" स्वस्थकर दसैँ ; शाकाहारी दसैं " सुन्दा पनि अचम्म लाग्न सक्छ - दसैँ पनि शाकाहारी हुन्छ र ?मासुबिनाको दसैं पनि सम्भव होला र ? तर यो सम्भव छ र स्वस्थकर पनि । आउनुस म बेलिबिस्तार लगाउँछु; तपाइको स्वास्थ्य, दसैं अनि खानपानको सन्दर्भमा । हामी सबैलाई थाहा नै छ; आसुरी शक्तिमाथि दैवीशक्तिको बिजय उत्सवका रुपमा मान्यजनबाट टिकाजमरा, आशिर्बाद ग्रहण गरि खुशियाली साटासाट गरेर मिठामिठा परिकार खाएर दसैं मनाउने चलन छ । हामी पर्व मनाइरहंदा खानपानमा भने पटक्कै ध्यान दिदैनौं । अझ यो पर्व त भारिभरकम खाना अनि मासुबिना असम्भव प्राय: भैसकेको छ । अरु सबैले मासुका परिकार खाइरहंदा शाकाहारी भने एक्लिएको, अलग्गिएको महसुस गर्ने गरेको बताउछिन संखुवासभा पांचखपनकि दिलुमाया श्रेष्ठ ।
 तर शाकाहारी अधिकांश रोगहरुबाट बच्ने गरेको र अन्य मिठा खानेकुराको खोजी गर्न सकिने बताएपछि उनि खुशी भइन । दसैंमा शारीरिक क्रियाकलापमा कमि आउने र आवस्यकताभन्दा बढी अस्वस्थकर खानेकुरा पनि त्यहि दौरान खाने प्रवृत्ति रहेको छ । दसैंमा अधिक चिल्लो, पिरो,नुनिलो,अमिलो,गुलियो,मसालेदार खानेकुरा, मासुका परिकार जस्तै भुटन,छोइला,सेकुवा,पक्कु,कवाफ आदि खाने गरिन्छ।यससंगै पेय पदार्थ, अचार प्रशस्त मात्रामा खाइन्छ ।तर यस्ता प्रकृतिका खानेकुरा स्वास्थ्यका दृस्टीकोणले उपर्युक्त मानिदैनन ।यस्तो खानपानले मुलत: नसर्ने एवं दिर्घ रोगीहरुको संख्या बढाइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालसहित दक्षिण एसियाली देशमा २५% जनसंख्या नसर्ने रोगले ग्रसित पाइएको छ । २०१६ को एक अध्ययन अनुसार नेपालमा ३०% मुटुरोग, ४% मधुमेह, ९% क्यान्सरका कारण मृत्यु हुने गरेको देखिन्छ |
हाम्रो खाना स्वस्थकर कि हानिकारक
१. तारेको खानेकुरा :- प्रशस्त चिल्लोयुक्त तारेको खानेकुराले उच्च रक्तचाप, नशामा बोसो जमी रगत संचालनमा अबरोध ल्याउने रोग (atherosclerosis), हृदयघात, मस्तिस्कघात जस्ता रोग निम्तिन सक्छन। यसर्थ पकाउनुअघि उसिन्नु राम्रो हुन्छ या त कम भुटुनको प्रयोग गर्ने , सामान्य आगोमा सेकाउने पनि गर्न सकिन्छ ।
२. कोल्ड ड्रिंक्स :- यस्ता पेय पदार्थ कार्बनडाइअक्साइडयुक्त (carbonated)र उच्च घुलित चिनी रहने हुदाँ शरीरमा मन्द विषको काम गरिरहेको हुन्छ। यसले ग्यास्ट्रिक्स, पेटसम्बन्धि समस्या, मधुमेह जस्ता रोग निम्त्याउन्न मद्दत गर्छ। यसको बिकल्पमा फलफूल र त्यसको जुस खान सकिन्छ ।
३. अल्कोहल जन्य पदार्थ :- रक्सी, बियर आदि । यसको अत्याधिक सेवनले प्यान्क्रियाज सुनिने,जन्डिस,मानसिक असन्तुलन, आन्द्राको, कलेजोको क्यान्सर, मुटुसम्बन्धि रोग लाग्ने जोखिम बढ्छ। गर्भवती महिलाले सेवन गरेको खण्डमा गर्भ तुहिने, चाडो बच्चा जन्मने, सुस्तमस्थितिको बच्चा जन्मने हुन सक्छ। यसको सट्टामा जुसको प्रयोग वा परेजमा बस्नु ठिक हुन्छ ।
