ताप्लेजुङ /  मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपायका लागि पनि भत्ताको व्यवस्था गर्न थालेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो । सात वटा वडा रहेको सिदिङ्वाले गाईलाई भत्ताको व्यवस्था गरेको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले यो योजना लागू गरेको हो । योजना अन्तर्गत गाई प्रसूति हुने बित्तिकै किसानले १५ हजार र दिगो स्याहारका लागि घाँस लगाउन ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना मार्फत पहिलो चरणमा यस आर्थिक वर्षमा एक वडा वरावर १५ जनालाई सो रकम प्रदान गरिएको छ ।
साविकका सादेवा, आंखोप, साब्लाखु, लिम्बुदिन, मेहेले गाविसमा गरि ७५ कृषकलाई अनुदान प्रदान गरेको हो । कालीखोला र सुरुङखिममा भने गोठ सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताए ।
किसानले यो सुविधा लिनको लागि भने सात लिटर दूध तथा दुईओटा गाई अथवा भैसीँ पाल्नै पर्ने हुन्छ । “यो सुविधा लिनको लागि कृषकले दुईओटा दुहुना र दैनिक ७ लिटर दुध उत्पादन गरिरहेको हुनुपर्छ ।”– गाउँपालिका अध्यक्ष कडरियाले भने– “हामीले पहिलो चरणमा एउटा वडा वरावर १५ जना कृषकलाई यो रकम वितरण गरेका छौँ ।, अव दोस्रो चरणमा भने फागुनमा वितरण गर्ने तयारी गरेका छौँ ।,”
सुत्केरीमा राम्रो स्याहार गरे सात लिटर दूध स्वभावैले पुग्ने भएकाले यस्तो मापदण्ड निर्धारण गरिएको गाउँपालिका अध्यक्ष कडरियाले जानकारी दिए । उत्पादित दूध धेरै भए गाउँपालिकाले डेरी खोल्ने र बाहिर निर्यात गर्ने योजनासम्म बनाएको छ । यो कार्यक्रमबाट चालू आर्थिक वर्षमा एक सय परिवारलाई समेट्न सकिने गाउँपालिकाको योजना छ ।
गाउँपालिका अध्यक्ष कडरियाले आगामी वर्ष पनि यस्तो कार्यक्रमलाई थप गर्ने योजना रहेको वताए । यस आर्थिक वर्षको लागि गाउँपालिकाले १० लाख रुपयाँ छुट्याएको छ ।
उता कालीखोला र सुरुङखिममा भने गोठ सुधारमा तीन लाख रुपैयाँ दिइएको छ । आगामी आर्थिक वर्षदेखि गोठ सुधार गर्ने, उन्नत जातका गाई ल्याउने, दूध संकलन केन्द्र स्थापना गर्नेजस्ता योजना सञ्चालन गर्ने गाउँपालिकाले बताएको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकामा साविकका कालीखोला, सादेवा, सुरुमखिम, मेहेले, आङखोप, लिम्वुदिन र साब्लाखु गाविस मिलाइएको छ । प्रत्येक गाविसलाई वडा बनाइएको छ । पशुपालनका हिसाबले यी सबै वडा हावापानी अनुकूल भएको स्थानिय बताउँछन् । सबै वडा सडक सञ्जालले जोडिन लागेकाले यहाँको दूध पाँचथरको थर्पु र्पुयाएर डेरीमा बिक्री गर्न सकिने स्थानिय राज कुमार लिम्बूले बताए । सवारी साधनमा आधा घण्टामा थर्पु पुगिन्छ । कालीखोला, सादेवा र सुरुमखिममा अहिले पनि गाइगोठ छन् ।