ताप्लेजुङ / माघे संक्रान्तिका दिन ताप्लेजुङको फक्तालुङ गाउँपालिका ४, खुपातालका देवीप्रसाद लिम्बूको भरुवा बन्दुकको गोली लागेर मृत्यु भयो। आफ्नै साथी सुरेन्द्र तामाङसँग सिकार खेल्न गएका उनको लोड गरेको बन्दुक अकस्मात पड्किएर ज्यान गएको हो । लिम्बूलाई बन्दुकको छर्राले लागेको थियो । लिम्बूको घटनास्थल मै मृत्यू भएको थियो । सो घटनामा संलग्न स्थानिय सुरेन्द्रलगायतलाई पक्राउ गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा बताउँछन् ।

यस्तै २०७४ साल चैत्रमा आठराई त्रिवेणी गाउँपालिकाका स्थायिन तिन जना सिकार खेल्न जंगल पसे । भाई दिवश आङबुहाङ, दाजु सुवाश आङबुहाङ र अर्का एक जना । सिकार खेल्ने क्रममा भाई दिवशले वोकेको बन्दुक अचानक पड्कीयो र दाजु सुवाशले ज्यान गुमाउनुपर्यो । यि त प्रतिनिधी घटना मात्र हुन् । ताप्लेजुङमा मात्रै होइन पाँचथर, ईलाम, तेह्रथुम लगायतको पूर्वी पहाडी जिल्लाहरुमा भरुवा बन्दुकका कारण प्रत्येक वर्ष कुनै न कुनै घटना भइरहेको छ । बाबुले छोरालाई, छोराले बाबुलाई, दाजुले भाइलाई, भाइले दाजुलाई बन्दुकले हानेर मारेका घटना प्रहरीको तथ्यांकमा छन् । ताप्लेजुङका प्रहरी प्रमुख थापा राजनीतिक दल, नागरिक समाज सबैको सहयोग भए यसलाई निर्मूल गर्न सकिने बताउँछन् । तर कतिपय समुदायमा मर्दा र विवाहजस्ता कार्यमा बन्दुक पड्काउने संस्कार रहेको भन्दै घरमा बन्दुक राख्ने प्रथाले दुर्घटना निम्त्याएको उनको दाबी छ ।

यस्ता प्रथाका कारण समाज आतंकित वनेको भन्दैं पछिल्लो समयमा प्रहरीले अनाधिकृत रुपमा राखिएका हतियारहरु संकलन गर्न थालेको छ । अभियान कै रुपमा हतियार संकलन थालेको डिएसपी थापाले वताए । प्रहरीले यसै महिनामा दश थान अवैध भरुवा बन्दुक संकलन गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाको विभिन्न स्थानबाट बन्दुकहरु संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख थापाले बताए । थापाका अनुसार बरामद भएका हतियारमध्ये केही हतियारधनी आफैंले प्रहरीलाई बुझाएका छन् भने केही हतियार भएको सूचनाका आधारमा प्रहरी पुगेर सङ्कलन गरिएका हुन् ।

जिल्लामा अवैध हतियारहरुका कारण सुरक्षा चुनौती बढेको साथै जताभावी प्रयोगले सर्वसाधारणको ज्यानसमेत माघमा बसेको सर्वपक्षिय बैठकले गाउँघरमा भएका हतियारहरु सङ्कलन गर्ने निर्णय गरेको थियो । हतियार सङ्कलन गर्ने निर्णय भए पछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार सङ्कलन अभियानमा सहयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । अझै पनि यस्ता बन्दुक संकलन गरिरहेका भण्डारीले जानकारी दिए । स्थानीय तहसँग समन्वय र सहकार्य गरेर बन्दुकसहितका अवैध घरेलु हतियार संकलन अभियानलाई तीब्रता दिएको प्रहरी प्रमुख थापाको भनाई छ । ‘स्थानीय तहसँगको समन्वयमा सम्बन्धित ठाउँमा रहेको प्रहरी चौकीमार्फत अवैध हातहतियारबारे हाल सूचना लिने कार्य पनि भइरहेको छ,’ थापाले भने,‘सुरुमा बुझाउन आग्रह गर्ने र आग्रहलाई बेवास्ता गरी नबुझाएमा प्रहरीले नै हतियार नियन्त्रणमा लिने र धनीलाई कानुनी कारबाही गर्छौं ।’

हतियार धनीले आपूmसँग भएको हतियार आफै बुझाएमा र कसैसँग हतियार रहेको छ भन्ने सुराक (सूचना) दिनेलाई पनि गोप्य रुपमै पुरस्कृत गरिने नीती प्रशासनले लिएको छ । यस अघि पनि विभिन्न समयमा प्रशासनले ९० थान अवैध हतियार (भरुवा बन्दुक) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । थापाले संस्कारलाई फरक तरिकाले मनाउन र बन्दुक पूर्ण रूपमा नियन्त्रणमा सहयोग गर्न सांसद, राजनीतिक दल र नागरिक समाजकसँग अनुरोध गरेका छन् । जनप्रतिनिधि र नागरिक समाजले स्थानीयवासीलाई बुझाउन सजिलो हुने, उनीहरूलाई सजिलै विश्वास गर्ने र संकलनमा सजिलो हुने भएकाले जनप्रतिनिधिको सहयोग महत्त्वपूर्ण हुने थापाको भनाइ छ । कानुनी कारबाहीमा पर्ने डर, विश्वासमा कमी र समुदायलाई बुझाउन कठिन भएकाले प्रहरीका लागि चुनौती रहेको थापा बताउँछन् ।