‘रातको समय । सन्नाटापूर्ण परिवेशमा हल्का रातकीरी कराइरहेका छन्(किरकिरकिरकिर ! घरिघरि प...र पर उल्लु कराएको आवाज पनि आइरहेछ । कोठामा एकजना व्यक्ति सुतिरहेका हुन्छन् । एकछिनपछि ऐंठन परेझैँ निद्रामै उनी छटपटाउन थाल्छन् । छटपटाउँदा छटपटाउँदै अचानक कोठामा बम पड्केजस्तो ठूलो आवाज गुन्जिन्छ । सुतिरहेको व्यक्ति “आयो ! आयो ! गुहार !!” भन्दै उठ्छन् र ओछ्यानमा डरले गुडुल्की पर्दै “मलाई बचाऊ शारदा ! मलाई बचाऊ !!” भन्दै कहालिन्छन् । अर्को कोठाबाट एउटी नारी, उक्त व्यक्तिकी श्रीमती शारदा पात्र अत्तालिदै आउँछिन् र उसलाई समाएर सान्त्वना दिन खोज्छिन् तर विक्षिप्त मनोदशाले ग्रस्त व्यक्तिले आफ्नै श्रीमतीलाई पनि चिन्दैनन् र “तिमी हो हौँ ? मलाई किन समाएकी ?” भन्दै आफूलाई छाडिदिन आग्रह गर्दै भाग्न खोज्छ । तर, शारदाले आफ्नो अनुहारको प्रमाण देखाएर आफू श्रीमती नैहुँ भनेर सम्झाएपछि बल्ल उक्त व्यक्ति केही आश्वस्त हुन्छन्, र आफूलाई बचाउन अनुरोध गर्दै रुन थाल्छन् । वास्तवमा, उक्त व्यक्ति २०३६ सालमा धनुषामा तत्कालिन पञ्चायती व्यवस्थाले गरेको जदुकुवा हत्याकाण्डमा निर्दोष जनतालाई गोली हान्ने डिएसपी हुन्छन्, र सोही घटनादेखि उनी मानसिक रुपमा विक्षिप्त र भयभीत भएर यस्तो हर्कत गर्न थालेका हुन्छन् ।’

माथिको दृश्य आरम्भ नाट्य डबली, धरानले गत पौष २५ गते धरान(९ स्थित होटल रत्नइनमा मञ्चन गरेको लघुनाटक ‘यातनाको अन्त्य’को हो । सुस्ताएको धराने रङ्गमञ्चलाई पुनः गति प्रदान गर्ने वृहत् सोंच र सङ्कल्पका साथ २०७२ सालदेखि पुनरागमन भएको आरम्भ नाट्य डबली, धरानले आफ्नो ३० औं जन्मदिनको उपलक्ष्यमा सो लघुनाटक मञ्चन गरेको हो ।
क्रान्तिकारी विषय प्रतिपादन गर्दै त्यसलाई अत्यन्त रोचक ढङ्गबाट कौतुहलता, जिज्ञासा, पीडा, भयग्रस्त मानसिकताका आयामहरुमा नाटकीय कथानक बुन्दै प्रभावकारी रुपमा मञ्चन गरिएको नाटक ‘यातनाको अन्त्य’का दर्शकहरुले नाटकलाई सा¥है रुचाएको देखियो । प्रकाश व्यवस्था र पृष्टसङ्गीतमा सबल रहेको ‘यातनाको अन्त्य’का हरेक दृश्यका सिक्वेन्सहरुले दर्शकलाई भयानक रसको पोखरीमा डुबाएको थियो । पृष्टसङ्गीतको सबलता कहाँनेर पनि देखिएको थियो भने भयमूलक पृष्टसङ्गीत बज्दा दर्शक आफै झस्किन र तर्सिन पुगेका थिए । ‘अब के हुन्छ ?’ को कौतुहलताले दर्शकलाई हरपल सताइरहेको थियो । त्यतिमात्र होइन, भयसँगै कलाकारहरुको सशक्त अभिनयले दर्शकहरुलाई वेदनाको सागरमा पनि पौडाएको थियो ।
नाटक हेर्न आएका धरान(१२ का दर्शक राजेन्द्र राईले नाटकले तर्साउनुसम्म तर्साएर फेरि पीडा र वेदनाको अनुभूति दिदै आफूलाई आँशु झार्न बाध्य बनाएको बताए । त्यस्तै, धरान(१३ का कवि तथा पत्रकार गोपाल प्रयासले नाटकले डर र पीडा दुबै अनुबोध गराउँदै आफूलाई छुट्टै संसारमा पु¥याएको अनुभूति व्यक्त गरे ।

माथि वर्णित नाटकको पहिलो दृश्यको सिक्वेन्सपछि नाटकमा डिएसपी घरि सद्दे र फेरि विक्षिप्त बन्ने प्रक्रिया दोहोरिरहन्छन् । आफ्नै श्रीमतीलाई विक्षिप्त डिएसपीले आन्दोलनमा मारिएकी महिलाको रुपमा देख्छन्, उग्रवादी महिलाको संज्ञा दिन्छन् र ‘गोलीले मान्छे मारे पनि विचार मार्न नसक्ने र जतिसुकै जनहत्या गरे पनि प्रतिक्रियावादी सत्ता एकदिन ढलेर प्रजातन्त्र आइछाड्ने’ शहीद महिलाको उद्गारलाई दोहोराउँछन् । यतिसम्म कि उसले हातमा दूधको गिलास बोकेर दूध दिन आएका नोकर रामेलाईसमेत आन्दोलनमा ढुङगा हान्ने अराष्टिूय तत्व युवक देख्छन् र आन्दोलनमा आफूले नभई राज्य वा सरकारले आफूलाई गोली हान्न लगाएको सफाइ दिदै आफूलाई ढुङ्गा नहान्न आग्रह गर्छन् ।
