धरान–चतरा सडकअन्तर्गत सर्दू खोलामा पुल बन्ने विषयले अहिले चर्चा पाएको छ । यो खबर धरानवासीका लागि वर्षौंपछिको सुखद् खबर हो । पुल त बनाउनैपर्छ, यसका लागि झण्डै दुई साता अघिदेखि काम पनि अगाडि बढिसकेको छ, यद्यपि धरानको भाग्य र भविष्यका लागि यो पुल निर्माण सँगसँगै काममा होइन, कुरामा मात्र सीमित रहँदै आएको एयरपोर्ट निर्माणलाई पनि जोड्नुपर्छ भन्ने नयाँ तर्क, सुझाव र जिज्ञासा राख्ने प्रयत्न गरिएको छ ।

[caption id="attachment_68627" align="alignnone" width="2079"] स्केचः सूर्य[/caption]

धरानको भाग्य र भविष्य बनाउन एयरपोर्ट बनाउने कुरा तीन दशक अघिदेखि चल्दै आएको छ । तर यो योजना वीरबलको खिचडीबाहेक अरू केही हुन सकेको छैन । यति इन्कर्पोरेटले बनाउन सकेन । पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणले डाँडाघोपामा बनाउने भनिएको छ तर हालसम्म नापनापेसो गरेजस्तो बाहेक कुनै प्रगति हुन सकेको छैन । एयरपोर्टका लागि ९३ बिघा जग्गा आवश्यक पर्ने र अर्बौं–खर्बौं बजेट लाग्ने भनिएको छ । जग्गा कसले किन्ने, कहिले किन्ने, कहाँको किन्ने, कसरी किन्ने भन्नेबारे अन्तिम टुङ्गो लागेको छैन । तथापि चौध वर्ष अघिदेखि डाँडाघोपावासीको जग्गामा उनीहरूलाई भोगाधिकारबाट वञ्चित गरिएको छ ।

यता सर्दूमा भने पुल बन्ला–बन्ला मात्र होइन, पुलको पिल्लरको लागि डोजरले खाल्डाखुल्डी बनाउन पनि शुरु भइसकेको छ । पुल त बन्नैपर्छ । जतिसक्दो छिटो बनाउन पहल पनि गर्नुपर्छ । सँगसँगै यही धरानका जनप्रतिनिधि, आम नागरिकको जोश, जाँगर र पहलमा माथि उल्लेख गरिएको एयरपोर्ट पनि बन्नसक्छ र त्यो पनि हामीले सुन्दै आएको अति ठूलो रकममा होइन, त्यसभन्दा निकै नै कम लागतमा । हामी आम धरानवासी र हामीले बनाएका जनप्रतिनिधिहरूमा कल्पना, सपना, आँट र समर्पण हुने हो भन्ने धेरै पसिना नबगाई खुशीखुशीका साथ बन्नसक्छ भन्ने यो लेखकको तर्क हो ।

धरान–चतरा सडकअन्तर्गत सर्दू खोलामा जुन स्थानबाट पूर्व–पश्चिम सवारी साधन वारपार गरिरहेका छन्, सो स्थानलाई बीच भाग मान्दा (हाल पुलको लागि खाल्डो खनिरहेको ठाउँ) त्यसको उत्तर–दक्षिण गरी खोलाको झण्डै सय बिघा क्षेत्रफलमा एयरपोर्ट बनाउन सकिन्छ । केही जग्गा अपुगजस्तो भएमा चतरा र भरौल जाने बाटो छुट्टिने जुन विन्दु छ, त्यसको ५०–१००, मिटर जति– कति आवश्यक पर्छ, त्यति दुरीमा पूर्व–दक्षिणतर्फ केही दर्जन रुख कटान र जग्गा सम्याएर एयरपोर्टका लागि भूमि उपलब्ध गर्न सकिन्छ । यस्तै भरौल र चतरा छुट्टिने विन्दुभन्दा उत्तरको खेत भएका केही नम्बरी जग्गा आवश्यक पर्ने भयो भने जग्गादातालाई सन्तुष्ट पारेर खरीद गर्न सकिन्छ । विश्वास लाग्दैन भने आजै, अहिल्यै एकचोटी पुनः त्यो ठाउँमा पुग्नोस्, वरिपरि हेर्नोस् त ।

