विराटनगर/ मोरङ लक्ष्मीमार्गका हरि लिम्बू (नाम परिवर्तन) कक्षा ११ मा अध्ययनरत छन् । २१ वर्षीय उनको कलेज पढ्ने सहपाठीसँग माया बस्यो ।

लामो समयसम्म उनीहरूको प्रेमसम्बन्ध रह्यो । सँगै मर्ने, सँगै बाँच्ने भनेर चोखो माया लगाएको उनीहरूको सम्बन्ध राम्रो थियो । पढाइसँगै घुमघाम पनि गर्दै आएका थिए । गत वर्षदेखि उनीहरूको सम्बन्धमा एकाएक खट्पट आयो र प्रेम सम्बन्धले विश्राम लियो । लिम्बूलाई उनका प्रेमीकाले बीचमै छाडेर अर्कोसँग सम्बन्धमा रहिन् । त्यस दिनदेखि लिम्बू कलेज जान छोडे । तनावमा भएका उनी पीडा भुल्न लागूऔषध लिन थाले । विस्तारै उनी कुलतमा फसे ।

सुनसरीका २० वर्षीय श्याम कामत (नाम परिवर्तन) लागूऔषधको कुलतमा लागेको दुई वर्ष भयो । उनले १८ वर्षको उमेरदेखि साथीहरूको सङ्गतमा लागेर लागूऔषध सेवन शुरु गरेका हुन् । कक्षा १२ मा अध्ययनरत उनी बुबा–आमाले पढाइ खर्चका लागि दिएको पैसाले साथीहरूसँगको सङ्गतमा लागूऔषधको लतमा लागिपरे । शुरुवातमा साथीहरूले लागूऔषध लिए पीडा भुल्न सकिने बताएपछि प्रयोग गरे । विस्तारै उनी त्यसैमा फसे । अहिले उनी त्यसबाट मुक्ति खोजिरहेका छन् ।

यी प्रतिनिधिमूलक घटना मात्रै हुन् लागूऔषध कुलतका । लागूऔषधमा फस्ने युवाको सङ्ख्या निकै छ मोरङमा । मोरङ प्रहरीले १ हजार तीन सय ७६ जना लागूऔषध प्रयोगकर्ताहरूसँग गरेको सर्वेक्षणमा १६ देखि २५ वर्ष उमेरका ८ सय ३३ जना युवाले लागूऔषध प्रयोग गर्ने भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

त्यस्तै २६ देखि ४० वर्ष उमेरसमूहका ५ सय ९ जना, १२ देखि १५ वर्ष उमेर समूहका १२ जना, ४१ देखि ५० वर्ष उमेर समूहका २४ जना र ५१ वर्षभन्दा माथिका ३ जना लागूऔषध प्रयोगकर्ता भेटिएको उनले बताए । मोरङ प्रहरीले वैशाख २६ देखि साउन ३२ गतेसम्म ‘लागूऔषध विरूद्धको विशेष अभियान’ चलाएको थियो । यो अभियान अहिले पनि विराटनगरस्थित रानीमा ‘क्यान’ सेण्टर खोलेर सञ्चालन भइरहेको छ ।

तीन महिनाको अभियानमा १६ देखि २५ वर्ष उमेर समूहका युवाले बढी लागूऔषध प्रयोग गर्ने भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले प्रयोगकर्ताहरूमा गरेको सर्वेक्षणअनुसार सबैभन्दा बढी मजदुरले लागूऔषध सेवन गर्ने गरेको भेटिएको छ । तीन महिनाको अवधिमा ५ सय ४४ जना मजदुर, २ सय ६१ जना चालक÷सह–चालक, १ सय ६८ जना व्यवसायी, १ सय ३६ जना विद्यार्थी र २६ जना कृषि पेशामा रहनेले लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै शैक्षिक योग्यताको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा बढी ६ देखि १० कक्षासम्म अध्ययरत बढी लागूऔषधको प्रयोग गर्ने भेटिएको छ । प्रहरीले सार्वजनिक गरेको अभिलेखअनुसार ६ देखि १० सम्म ७ सय ५४ जना, १ देखि ५ सम्म २ सय ३६ जना, ११ र १२ कक्षाका १ सय ७७, स्नातक १ सय ६४ र अन्य प्राविधिक विषय पढ्ने ४५ जना लागूऔषध प्रयोगकर्ता भेटिएका छन् ।

डाइजोपाम लागूऔषध प्रयोग धेरै
प्रहरीको गरेको सर्वेक्षणअनुसार सबैभन्दा बढी डाइजोपाम नामक औषधि प्रयोग गर्ने भेटिएका छन् । खुला सीमाको फाइदा उठाउँदै लागूऔषध प्रयोगकर्ताहरूले सीमावार्ती बजार जोगवनीमा गएर डाइजोपाम लागूऔषध सेवन गर्ने गरेको एसपी अधिकारीले बताए । १३ सय ७६ जनामा गरेको सर्वेक्षणमा लागूऔषध सेवन गर्ने १ हजार ३ सय १२, सिरिञ्जबाट २ सय ८६ र सुँघेर सेवन गर्नेमा ४ जना फेला परेको उनले बताए ।

प्रहरीले गरेको सर्भेअनुसार लागूऔषध बिक्रेताबाट प्रयोगकताहरूले लागूऔषध ल्याउने गरेका छन् । १ हजार ३ सय ६९ जनाले बिक्रेताबाट खरिद गरेर ल्याएका छन् भने ३ सय ८८ जनाले दुव्र्यसनी साथीभाइहरूबाट लागूऔषध लिने गरेका छन् । लागूऔष प्रयोगकताहरूले पीडा र तनाव भुल्न लागूऔषध सेवन गर्ने गरेको मोरङ प्रहरीका डिएिसपी घनश्याम श्रेष्ठले बताए । लागूऔषध प्रयोगकर्ताहरूसँग गरिएको कुराकानीमा ५ सय ११ जनाले अन्यन्त सुख महसुसको लागि र ३ सय ७१ जनाले तनाव भुल्न लागूऔषध प्रयोग गर्ने गरेको बताएका थिए ।

अभियानले लागूऔषध मुद्दामा कमी
मोरङ प्रहरीले ‘लागूऔषध विरूद्धको विशेष अभियान’ गत वैशाखदेखि शुरु गरेपछि लागूऔषधसम्बन्धी मुद्दा दर्तामा कमी आएको पाइएको छ । प्रयोगकर्ताहरूलाई विज्ञ टोलीबाट काउन्सिलिङ गराएको कारणले गर्दा पनि लागूऔषध मुद्दाको सङ्ख्यामा कमी आएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीको विभिन्न मातहतमा गरि २०७५ सालको जेठ, असार र साउनमा ९७ वटा लागूऔषध मुद्दा दर्ता भएकोको ०७६ सालको सोही तीन महिनामा ४२ वटा मात्र मुद्दा दर्ता भएको प्रहरीको अभिलेखमा देखिन्छ । मोरङ प्रहरीका एसपी अधिकारीले लागूऔषध कारोबार र प्रयोगकर्ताको सङ्ख्या घटाउनका लागि नागरिकस्तरबाट सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए ।