‘अहिले टीभीएस अटोको शो रुम सञ्चालन गरिरहेको छु, केही दिनमै इटहरीको सङ्गीत चौकमा नयाँ होटलको पनि सञ्चालन हुनेछ । त्यसका साथै आफूले पढेको सिभिल इञ्जिनियरिङ सम्बन्धी कन्सल्टेन्सी पनि सञ्चालन गरिरहेको छु ।’
व्यापार व्यवसाय सञ्चालन गर्नु उनको परिवारको लागि नयाँ अनुभव भने होइन । तर, उनले पढाइको सिलसिलामा इञ्जिनियर बने । भारतको ब्याङ्लोरमा सिभिल इञ्जिनियरिङ कोर्ष गरेपछि उनी काठमाडौंमा जागिर खान थाले । २६ वर्षीय युवा व्यवसायी मिसन पराजुलीले जागिरे जीवनभन्दा व्यवसायमै भविष्य देखे । अहिले उनी उदयीमान युवा व्यवसायीका रूपमा देखिएका छन् । मोटरसाइकलको शो रुमदेखि अटो बजारमा पनि उनको उपस्थिति रहेको छ । टीभीएस कम्पनीको उत्पादन रहेको अटो टेम्पोको आधिकारिक बिक्रेतादेखि होटल सञ्चालन गर्ने तयारीमा छन् । रोट्रयाक क्लबको प्रोफेस्नल म्यानेजिङ डाइरेक्ट, जेसिजमा आवद्धतादेखि विभिन्न सङ्घ–संस्थामा आवद्ध भएर सामाजिक सेवामा समेत सक्रिय युवा व्यवसायी पराजुलीसँग ब्लाष्टका लागि बाबुराम सुवेदीले गरेको कुराकानीः

मिसन पराजुली (सञ्चालक)
मिसन ट्रेडर्स इटहरी

 आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

– अहिले म व्यवसायमै व्यस्त छु । पढाइ सकेर केही समय जागिरमा लागेँ । तर, मलाई जागिर भन्दा पनि कुनै व्यवसाय गर्ने सोच थियो । फेरि बुबाले सञ्चालन गर्दै आउनु भएको यमाहा कम्पनीको शो रुम सञ्चालन गर्नु पर्ने पनि भयो । त्यसै बेला मैले जागिर छाडेँ । डेढ वर्ष जति भेलुएसन कम्पनी र भूकम्प प्राधिकरणमा काम गरेँ । दुई वर्ष अघिदेखि यी सब काम छाडेर विराटनगरको यमाहा कम्पनीको शो रुम सञ्चालन गरें । जुन बुबाले सञ्चालन गर्दै हुनुहुन्थ्यो । त्यहाँ व्यवसाय गरेको नयाँ अनुभव बढाउँदै गर्दा अहिले मैले इटहरीमा टीभीएस कम्पनीका अटो टेम्पोको आधिकारिक बिक्रेताका रूपमा नयन ट्रेडर्स सञ्चालन गरिरहेको छु । त्यसको साथै इटहरी सङ्गीत चौकमा होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छु । केही दिनपछि होटल सञ्चालनमा आउनेछ । यता मैले सिकेको विषय अनुसारको इटहरीमै कन्सल्टेन्सी पनि सञ्चालन गरिरहेको छु ।

जागिरको अनुभव पनि छ । जागिर सजिलो कि व्यवसाय सञ्चालन रहेछ ?
– पहिलो, मैले यमाहा शो रुम विराटनगरमा काम गरेँ । बुबाले हेर्दै आउनु भएको व्यवसायमा पारिवारिक समस्याका कारण मैले सम्हाल्नु पर्ने भयो । त्यति बेलासम्म मलाई यस सम्बन्धी त्यति थाहा थिएन । पढाइको सिलसिलमा मैले यस्तो जिम्मेवारी लिनु परेन । त्यसले गर्दा पनि केही समस्या त भयो तर केही समय पछि म व्यवसायमै लाग्ने सोच बन्यो । त्यसपछि टीभीएस किङ टेम्पोको डिलर लिएर व्यवसाय गरेँ । यो जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताका रूपमा व्यवसाय सञ्चालन शुरु गरेँ ।

