विषय प्रवेशः
मिति २०७५/१०/१४ को दिन विगत ३ वर्षदेखि अन्यौलग्रस्त अवस्थामा रहेका धनकुटे रोडवासी र धरान उपमहानगरपालिकाबीच चलिरहेको शितयुद्ध कार्यवाहक उपमेयर वडा १५ का अध्यक्ष श्री नरेशकुमार इवारमले केन्द्रीय सरकारद्वारा प्रस्तावित मदन भण्डारी राजमार्ग घनकुटे रोडवासीको हितमा भएको कारण धरान उपमहानगरपालिकाको हार्दिक समर्थन भएको पत्र तनावग्रस्त तनावग्रस्त पीडितका प्रतिनिधि मण्डल तथा विशाल जुलुसलाई कार्यवाहक मेयरको बाहुलीबाट सहमतिपत्र प्रदान गरिएपछि उक्त जुलुस उपमहानगर तथा कार्यवाहक उपमेयरप्रति सन्तोष व्यक्त गर्दै उपमहानगर घेर्न पुगेका जुलुस फर्कियो । यस सहमतिका कारण अल्प– आधुनिक शहर धरान अब आधुनिक शहर बन्ने बाटो खुल्यो भने बाइपास सडक सर्दूखोला बीपी केआईअचएस मलाया रोड हुँदै तीनकुने पुग्नेछ । 
 
मदन भण्डारी राजमार्गले दिएको धरानवासीलाई सन्देशः
त्यस दिन कार्यवाहक मेयर नरेशकुमार इवारमले गरेको निर्णय विविध कारणले ऐतिहासिक हुनसक्ने ठानिन्छ । पहिले त उक्त निर्णयले २० वर्ष अघि पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले सारेको रिङरोडको अवधारणाले मुर्त रूप लिनसक्ने भएपछि नगरवासीको आशा जागेको छ । उनको पालोमा निर्णय भएका धरान शहरलाई आधुनिक बनाउन मूल ३ बुँदाहरू अघि सारेका थिए, जस्तै शिक्षा, स्वास्थ्य र पर्यटकको विकास पूरा भए वर्तमान अल्प–आधुनिक धरान शहर आधुनिक हुनेमा कुनै शङ्का छैन । 
 
रिङरोडको नक्सा वा स्वरुप यस प्रकार छः
सर्दुखोला हुँदै बीपी केआईएचएसको दक्षिण पर्खाल, मलाया रोडबाट हाल धरानको तीनकुने त्यहाँबाट केही पूर्व सेउती नदी उत्तर किनार हुँदै खत्रीधाराबाट उकालो चढी धरान वडा नं. १३ मा पर्ने शिवधारासम्म यो सडक ४ लेनको हुनेछ । त्यस्तै सर्दू, रेल्वे बस्तीबाट वडा १७, ११, १६ र १३ हुँदै शिवधारासम्म ७२ फिट चौडाइको सडक निर्माण भएपछि धरान उपमहानगरको स्वरूप नै फेरिने छ, सुन्दर र अल्प–आधुनिक शहर भए पनि देशी– विदेशी पर्यटकको आगमन बढ्ने छ । त्यसबाट थोरै भए पनि रोजगारी सिर्जना हुने छ भने धरान उपमहानगरको आर्थिक आय बढ्ने छ । अर्को तीनकुनेबाट हिमाली पेट्रोलपम्पसम्म ७२ फिट चौडाईको र त्यो भन्दामाथि ५० फिटको सडक निर्माण हुँदा वर्तमान ऐतिहासिक धरानको स्वरूपमा फेर बदल हुने छैन बरु बजार अझ मनमोहक तथा सुन्दर देखिने छ ।  
 