सर्दू खोला ठूलो डरलाग्दो, धेरै पानी बग्ने खोला होइन । पहिलेको तुलनामा अहिलेको सर्दू खोला खहरे खोलाजस्तै हो जहाँ वर्षायाममा मात्र पानी बग्छ । त्यहाँ बग्ने पानीलाई एकै ठाउँमा पार्ने हो भने ठूलो आकारका बढीमा चारवटा (अनुमान) ह्युमपाइपमा पानी छिराउन सकिन्छ । वर्षायाममा खोलामा छरिएर बग्ने सबै पानीलाई उत्तरतर्फको विन्दुभन्दा केही माथिबाट पूर्व र पश्चिमतर्फ बगाउने गरी १–२ दिन  डाेजर/स्काभेटर चलाएर हलुका भिरालो पार्दै छड्के–छड्के पारी (अङ्ग्रेजीको उल्टो ‘भी’ आकारमा) किनारा लगाउन सकिन्छ । जुन विन्दुबाट पानीलाई कटाउने छड्के बाटो बनाएर पूर्व या पश्चिम भित्तासम्म पुर्याइन्छ– त्यति स्थानमा ढलाने बाँध लगाउनुपर्छ । थप, हामीलाई आवश्यक पर्ने जग्गाको दक्षिण विन्दुसम्म पूर्व र पश्चिमतर्फबाट समान आकारको वा एकातिर ठूलो र एकातिर सानो गरी पैनी वा कुलो कस्तो आकार दिन सकिन्छ, दिनुपर्छ । त्यस्तो कुलो÷पैनीलाई ढलान वा ग्याब्लिङ के गर्दा उपयुक्त हुन्छ, त्यसै गर्नुपर्छ । पूर्वबाट कुलो/पैनीजस्तो बनाएर पानी बगाउँदा पूर्वी बस्तीहरूबाट आउने ढल निकासको पानी पनि त्यहीँ बग्दछ भने पश्चिम–उत्तरतिरको पाखा तथा खेतबाट बग्ने पानी पश्चिमतिरको कुलोबाट बग्दछ ।

उत्तर दिशामा पूर्व–पश्चिम पानी कटाउन उल्टो ‘भी’ आकारमा बनाइने ढलान वा ग्याब्लिङ भत्किएर अहिलेजस्तै बीच भाग वा यत्रतत्र पानी बग्ने जोखिम हुन्छ भन्ने आशङ्का रहे थप उत्तरतिर केही दुरीको अन्तर पारेर अरू २–३ वटा त्यस्ता ढलान वा ग्याब्लिङ बनाउनुपर्छ । यसका साथै वनस्पतिविज्ञहरूको सल्लाहअनुसार चाँडै जरा हाल्ने, फैलिने बोटबिरुवा रोप्नुपर्छ । बलौटे जमीनमा बोटबिरुवा सार्न, हुर्काउन गाह्रो पर्ने भए बिरुवाको जरा वरिपरि आवश्यक पर्ने जति २०–२५ गाडी (अनुमानित) माटो ल्याएर हाल्नुपर्छ । बिरुवा रोपणका लागि आम नगरवासीलाई आह्वान गरी केही दिन श्रमदानमा सहभागी गराउनुपर्छ । अझ सकिन्छ भने पटनाली वा चारकोशे जङ्गलबाट मध्यम स्तरका रुखहरू जरैसहित ल्याएर रोप्न सकिन्छ । काठमाडौँ महानगरपालिका ठूला रुख रोप्ने मेसिन ल्याउने प्रक्रियामा छ । सोही मेसिन आवश्यक समयका लागि यहाँ ल्याउन सकिन्छ । यो कार्य असार महिनाअगाडि नै गर्नुपर्छ । रोपिएका बोटबिरुवाले जरा नहालुञ्जेल १/२ महिना दिनैपिच्छे केही ट्याङ्कर पानी हाल्न सकिन्छ । वर्षाअगाडि यी सबै काम सम्पन्न गर्न सम्भव हुँदैन भने माथि उल्लेखित उत्तरतर्फको ‘भी’ आकारको ढलान वा ग्याब्लिङ निर्माण सम्पन्न गरी पूर्व र पश्चिमतिर किनारा लाग्ने पानीलाई पुनः ढलानको बीच भागको ३०- ४० मिटर दक्षिण खोलाको बीच भागमै ल्याएर खोलाको सिधा मध्य भागबाट बग्ने बनाएर पूर्व–पश्चिमको नहर/कुलो निर्माणको काम जारी राख्नुपर्दछ ।