 नयाँ योजना के छ ?
– महिलादेखि नै मलाई विदेश जाने इच्छा थिएन । पढ्नका लागि गएका युवाहरू उतै हराउने प्रचलन बढेसँगै मलाई त्यसप्रति इच्छा भएन । नेपालमा वैदेशिक रोजगारीको सङ्ख्या बढेको छ । त्यसलाई रोक्नका लागि यही उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी छ । यो सरकारले बनाउने योजना भयो । यदि सरकारको मुखमात्रै ताक्ने कुरा हो भने हामी पनि पलायन हुने दिन आउन सक्छ । त्यसले गर्दा मैले व्यवसायलाई उमेर छँदै सम्हाल्नु पर्छ भन्ने लाग्यो । अहिले जेजति काम गर्दैछु । केही दिनमै इटहरीको सङ्गीत चौकमा नयाँ होटलको पनि सञ्चालन हुनेछ । त्यसका साथै आफूले पढेको सिभिल इञ्जिनियरिङसम्बन्धी कन्सल्टेन्सी पनि सञ्चालन गरिरहेको छु ।

तपाईंले गरेको व्यवसायले वैदेशिक रोजगारीलाई रोक्न सक्ला ?
– मैले वैदेशिक रोजगारीलाई रोक्ने भन्ने होइन । तर, पनि मैले सञ्चालन गरेको व्यवसायबाट धेरै युवाहरू वैदेशिक रोजगारीमा कमाइ हुने पैसा घरमै बसेर कमाउन सक्छन् । हामीले सानो पुँजीमा व्यक्तिगत लगानीमा सञ्चालन गर्न सक्ने गरी अटोबाट धेरैले नेपालमै रोजगारी पाउन सक्छन् । केहीले कम्पनीमा काम पाउँछन् भने धेरैले अटोमार्फत् स्वरोजगार बन्न सक्छन् । त्यसको लागि फाइनान्सको समेत व्यवस्था गरिएको छ । म आफैं पनि कहीँ रोजगारी गरेर आएको र पढाइ पनि भएकाले कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा धेरै सजिलो भएको छ । व्यवसाय व्यवस्थापन गर्न पढाइ पनि महत्वपूर्ण कुरा हो । जसले गर्दा मैले धेरै सहज महसुस गरेको छु ।

 यति धेरै व्यवसाय सञ्चालन गर्न पुँजीको आवश्यक पर्छ नै कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
– व्यवसाय भनेको पैसा जम्मा गरेर गर्ने चिज होइन । यो सबै बैङ्कबाट लगानी गराएर गर्ने चिज हो । मैले पनि त्यही नै गरेको हो । बैङ्कबाट ऋण लिएर यी व्यवसाय सञ्चालन गरेको अवस्था हो । भोलिका दिनमा थप व्यवसाय सञ्चालन गर्ने योजना पनि छ ।

 तपाईंकै उमेरमा तपाईंकै साथीहरू के गर्दैहुनुहुन्छ ?
– केही साथीहरू वैदेशिक रोजगारीका लागि जानुभयो । केही अध्ययनकै सिलसिलामा नेपालमा र विदेशमा हुनुहुन्छ । व्यवसायमा लाग्नु भएका केही साथीहरू पनि हुनुहुन्छ । कतिपय घर परिवारका सदस्यले चलाएकै व्यवसाय सम्हाल्दै हुनुहुन्छ । यति धेरै लगानी गरेर व्यवसाय सञ्चालन गर्ने अग्रज दाजुहरू भने हुनुहुन्छ । सबै जना कहीँ न कहीँ केही न केही गरिनै रहनु भएको छ । तर, एकै पटक यसरी व्यवसायमा आइसक्नु भएको छैन ।

अन्य केही भन्नु छ ?
– मैले इटहरीबाट व्यवसाय सञ्चालन गरेको छु । यसलाई धेरै अघि बढाउने योजनामा छु । जे व्यवसाय सञ्चालन गर्छु, त्यसमा लागि परेर काम गर्छु । यहाँका अग्रज व्यवसायी तथा अन्य शुभेच्छुकहरू जो हुनुहुन्छ । हामीजस्तो युवाले यहीँ केही गर्ने सोच बनाएर लगानी गरेको छु । मलाई मात्र होइन । आम व्यवसायी र विशेष गरी युवा व्यवसायीलाई सबैले प्रोत्साहन गरौं । ता कि भोलिका दिनमा व्यवसाय छाडेर हिँड्नु नपरोस् । सरकारले पनि युवा व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्यो । जसले गर्दा स्वदेशमै रोजगारीको सम्भावना बढेर जानेछ ।