धरानबाट झापाको पाटासम्म मदन भण्डारी राजमार्गः
नेपालको पूर्वाञ्चल क्षेत्रको विकासमा विशेष गरी धरानप्रति ऐतिहासिक पुरानो राजनीतिक पार्टी नेपाली काङ्ग्रेस सधै उदासिन रह्यो, नेपालको राजनीतिक हिसाबले सबैभन्दा लामो सत्तासिन पार्टी हो । तर धरान कम्युनिष्टहरूको अखडा भएको कारण उक्त पार्टी धरानको विकासप्रति कहिले सकारात्मक रहेन । उक्त पार्टीले धरानबाट तत्कालीन अञ्चल अदालत विराटनगरमा सार्यो यस्तै धरानका कयौं महत्वपूर्ण सरकारी कार्यालययहरू पनि धरानबाट विराटनगर र इटहरीतिर सार्यो । फलस्वरुप विगतको आम राष्ट्रिय निर्वाचन र स्थानीय निर्वाचनमा ऐतिहासिक पार्टी नेपाली काङ्ग्रेसप्रति आफ्नो असन्तुष्टी जोडतोडले पोखाए । अन्य ठाउँहरूमा पनि जनताद्वारा तिरष्कृत भएको कारण नेपाल कम्युनिष्ट पार्टी सबै भन्दा ठूलो मात्र होइन दुई तिहाई बहुमत साथ सरकारमा पुग्यो । नयाँ सरकारले कयौं ऐतिहासिक निर्णयहरू गर्यो ती मध्ये धरान हुँदै सुनसरी, मोरङ, झापा र इलाम जोड्ने मदन भण्डारी राजमार्ग निर्माण गर्ने ऐतिहासिक निर्णय गर्यो ।
 
त्यसका लागि एक प्रभावशाली उपभोक्ता सङ्घर्ष समिति गठन भएको थियो र उक्त समितिको अध्यक्षमा इलामका बृहस्पति खतिवडा, सचिवमा रमेश बस्नेत र सदस्यमा धरान वडा नं. १५ का वडा अध्यक्ष नरेशकुमार इवारमलगायत १८ जनाको संयुक्त समिति बन्यो । हाल युद्धस्तरमा राजमार्ग निर्माण भइरहेकाले उक्त समितिले सहयोगीका रूपमा कार्य गरिरहेको छ । साथै सरकारले हेटौँडाबाट धरान हुँदै मेचीको पाटासम्मको मदन भण्डारी राजमार्गलाई पश्चिम महाकालीको डडेलधुरासम्म निर्माण गर्नेछ । यो राजमार्ग सिन्धुली, उदयपुर, सुनसरी, मोरङ, झापा र इलामको दक्षिणी सिमानासँग जोडिने छ । प्रधानमन्त्री ओली, झलनाथ खनाललगायत सल्लाहकार रहेकाले सडक निर्माणका लागि ५ अर्ब ४० कडोर रुपैयाँ विनियोजन भइसकेको छ । अबको ५ वर्षभित्र मदन भण्डारी राजमार्ग सम्पन्न हुनेछ । 
 
मदन भण्डारी राजमार्ग पूरा भएपछिको धरान ः
अबको ५ वर्षभित्र वर्तमान सरकारद्वारा अनुमोदित धरानको सर्दू खोलादेखि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको बीच भएर झापाको उत्तरी सिमाना इलामसँग जोडिने पाटासम्म मदन भण्डारी राजमार्ग बनिसक्नेछ । र, उक्त राजमार्गबाट सुनसरी, मोरङ र झापाको उत्तरी भेग र इलामको दक्षिणी भेगका जनतालाई ठूलै सुविधा पुग्ने छ । यस राजमार्ग हुँदै पूर्वको गन्तव्य पाटासम्म पुग्नलाई पूर्वाञ्चलको सबै भन्दा सुन्दर नगरी धरान भएर जानु पर्ने हुँदा यस ऐतिहासिक राजमार्गले विजयपुरको ऐतिहासिक शहर धरानलाई सबैभन्दा बढी सकारात्मक प्रभाव अवश्य पार्नेछ ।
 
यस ऐतिहासिक ४ लेनको मदन भणडारी राजमार्गले धरानको दक्षिणी भेगलाई धरानको मूलधारमा समाहित गर्नेछ र हाल खण्डहरतुल्य भूभाग पनि शहरमा परिवर्तन हुनेछ । यसपछि वर्तमान धरान शहरको आकार बढ्ने छ भने धरानलाई आवश्यक पर्ने रिङरोडको अवधारणा पनि पूरा हुनेछ । त्यसपछि धरानबाट पूर्व काँकडभिट्टा र इलाम तथा भारत जान इटहरी झर्नु पर्दैन, सिधै मदन भण्डारी राजमार्ग भएर जान पाइने छ । त्यसबाट पूर्वको गन्तव्य स्थान पाटा र काँकडभिट्टा पुग्न साढे १ घण्टा अहिलेको समय भन्दा कम लाग्ने छ र सवारी साधनको भाडा पनि कम हुनेछ । 
 