यसो गर्दा धरान–चतरा चल्ने सवारी साधनहरू पनि पूर्वपट्टि हाल खोलामा छुने विन्दुमा पुगेर दक्षिण लागेर पुल चढी पश्चिम भएर पुनः पश्चिमको पुल पार गरेर उत्तर–पश्चिम हुँदै चतरा जानुपर्ने हुन्छ । यस हिसाबले हामीलाई एयरपोर्टका लागि आवश्यक पर्ने जग्गाको दक्षिणी विन्दुमा पूर्व र पश्चिम गरी दुईवटा स–साना पुल बनाउँदा हालको पुलको अनुमानित खर्च निकै कम हुन पुग्छ । अर्कोतर्फ डाँडाघोपामा नपुग जग्गा पूरा गर्न किन्नुपर्ने करोडौँ रकम पनि जोगाड भएर त्यही रकमको सानो हिस्साले जमीन सम्याउने काम, बाँध/ढलान, नहर/कुलोको संरचना निर्माण हुनसक्छ ।

दक्षिण र पश्चिम क्षेत्रमा जङ्गल तथा उत्तरपूर्वी भागमा पाखा–पहाड भएकोले यी दिशा हवाई जहाज ल्याण्डिङलाई उपयुक्त नहोला । क्रमशः होचो हुँदै ल्यान्डिङ गर्ने हवाई जहाजले उत्तरपूर्वी भागबाट पश्चिम लागेर खोला र पाखाको किनार हुँदै दक्षिण फर्किएर वा पूर्वबाट आएर (जङ्गलको उत्तरको भाग) पश्चिम हुँदै उत्तर फर्किएर ल्यान्ड गर्न सक्छन् । हुन त खोला–नदीहरूको प्राकृतिक बहाव बिथोल्न हुँदैन भनिएला । तर माथि नै भनिसकियो, धरानको सर्दू खोला खहरे खोलाजत्तिकै भइसकेको छ । ठाउँ धेरै ओगटेको मात्र हो । धरानकै मध्यविन्दु भएर बग्ने खहरे खोला कति ठाउँमा मिचिएर थिचिएर भए पनि नियन्त्रण भएरै बगिरहेको छ । हामीले सर्दूलाई नियन्त्रण र किनारा लगाउन बनाइने संरचना आधुनिक र परिपक्व ढङ्गको भइहाल्छ । अझ विश्वका कतिपय ठाउँमा मानवोपयोगी कार्यका लागि प्राकृतिक संरचनाहरूको स्वरूप परिवर्तन भएका धेरै उदाहरण छन् । भारततिर बग्ने विशाल ब्रह्मपुत्र नदीलाई नियन्त्रण गरी चीनले आÏनै भूमिमा बाँध बनाएर आफ्नाे सुख्खाग्रस्त क्षेत्रमा पानी लैजाने उपक्रम शुरु गरेको छ । भारतले नै पनि ठाउँठाउँमा विशाल नदीहरूलाई मार्ग परिवर्तन र बाँधहरू बनाएर ‘नदी जोड अभियान’ मार्फत् सुख्खाग्रस्त क्षेत्रहरूमा पानी लैजाने बताउँदै आएको छ ।

