दमक (ब्लाष्ट) दमक–३ स्थित ढुकुरपानी माविको खुल्ला चौर । चौरको एउटा कुनामा करेसाबारी बनाइएको छ । यहाँ अध्यनरत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले काम गरेर यहाँ करेसाबारी तयार गरेका हुन् ।

कक्षा खाली भएको समयको सदुपयोग गर्दै उनीहरूले अहिले यहाँ रायोको साग, बन्दोकोवी, टमटरलगायतका तरकारीका बिरुवाहरू उमारेको विद्यालयमा अध्यनरत कक्षा ७ की छात्रा जुनु परियारले बताइन् । ‘हामीलाई कसरी बिरुवा उमार्ने भन्नेबारे क्यारितास नेपालले तालिम दिएको थियो । सो तालिमपश्चा्त हामीले विद्यालयको चौरमै तरकारीका बिरुवा लगाएका हौँ । ’ यसरी उमारेको बिरुवालाई अब यहीँ रोपिने समेत उनले बताइन् । विद्यालयले किचन कार्डेनको अवधारणा अनुसार विद्यार्थीलाई अर्गानिक तरकारी खेती गर्न अभिप्रेरित गरिरहेको छ ।

बालिका लागि आवश्यक पर्ने मल आफ्नै ठाउँमा उपलब्ध श्रोत साधानकै प्रयोगबाट जैविक मलसमेत बनाइएको छ । अर्गानिक तरकारीको खेती गर्ने तरिकाका बारेमा सिकाउँदा भविष्यमा खेती गर्ने र घरैमा पनि गएर अभिभावकलाई काममा सहयोग गर्ने भावनाको विकास समेत हुने विश्वास शिक्षक अर्जुन अधिकारीको छ । अधिकारी भन्छन् ‘ अहिलेका विद्यार्थीले माटो छुन समेत छोडिसके । तर, हामीले विद्यार्थीलाई काम गर्ने बानीको विकास गराउन र जिम्मेवारी बोधको विकास गराउन पनि यो काम शुरु गरेका हौँ ।’

यहाँ प्रयोग गरिने विभिन्न मल समेत विद्यार्थी आफैले बनाउँछन् । विद्यालयमा झरेका पात पतिङ्गरमा किसानहरूले तयार पारेको कम्पोष्ट मल, हरियो गोवर लगायतको मिश्रणबाट विद्यार्थीलाई नै मल समेत बनाउन सिकाइएको छ । पेशा र व्यवसाय भन्ने विषय नै यहाँ अध्यापन हुने गर्छ । कक्षा ६ देखि ८ सम्म पढाइ हुने सो पाठ्यपुस्तकमा भएका कुराहरूलाई व्यवहारमा प्रयोग गराउन पनि यो काम शुरु गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले बताए । ‘हामी सकेसम्म पाठ्यपुस्तकमा भएका कुराहरूलाई विद्यार्थीहरूमा प्रयोग गराउँछौ । सोही अनुरूपमा करेसाबारी पनि विद्यालय आफैले बनाएको हो । ’ प्रधानाध्यापक भण्डारीले बताए ।

पहिला पहिला विद्यार्थीलाई किताबमा जे लेखेको हुन्थ्यो त्यसैलाई मौखिक रूपमा भनेर मात्र बुझाउने गथ्र्यौँ । तर, अहिले चाहिँ विद्यार्र्थीलाई प्रयोगात्मक अभ्यास गराउँदा सहजैसँग बुझ्ने भएकाले पनि यसरी फिल्डमै उतार्नुपरेको विद्यालयले जनाएको छ । प्रधानाध्यापक भण्डारीका अनुसार करेसाबारी निर्माणका लागि करिव ४५ हजार रुपैँया खर्च भइ सकेको छ । कुटो, कोदालो, दाँते, हजारी, ग्लोब, मल बनाउन आवश्यक पर्ने ड्रम तथा अन्य कच्चा सामाग्री समेत खरिद गरिएको छ । यी सबै सामाग्री सङ्कलन गर्न त्यस बराबरको खर्च भएको उनले बताए ।

यस कार्यक्रममा दमक नगरपालिकाले पनि सहयोग गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरले एक विद्यालय एक उद्यम कार्यक्रमको योजना बनाएकाले विद्यालयमा उद्यम विकास सम्बन्धी कार्यक्रमलाई नगरले साथ दिने शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले बताए ।

विद्यार्थीलाई श्रमको सम्मान गर्न र उद्यम गर्न अभिप्रेरित गर्ने उद्देश्यले यस प्रकारको योजना बनाइएको न्यौपानेले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ५० हजार रुपैँया बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारितालाई मध्यनजर गरेर विस्तार गरिने उनले बताएका छन् । यो कार्यक्रमलाई दमकमा रहेका २२ वटा नै सामुदायिक विद्यालयमा कार्यान्वयन गर्ने योजना रहेको दमक नगरपालिकाको शिक्षा शाखाले बनाएको छ ।