक परिचय त्यति सजिलै बनाएका भने होइनन् ।

तेह्रथुमबाट पढाइको सिलसिलामा धरान झरेका उनका दाजुभाइ र धेरै साथीहरू लाहुरे बने तर किशोर कलाकारिता र खेलमा सक्रिय बने । धेरै दुःख गरेर, ठक्कर खाएर सफलता पाएका किशोर अहिले खेल र कला दुवै क्षेत्रमा सँगसँगै अघि बढिरहेका छन् । ‘हामीजस्तो पहाडबाट झरेकालाई पहिला निक्कै गाह्रो थियो’ उनी सम्झिन्छन्, ‘त्यसबेला बाहिरबाट आएको भनेर हेप्नेहरूले पनि अहिले सम्मान गर्दा खुशी लाग्छ । मेहनत गरिरहे कुनै दिन सफलता पाइने रहेछ ।’

स्वर्ण जिताउने कोच
यसपटक काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङ खेलले तीन स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्यो । एउटै सागमा तीन स्वर्ण जितेको पहिलो पटक हो भने जम्मा १५ पदक जितेको पनि पहिलो पटक । बक्सिङमा देशलाई यो ऐतिहासिक सफलता दिलाउनमा खेलाडीसँगै धरानका प्रशिक्षक किशोरकुमार लिम्बूको पनि उत्तिकै मेहनत छ ।

सागका लागि १६ बक्सिङ खेलाडीलाई प्रशिक्षण दिन धरानका किशोर पनि तीन महिना खटेका थिए । किशोरसँगै ५ प्रशिक्षकले एक महिना पोखरा र बाँकी समय काठमाडौंमा रहेर खेलाडीहरूलाई सागका लागि तयार गरे । त्यसैको प्रतिफल अघिल्लो सागमा एउटै पनि स्वर्ण जित्न नसकेको नेपालले ऐतिहासिक सफलता पायो । सागमा आफ्नो जिम्मेवारी पूरा गरेर धरान आइपुगेका किशोर भन्छन्, ‘हाम्रो अपेक्षा त ६ स्वर्ण जित्ने थियो । तर ३ मात्र जित्न सकियो ।’

देशलाई स्वर्ण पदक जिताउन योगदान गरेका किशोरलाई धरान महोत्सवका अवसरमा धरान उपमहानगरपालिकाले नगद २५ हजारसहित सम्मान ग¥यो भने नेपाल सरकारले ५ लाख दिने घोषणा गरेको छ । सागमा पहिलो पटक कोच बन्ने अवसर पाएका किशोर आफूले गरेको मेहनतले सफलता पाएकोमा दङ्ग छन् । यसअघि उनी भारतको गुवाहाटीमा भएको महिला जुनियर आइबामा देशको प्रतिनिधित्व गर्दै कोच बनेर पुगेका थिए ।

किशोर अन्तर्राष्ट्रिय बक्सिङ सङ्घका ‘टु स्टार कोच’ हुन् । उनका अनुसार प्रदेश १ र २ मा टु स्टार कोच अरू छैनन् । यो लेभलको कोचले संसारभर बक्सिङ खेलाउन पाउँछन् । त्यसो त किशोर आफै पनि तीन पटक राष्ट्रियस्तरका बक्सिङमा गोल्डमेडल जितेका बक्सर हुन् । उनले ७ रजत र ९ कास्य पदक जितेका छन् । २०४७ सालदेखि ०६० सम्म बक्सिङ खेलेका किशोर २०६१ सालयता भने सरकारी कोचका रूपमा कार्यरत छन् । उनले पोखरा, वीरगञ्ज, हेटौंडा, धनकुटा र सुनसरीमा रहेर खेलाडीहरूलाई प्रशिक्षण दिइसकेका छन् । लामो समय बक्सिङमा बिताएका उनी भन्छन्, ‘बक्सिङ बलले मात्र खेलिने खेल होइन, यो त दिमागले खेल्नु पर्छ ।’

अभिनेतादेखि निर्मातासम्म
किशोर राम्रा खेलाडी मात्र होइनन्, कलाकार पनि हुन् । अभिनयमा रुचि भएका किशोरले २०५३ मा फिल्म ‘आफ्नो बिरानो’ मा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठलगायतका कलाकारसँगै अभिनय गरेर कलाकारिता शुरु गरे । त्यसपछि उनले हालसम्म करिब ३ दर्जन फिल्ममा अभिनय गरेका छन् ।

एक दर्जन जति फिल्ममा द्वन्द्व निर्देशन गरेका उनी फिल्मका वितरकदेखि निर्मातासमेत हुन् । उनले निर्माण र अभिनय गरेको पछिल्लो फिल्म पार्सल हो । किशोरले ‘वसन्त ऋतु’, ‘छिमेकी’, ‘निशानी’, ‘सायद’ लगायतका फिल्ममा मुख्य कलाकारका रूपमा अभिनय गरेका छन् । उनले निर्माण गरेका फिल्मले सोचेजस्तो सफलता नपाए पनि उनले हरेस खाएका छैनन् ।

यो क्षेत्रमा लागेर धेरै कुरा सिकेको अनुभव छ उनीसँग । उनको नयाँ फिल्म बनाउने योजना अझै पनि छ तर बक्सिङको व्यस्तताले शुरु गर्न नसकेको उनी बताउँछन् । खेल र फिल्मलाई सँगै अघि बढाइरहेका किशोर भन्छन्, ‘अझै केही वर्ष बक्सिङलाई समय दिन्छु, त्योसँगै फिल्मलाई पनि अघि बढाउँछु ।’