सप्तकोशी नदीको पानीको तुलनामा एक औँला पानी बग्ने सर्दू खोलाको पानी वा  बाढीको विषयमा हामी चिन्ता गर्छौं, तर त्यही विशाल सप्तकोशी नदीमा पौने ३ सय मिटर अग्लो उच्चबाँधको कुरा झन् कत्रो होला ? त्यसैले आठ महिना कमिला कुद्ने र चार महिना केटाकेटी तर्न सक्ने खहरेजस्तो सर्दू खोलालाई हाम्रो आवश्यकताअनुसार बगाउन सकिँदैन भन्ने र आँट नगर्ने हाम्रो फोक्सो र छाती कत्रो छ ? कुरा रह्यो– पुल निर्माण त शुरु भइसक्यो, अब के गर्ने ? अहिले दुई साता जति अघिदेखिको खाल्डो खन्ने काम मात्र भइरहेको छ । बढीमा ५- ७ लाख रुपैयाँको काम भएको होला । यो काम स्थगित गर्दा पनि खासै घाटा के होला र ? माथि पनि भनिसकियो– अहिले जति लामो पुल बनाइँदैछ, त्यसको निकै कम खर्चमा नयाँ दुईवटा पुल बन्नसक्छ । खर्च निकै कम हुँदा फाइदै छ । नयाँ डिजाइन, कानूनी, प्रशासनिक झन्झट आदि समस्या सुल्झाउन नसक्ने जनप्रतिनिधिहरू त हामीले पठाएका होइनौँ ।

फेरि थालेको काम रोक्नै हुँदैन, नयाँ तरिकाले गर्न हुँदैन भन्ने पनि के छ र ? भर्खरै त हो, काठमाडौँको रानीपोखरीबाट भित्रभित्रै पानी नचुहियोस् भन्ने उद्देश्यले कङ्क्रिट वाल लगाउन थालिएको कार्य स्थगित गरी कङ्क्रिट संरचना पुनः भत्काएर सुर्की चुन, कालो माटो र पुरानै प्रविधिमा पुनःनिर्माण गर्ने समझदारी भएको छ । त्यहाँ त यहाँभन्दा बढी खर्च भइसकेको थियो । अहिले त प्रदेशको राजधानी कहाँ बनाउने भनेर किचलो छ । धरानमा त पक्कै नबन्ला ।

विराटनगर, इटहरी वा धनकुटा जहाँ बने पनि हिउँदको कुहिरीमण्डलमा हरेक वर्ष विराटनगर विमानस्थलमा ‘डिले’ हुने विमानहरू यही धरानको एयरपोर्टमा ल्यान्ड गरेपछि मात्र प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, प्रशासन प्रमुख तथा आम सर्वसाधारण पूर्वका अन्य जिल्लामा जानुपर्ने वातावरण बनाऔँ । वर्षा मासको हालत पनि त्यही हो । गत साल विराटनगर विमानस्थल जलमग्न हुँदा कति दिन विमान नचलेको स्थिति आउँदा वर्षाहरूमा पनि त्यस्तै हो । अझ धरानमा एयरपोर्ट नबन्नुमा ‘मोरङ्गीया’ हरूको राजनीतिक, प्रशासनिक, व्यापारिक ‘खेल’ रहँदै आएको भन्ने पनि गरिन्छ । त्यसैले हामी धरानवासी आफैंले भनेजति भूमि उपलब्ध गराएपछि नागरिक उड्डययन प्राधिकरण नाकको चालले थप अघि बढ्न बाध्य हुन्छ ।