घरि आफू ठीकै रहेको भन्दै सामान्य अवस्थामा आएर पत्नी शारदासँग हाँसखेल गर्ने डिएसपी अचानक भयग्रस्त हुँदै फेरि विक्षिप्त हुने र भित्ताका माउसुलीको घिस्राइले समेत आफू भयभीत हुने कुरा बताउँछन् । अन्त्यमा, आफ्नै क्रान्तिकारी भतिजाले आएर “प्रजातन्त्र विजयोन्मुख हुँदै गएको र फासिष्ट व्यवस्थाको अन्त्य भइछाडने” घोषणा गरेपछि डिएसपीको विक्षिप्तता चरमचुलीमा पुग्छ र दौडदै नेपथ्यमा गएर छतबाट हाम्फालेर आत्महत्या गर्छन् र नाटकको पनि अन्त्य हुन्छ ।
भयवादको एउटा राम्रो दृष्टान्तीय नाटकको रुपमा मञ्चित ‘यातनाको अन्त्य’ले शुरुदेखि अन्त्यसम्मै दर्शकलाई बाँध्ने सक्षमता राखेको थियो । प्रतिक्रियावादी वा जनहत्यारा सत्ता सँधै भयको मनोविज्ञानमा बाँच्छन्, जनताका प्रजातन्त्ररुपी चाहना र भावनालाई तिनीहरुले कहिल्यै रोक्न वा मार्न सक्दैन भन्ने मूल विषयमा सटिक सन्देश दिन नाटक सफल भएको थियो ।
विगत लामो समयदेखि धरानको रङ्गमञ्च र पत्रकारिताको क्षेत्रमा अनवरत् क्रियाशील गोपाल देवानद्वारा लिखित नाटक ‘यातनाको अन्त्य’ लघुआयतनमा भए पनि माष्टरपीस नाटक हो । विशेष गरी मञ्चसँग सम्बद्ध रहेर निर्देशकीय क्षमतासमेत राख्ने देवानको मञ्चनोन्मुख नाटक लेखनशैली फरक आयामको हुने गर्दछ । जसको ज्वलन्त नमूना ‘यातनाको अन्त्य’ पनि हो ।
‘यातनाको अन्त्य’को अर्को सबल पक्ष हो, निर्देशन । अपेक्षित मञ्चपरिकल्पना, घटनाहरुको जीवन्त प्रस्तुती र कलाकारहरुको सशक्त अभिनयलाई दृष्टिगत गर्दा नाटकको निर्देशकीय क्षमता सबल देखिएको हो । नाटकको निर्देशन पुराना रङ्गकर्मी प्रवीण राईले गरेका थिए भने सहनिर्देशन आरम्भका पुराना कलाकार पानस गुरुङले गरेकी थिइन् ।
नाटकमा डिएसपीको भूमिकामा आरम्भबाट उत्पादित नयाँ छिमलका कलाकार शान्तिराम राईले जोडदार अभिनय गरे । उनको अभिनयमा जुन स्वभाविकता र रसभङ्गताको सहजता थियो, त्यो विरलै देख्न पाइन्छ(अभिनयमा । श्रीमतीको भूमिकामा आरम्भका नव कलाकार शारदा श्रेष्ठले आफूलाई अब्बल सावित गरिन् । ‘हुने बिरुवाको चिल्लो पात’ को लक्षण उनमा प्रशस्त देखिएको थियो । पहिलो पटक मञ्चमा उत्रेकी शारदाको अभिनय खोटमुक्त हुनु आफैमा उपलब्धी हो, अब्बलताको कसी हो । अध्ययनका लागि धरान आएका बाजुरेली युवा तथा आरम्भ कलाकार प्रेम नेपालीले पनि क्रान्तिकारीको भूमिकामा कुनै दोष देखाएनन् भने नाटकमा चटनी अर्थात् हाँस्यपात्रको भूमिका उत्रिएका आरम्भ कलाकार कमानसिंह याम्फूले भयग्रस्त वातावरणमा हाँस्यरसको माध्यमबाट दर्शकलाई भरपूर मनोरञ्जन पस्किन कुनै कसर बाँकी राखेनन् ।
‘यातनाको अन्त्य’ ले धरानमा रङ्गमञ्चीय अब्बलता फेरि मौलाउन थालेको आभास दिएको छ । साथै, यस नाटकले एकपटक फेरि विगतमा झैँ धरान वास्तवमै रङ्गमञ्चका लागि केन्द्रभूमि नै रहेको प्रमाणित गरेको छ । एउटा सुविधायुक्त थियटर हल वा नाटक घर नभएको धरानमा होटलको सानो मञ्चमा दुःख र अभावका साथ धेरै कुरामा सम्झौता गर्दै नाटक मञ्चन गर्नुपर्ने जुन बाध्यता छ, त्यसको अन्त्य चाहिँ कहिले हुने ? गम्भीर प्रश्न सबैका सामु उभिएको छ । सबै कुरालाई दृष्टिगत गर्दा के भन्न सकिन्छ भने ‘रङ्गकर्मीहरु भनेका अभावको मरुभूमिमा फुल्ने सुनाखरीहरु रहेछन् !’