धरानबाट ब्युटीप्याजेन्टको यात्रा शुरु गरेकी प्रियारानी लामाले यसपटक मलेसियामा भएको अन्तर्राष्ट्रियस्तरको ब्युटीप्याजेण्ट ‘मिस कस्मोपोलिटन वल्र्ड २०१९’ को उपाधि जीतिन् । ३२ देशका सुन्दरी सहभागी प्रतिस्पर्धामा ताज पहिरिन सफल प्रियारानी अहिले आफूले यात्रा शुरु गरेको धरानमा आइपुगेकी छन् । शुभेच्छुक र आफन्तबाट बधाई थाप्न व्यस्त प्रियारानीसँग ब्लाष्टले गरेको छोटो कुराकानी :

मिस कस्मोपोलिटन वल्र्ड जितेपछिको दैनिकी कस्तो छ ?
मलेसियाबाट कार्यक्रम सकिने बित्तिकै तिहारको लक्ष्मीपूजाको दिन नेपाल फर्किएँ । त्यसपछि तिहार लागिसकेकाले सिरहा गोलबजारस्थित घर पुगेँ । सबैले बधाई दिनुभयो । सम्मान गर्नुभयो । तिहार सकिएपछि आफू यो क्षेत्रमा लागेको, सङ्घर्ष गरेको धरानमा आएकी हुँ । यहाँ पनि सबैले बधाई दिइरहनुभएको छ । एकदमै खुशी लागेको छ ।

प्रतियोगितामा सहभागी हुँदा ताज जित्छु भन्नेमा कतिको आशावादी हुनुहुन्थ्यो ?
मैले तयारी त धेरै गरेकी थिएँ । ११ वर्षदेखि यो क्षेत्रमा रहेकाले अनुभव पनि थियो तर नेपालीहरूले अन्तर्राष्ट्रियस्तरका यस्ता प्रतियोगिता जितेको रेकर्ड कमै छ । त्यसैले मैले जित्छु भन्ने आशा गरेकी थिइनँ । मेरो नाम उद्घोष हुँदा आफैलाई विश्वास लागेन । सपनामा पो छु कि जस्तो लाग्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने योजना चाहिँ कहिलेबाट बनाउनुभएको थियो ?
मिस पूर्वाञ्चल २०१० मा फस्ट रनर अप भएपछि पत्रकारले भविष्यको योजना के छ भनेर सोध्दा मैले पहिला मिस नेपालमा जाने, त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपाललाई चिनाउँछु भनेर जवाफ दिएकी थिएँ । त्यही बेलादेखि कुनै दिन नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चमा झण्डा फहराउँछु भन्ने सोच थियो ।

यहाँसम्म पुग्न कस्तो सङ्घर्ष गर्नुपर्यो ?
म जनकपुरमा जन्मिएँ । मेरा दाजुभाइहरू छैनन् । त्यहाँको समाज, अझ आफन्तहरूले नै मेरो परिवारलाई ‘छोरीहरूलाई बोर्डिङ स्कुलमा नपढाऊ, अर्काको घरमा जानेलाई लगानी नगर’ भनेर सुझाव दिन्थे । त्यही बेलादेखि मलाई राम्रो पढेर, केही गरेर देखाउँछु भन्ने ‘इख’ पलाएको थियो । मैले १० कक्षासम्म उतै पढेँ । त्यसपछि परिवारको सहयोगले पढ्नका लागि धरान आएँ । धरानमै ब्युटी प्याजेण्टमा सहभागी भएँ । पढाइलाई निरन्तरता दिएँ । माइक्रोबायोलोजीमा एमएस्सी गरेँ । मिस नेपालमा दुईपटक भिडेँ । मिस ब्युटीफुल कम्प्लेक्सन टाइटल पनि जितेँ । त्यसपछि नेपाल वान टेलिभिजनमा होस्ट गरेँ । धेरैवटा ब्युटीप्याजेण्टको कोरियोग्राफी गरेँ, म्युजिक भिडियो खेलेँ । पहिला पनि अन्तर्राष्ट्रियस्तरको अर्को प्रतियोगितामा गएँ तर जित्न सकिनँ ।

कहिलेकाहीँ चाहिँ नेपालमा जति गर्दा पनि भएन भन्नेजस्तो लागेर विदेश जाने सोच पनि बनाएँ । यसपटक प्रतियोगिताका लागि मलेसिया जानुअघि यो अन्तिम प्रयास गर्छु, जित्न सकिनँ भने फर्किएर विदेशतिर लाग्छु भन्ने पनि सोचेकी थिएँ । तर जति सङ्घर्ष गरेँ, तिनले मलाई क्षमता विकासका लागि सहयोग पुर्याए । त्यसैले अहिले जित्न सफल भएँ । जहाँ पुगे पनि आफूले सङ्घर्ष गरेको धरान प्यारो लाग्छ ।

माइक्रोबायोलोजी पढिरहेको विद्यार्थी ब्युटीप्याजेण्टमा कसरी आकर्षित हुनुभयो ?
शुरुमा कलेज पढ्दा ‘मिस टिन धरान’ को विजेताले स्कुटी पाउने विज्ञापन देखेँ । खासमा स्कुटी जित्ने आशामा त्यो प्रतियोगीता भिड्न खोजेकी थिएँ तर त्यसमा भिड्न पाइनँ । तर धरानका पुरानो कोरियोग्राफर ललित राईले फेसन शोमा बोलाउनुभयो । उहाँले यो क्षेत्रका धेरै कुरा सिकाउनुभयो । धेरै फेसन शोहरूमा काम गरिसकेपछि ब्युटीप्याजेण्टप्रति आकर्षण बढ्यो । त्यसपछि मिस पूर्वाञ्चलमा सहभागी बनेँ र फस्ट रनर अप भएँ । त्यसपछि त यो क्षेत्रलाई निरन्तरता दिइरहेँ ।

ब्युटीप्याजेण्टलाई राज्यका निकायले कसरी हेरेका छन् ?
ब्युटीप्याजेण्ट भन्ने बित्तिकै हाम्रोमा बाहिरी सुन्दरताको मात्र खोजी गर्ने, हल्का फुल्का विषयका रूपमा मात्र हेरिन्छ । तर यो बाहिरी सुन्दरतामात्र होइन, बौद्धिकताको परीक्षा पनि हो । तर राज्यका निकायले यसलाई त्यसरी बुझ्न सकेका छैनन् । हामी देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चमा झण्डा बोकेर जान्छौं तर त्यो झण्डा पनि आफै किनेर लानुपर्ने अवस्था छ ।

अब ताज जितेपछिका योजनाहरू के–के छन् ?
देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता जितेपछि अब देशको नाम चम्काउने काम गर्नुपर्छ भन्ने लागेको छ । मेरो जन्मस्थान रहेको दुई नम्बर प्रदेशमा अहिले पनि महिला, गरिबहरूको अवस्था राम्रो छैन । उनीहरूको जीवनस्तर माथि उठाउन, उनीहरूलाई बोल्न सक्ने बनाउन केही काम गर्नुपर्छ भन्ने सोचेकी छु । त्यसबाहेक ब्युटीप्याजेण्ट क्षेत्रलाई अझ व्यवस्थित बनाउन, नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्नका लागि सबैसँग सल्लाह लिएर काम गर्ने सोच छ । अनि कुनै समय नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटीप्याजेण्ट आयोजना गर्ने सोचेकी छु ।