माथिका तर्क, राय–सुझाव–सल्लाह वा जिज्ञासा कुनै अनुभवी व्यक्ति, विकासविद्, योजनाकार, शहरीविज्ञ, अर्थविद् वा विद्यावारिधि प्राप्त व्यक्तिको होइन । एउटा सर्वसाधारण व्यक्तिको अनुमान र मनमा लागेको उत्सुकता मात्र हो । यहाँ उल्लेखित तर्क सोचनीय वा सङ्गतिपूर्ण छैन भने सम्बन्धित जनप्रतिनिधि वा धरान उपमहानगरपालिकाका विज्ञले तर्क र कारणसहित प्रष्टीकरण दिनैपर्दछ ।

हालै सम्पन्न निर्वाचनअघि मतदातासामु भोट माग्दा धरानलाई स्वर्गजस्तो बनाउने भनेर वाचा गर्ने आदरणीय हाम्रा जनप्रतिनिधिहरू ! तपाईंहरू धरानको भाग्य र भविष्यका लागि जिन्दगीमा केवल एकपटक त्याग गर्नुस्, समर्पण गर्नुहोस् । तपाईंहरूलाई पुरानै योजना (डाँडाघोपा) मा फाइदा छ  भागबण्डा, कमिसन, ठेक्कापट्टा, नाफा–घाटा) भने त्यस्तो फाइदा एकपल्टलाई छोड्दिनुस् । जसरी पनि कमाउनु त पर्छ नै भन्ने त्यो दूषित मनलाई यो जन्ममा एकचोटी पवित्र बनाउनुस् । यो काम सम्पन्न गर्नुहोस्, एयरपोर्ट उद्घाटन भएको दिन तपाईंहरूले हालसम्म कमाएको सम्पत्तिबाट प्राप्त सुखभन्दा भिन्नै अलौकिक सुख पाउनुहुनेछ । परम आनन्द पाउनुहुनेछ । जनजनको हृदयमा तपाईंको नाम रहनेछ । हो, सुन्दर धरानको कल्पना गर्नुहोस्, सपना देख्नुहोस्, यति काम त हामी आफैं गर्न सक्छौँ भन्ने पागलपन जागृत गर्नुस्, जीवनभर पाल्दै आएको अल्छीपन र ह्याङ त्यागिदिनोस् ।

माथि उल्लेख गरिएको तर्क, तरिका असम्भव छ ? होइन होइन, हुँदैन हुँदैन, सम्भव छैन भन्नुहुन्छ भने के कति कारणले सम्भव छैन, के कति कारणले हुँदैन ? पुरानो जेजस्तो सोचिएको, त्यही ठीक हो भन्नुहुन्छ भने अहिलेको नयाँ प्रस्ताव के कारणले सम्भव छैन ? असम्भव छ भने तपाईंहरूले आम नगरवासीलाई कारणसहित भन्नुपर्छ । तपाईंहरूका सपना, आश्वासन र आशालाई पत्याएर मत दिनेहरूमध्ये साँवा–अक्षर नचिन्ने पनि छन्, यहाँ त साँवा–अक्षर चिन्ने तपाईंहरूकै एक मतदाताले तर्क, राय–सुझाव–सल्लाह वा जिज्ञासा राखेको छ । त्यसैले तपाईंहरूले केही न केही नबोली त हुँदैन । नबिर्सनुहोस्, तपाईंहरूले एकैपटकमा पनि चित्त बुझाउन सक्नुहुन्छ । तपाईंहरूको कुरा चित्तबुझ्दो भएन भने  ५, १०, २०, ३० वर्ष पछिसम्म पनि यो तर्क र प्रश्न उठिरहन्छ । ३० वर्षपछि त्यो कुरो त ठीकै थियो तर ... नभन्नुहोला ।