धरान / सुनसरीमा पत्रकार सुद्धीकरणको आवाज टड्कारो रूपमा उठ्न थालेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीको ११ औं वार्षिक साधारणसभाका क्रममा वक्ता पत्रकारहरूले पत्रकारको सुद्धीकरण अपरिहार्य रहेको बताएका हुन् ।

सुनसरी उद्योग बाणिज्य सङ्घ धरानको सभाहलमा बिहीबार सम्पन्न सभामा अग्रज पत्रकारसहित विभिन्न युनियन आवद्ध नेता पत्रकारहरूले सुद्धीकरण अहिलेको आवश्यकता भएको औल्याए । यसक्रममा प्रेश चौतारी नेपालका सुनसरी अध्यक्ष शेखर ढकालले पत्रकार सुद्धीकरण गर्न आवश्यक रहेको औल्याए । उनले क्रियाशील पत्रकारहरू भन्दा केही प्रलोभनमा लागेका पत्रकारका कारण बद्नामी बन्दै गएको बताए । ‘त्यसका लागि पनि सुद्धीकरण आवश्यक छ ।’ उनले भने, ‘व्यक्तिगत लाभमा कुदिरहेका छन् ।’

यस्तै प्रेश युनियनका जिल्ला अध्यक्ष धनबहादुर पुरीले पनि सुद्धीकरणमा जोड दिए । उनले कतिपय अलपत्रकारका कारण पनि क्रियाशील पत्रकारहरूको गरिमामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था सिर्जना भएको बताए । यसक्रममा अग्रज पत्रकारहरूले भने सुद्धीकरणसँगै सुनसरीलाई ऐतिहासिक जिल्लाको रूपमा घोषणा गरिनुपर्ने तर्क गरे । महासङ्घ यो अवस्थामा आइपुग्न सुनसरीले महत्वपूर्ण भूमिका खेलेको अग्रज पत्रकार एवम् पूर्वअध्यक्ष कृष्ण अधिकारीले बताए । ‘यो जिल्ला आफैंमा पनि ऐतिहासिक हो । सङ्घबाट महासङ्घसम्मको स्थितिमा ल्याइ पु¥याउन सुनसरीले महŒवपूर्ण भूमिका खेलेको छ’–उनले भने ।

त्यस्तै ब्लाष्ट दैनिकका सम्पादक एवम् महासङ्घका पूर्व पूर्वाञ्चल संयोजक किशोरकुमार कार्कीले पनि सुनसरीलाई ऐतिहासिक जिल्लाको रूपमा घोषणा गर्नुपर्नेमा आफ्नो पनि समर्थन रहेको बताए । उनले पत्रकार आचारसंहिताको ‘नम्स’ भित्र रहेर सबैले काम गर्नुपर्ने सुझाव दिए । सुनसरीमा महासङ्घमा २४० पत्रकारहरू आवद्ध छन् । त्यसमध्ये केही अग्रज तथा नयाँ पत्रकारहरू अटेका छैनन् । पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष दीलिप थापा मगरले सञ्चार नीति र कानूनहरूका कारण पत्रकारहरू पक्राउ पर्ने तथा कारबाहीको भागिदार हुने स्थिति सिर्जना भएको बताए । त्यसका लागि महासङ्घको केन्द्रीय कार्यालयले सरकारविरुद्ध संसोधनका आवाजहरू उठाइरहेकाले केही संसोधनको प्रक्रियामा रहेको बताए ।

पत्रकारहरूको हकहितका लागि महासङ्घले काम गरिरहेको बताए । अग्रज पत्रकारहरूले मुलुक सङ्घीयता कार्यान्वयनका चरणमा रहेकाले त्यसमा पत्रकारहरूले पनि कलम चलाउनुपर्ने बताए । सङ्घीयता धरापमा पार्ने खेलहरू हुन थालेकाले पनि पत्रकार सजग भएर त्यसप्रति कलम चलाउन महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष केशव घिमिरेले आग्रह गरे । यसैबीच महासङ्घका सचिव हिमाल दाहालले सुनसरी पत्रकारको इतिहासदेखि वर्तमानसम्मको अवस्थाको मूल्याङ्कनसहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

प्रगति प्रतिवेदनमा महासङ्घ सुनसरीको भवन निर्माणदेखि पत्रकारहरूलाई गरिएको सहयोगसम्म प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष गोविन्द बस्नेतले संस्थाको आय–व्यय प्रस्तुत गरे । महासङ्घका सहसचिव ध्रुव ढकालले पेश गरेको पत्रकार कल्याण कोषको प्रस्तावना पत्रको कार्यविधि पारित गरेको छ ।

यसक्रममा महासङ्घ सुनसरीले १४ बुँदे सुनसरी घोषणापत्र जारी गरेको छ । जसमा पहिलो नम्बर बुँदामै सुनसरीलाई ऐतिहासिक जिल्ला घोषणा गर्न माग गरिने उल्लेख छ भने पत्रकारितालाई स्वच्छ, पारदर्शी र सुद्धीकरणका लागि अभियान चाल्ने अध्यक्ष अमर खड्काले बताए ।