मदनभण्डारी राजमार्गको उपहार धरानवासीलाई :
हेटौँडाबाट पूर्वतर्फ निर्माण भइरहेको मदन भण्डारी राजमार्ग उदयपुर जिल्लाको गाईघाटदेखि धरानसम्मको राजमार्ग वर्ष दिनभित्र पूर्ण रूपले तयार हुने अवस्थामा छ । गाईघाटदेखि सिन्धुली जिल्लाको भिमानसम्मको राजमार्ग पनि २ वर्ष भित्र पूरा गर्न जोडतोडले काम भइरहेको छ । उक्त राजमार्ग तयार भएपछि विशेष गरी राजधानी काठमाडौं र विदेश जाने धराने तथा पूर्वाञ्चलका मानिसलाई ठूलै राहत मिल्नेछ । हालको समय भन्दा २ घण्टा चाँडो काठमाडौं पुगिने र सवारी साधनको भाडा पनि निकै कम हुनेछ र यस राजमार्गले मोरङ, झापाको उत्तरी भेगका जनता, इलाम दक्षिणका जनतालाई पनि ठूलै राहत मिल्नेछ । त्यतिमात्र नभई पाँचथर ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम र धनकुटावासीलाई पनि राहत मिल्नेछ । यस मदन भण्डारी राजमार्गबाट सबै भन्दा सुन्दर र  सकारात्मक प्रभाव भने धरानवासीले पाउने छन् । 
 
अबको कुरा धरानको एयरपोर्टः
पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले धरान एयरपोर्ट निर्माणको थालनी गरेका थिए । र, तत्कालीन नेकपा माओवादी सरकारको पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले स्वीकृति दिइसकेको तर दुर्भाग्य शिलान्यास हुन २ दिन बाँकी हुँदा प्रधानमन्त्री प्रचण्डको सरकार ढल्यो । यसपछि बनेका सरकारका मन्त्री भीम आचार्यले सम्भव भएसम्म प्रयास गर्दा गर्दै पदबाट हटाइए । यसपछि बनेका नेपाली काङ्ग्रेसको सरकारका मन्त्री मिन विश्वकर्माले पनि एयरपोर्ट निर्माण गर्न अथक प्रयास गर्दागर्दै नेपाली काङ्ग्रेसको सरकार विघटन भयो । उनी सांसद् हुँदा नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि अवलोकन गर्न धरानमा ल्याएका थिए । र उनले पनि हिउँदो याममा विराटनगर एयरपोर्टमा दैनिक जस्तो बाक्लो कुहिरोको कारण दैनिक कयांै उडान रद्द भएको देखेपछि धरानमा एयरपोर्ट हुनु अति आवश्यक छ भनेका थिए । तर उनको पनि सरकार ढल्यो । 
 
अहिले धरानमा एयरपोर्ट हुनुपर्छ मात्र होइन एयरपोर्टलाई आवश्यकता पर्ने जग्गासमेत उपलब्ध गराउने धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको दलका अध्यक्ष केपी ओली देशका प्रधानमन्त्री छन्, व्यक्तिगत हिसाबले पूर्वमेयरको प्रधानमन्त्रीसँग राम्रो चिनजान नभएको पनि होइन । त्यो धरानमा एयरपोर्ट बन्नसक्ने सुनौलो अवसर यो भन्दा अरु हुनै सक्दैन । धरानमा एयरपोर्ट हुनु पर्छ भन्नेमा पहाडी जिल्ला मध्येका धनकुटा, तेह्रथुम र सङ्खुवासभावासी पनि छन् । यसको पहल राजनीतिक तथा व्यक्तिगत रूपमा भए पनि थालनी गर्नुपर्छ । सुनिन्छ वर्तमान धरानका कार्यवाहक मेयर मञ्जु भण्डारीकी नाता–गोता हुन अरे प्रधानमन्त्री, त्यसकारण धरान एयरपोर्टको लागि धरानकी कार्यवाहक मेयरबाट पहल शुरु हुनुपर्छ ।
 
त्यस्तै सांसद् जयकुमार बान्तवा, १ नं. प्रदेशका सभाध्यक्ष धरानवासी प्रदीप भण्डारी, नेकाका नेता भए पनि १ नं. प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ र नेकपाका धरान उप–महानगरपालिकावासी रमेश बस्नेत र मुक्साहाङ मेन्याङ्बो अनि उदयीमान नेता नरेशकुमार इवारमहरूले धरानमा एयरपोर्टका लागि सशक्त भूमिका खेल्ने समय आएको छ । यदि धरानमा एयरपोर्ट हुने हो भने धरान उपमहानगरपालिका र सुनसरी १ नंं निर्वाचन क्षेत्रको राजनीति २५ वर्षसम्म अरू दलले खोस्न सक्ने छैन ।