४ मासुजन्य खानेकुरा:- मासुमा पाइने बिशेष प्रोटिन- एमइलोइड फ़ाइब्रिल १०० ग्राम प्रतिदिनभन्दा बढी हुन गएमा स्नायुकोषको बिनाश हुन्छ । रातो मासु:- रातोमासुमा पाइने उच्च प्रोटिन, फलामका कारण अल्जेइमर रोग लाग्ने गर्दछ। त्यस्तै त्यसमा पाइने चिल्लो पदार्थले लिभर सिरोसिस, हृदयघात, मुटुरोग, मस्तिस्कघात, उच्च रक्तचाप समेत हुन सक्छ । तसर्थ पकाउनु अघि उछिन्न जरुरि हुन्छ । भेडा, च्याङ्ग्रा, भैसीको सट्टा साना जनावर एबं माछा कुखुरा खादा जोखिम कम हुन्छ । पोलेको मासु/ सेकुवा :- बार्बिक्युड मासुमा कार्बन एबं क्यान्सर लगाउने तत्व (carcinogen) हुने हुदा यस्ता खानेकुरा खादा क्यान्सर लाग्ने खतरा बढ्छ। तारेको तेल पुन: प्रयोग गर्दा पेटसम्बन्धी अनेक रोग लाग्ने गर्छन, त्यसैले आवश्यक परिमाणमा प्रयोग गर्नु उचित हुन्छ धेरै परिमाणको मासु राखन परे WHO का अनुसार फ्रिजमा ५ डिग्रि सेन्टिग्रेडभन्दा कम तापमानमा राख्नुपर्छ र खादा ६० डिग्रीभन्दा कम तापक्रमको हुनुहुदैन जसकारण सुक्ष्म जिव ग्रोथ हुन पाउदैन र रोग लाग्नबाट बच्न सकिन्छ। एकपटक पाकेको खाना पुन: तताउंदा पोषण नष्ट हुने र क्यान्सर लगाउने तत्व उत्सर्जन हुने हुदा आवस्यक परिमाणमा मासु बनाउनु उत्तम मानिन्छ ।
५ फलफुल तथा तरकारी :-शाकाहारीको प्रमुख श्रोत यस्ता खानेकुरामा प्रशस्त भिटामिन, खनिज तत्व, फाइटोकेमिकल, एन्टिअक्सिडेनट, रेसा लगायतका तत्व पाइन्छ। एन्टिअक्सिडेनटले क्यान्सरबाट जोगाउँछ; रेसादार तत्वले मोटोपना हुन दिदैन, कोलेस्टोरोल घटाई मुटुसम्बन्धि रोगबाट बचाउछ।क्याल्सियमले हड्डी र दाँतको स्वास्थ्य मजबुत बनाउछ त्यस्तै भिटामिनले आखाको स्वास्थ्य ,रोगप्रतिरोधात्मक क्षमता बढाउछ। दसैंमा मासु खादै गर्दा पनि यस्ता खानेकुराको सेवनले जोखिम न्युनिकरण गर्न सघाउ पुर्याउछ । यससंगै दहि मोही को प्रयोग लाभदायक हुन्छ जस्ले पाचन प्रक्रियामा मद्दत गर्छ | दसैंमा शाकाहारी खानपानको दृस्टीकोणले एक्लिएको महसुस गरेपनि मासु भन्दा स्वादिला स्तरिय खानेकुराको खोजि गर्न सके दसैं रमाइलो बन्छ । जसमा मटर पनिर ,पालक पनिर, च्याउ तोफु मिटअनालग, दहि ,मिठाइ आदि खान सकिन्छ ।
६ जङ्क फुड :- यस्ता खानेकुरा अत्याधिक प्रसोधित ( processed )हुन्छन , कम पोषक तत्व हुने र एडेड सुगर, साल्ट एबं हानिकारक बोसो(trans fat) बढी मात्रामा हुने हुदा पेट, मुटु सम्बन्धि रोग , मधुमेह ,डिप्रेसन, पाचनप्रनालिमा ह्रास ल्याउछ |
७ अचारजन्य खानेकुरा :- यो अधिक अमिलो, नुनिलो,मसलेदार हुने हुँदा पेट दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने , ग्यास्ट्रिक, उच्च रक्तचाप हुने सम्भावना हुन्छ । यसर्थ खानेबेलामा सिमित परिमाणमा बनाउने र सलादको प्रयोग लाभप्रद हुन्छ । यसरी मासुजन्य पदार्थको अनुचित प्रयोगले बिबिध स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउने खतरा देखिए तापनि न्युनिकरणका उपाय अपनाउदा स्वस्थ रहन सकिन्छ । अनि शाकाहारी हुदैमा मात्रै स्वस्थ भइन्छ भन्नु पनि भ्रम हो , त्यसका लागि स्वस्थकर खानपान शैली आवस्यक पर्छ । यद्यपि बिस्वमा बर्षेनी ८०-८५ लाख मानिस मासुजन्य
खानेकुराका कारण नै मृत्यु भैरहेको तथ्याङ्क छ । स्वास्थ्य भन्दा ठुलो केहि होइन ; खानपानमा बिशेष ध्यान दिऔं | सम्पूर्णमा बिजयदशमी तथा शुभ दिपावली एबं छैठको हार्दिक मंगलमय शुभकामना !!! खान जानौं , स्वस्थ रहौं !!!
Bikram Dhakal Subim
Bsc. Nutrition and Dietetics Central Campus of Technology, Dharan
                    
        
                                        
                                                                                                
        































