ताप्लेजुङ/ ताप्लेजुङका कृषक धान थन्क्याउन व्यस्त छन् ।

अधिकांश ठाउँमा धान काटेर सकिएको र अहिले खलो (धान झार्न र पराल दाइँ गर्न खेतलाई सफा गरेर बनाइएको स्थल) मा भेला गरेर झार्ने, दाइँ गर्ने काम भइरहेको कृषकहरूको भनाइ छ ।

‘काटेर सकियो, सुकेको धानको बोटलाई भेला गरेर बिटा बाँध्ने, खलामा जम्मा गरेर धान झार्ने अनि पराललाई दाइँ गर्ने कार्य भइरहेको छ,’ फुङलिङका नगरपालिका–२ का कृषक कृष्णप्रसाद पालुङ्वाले भने ।

यस वर्ष गत वर्षभन्दा राम्रो धान फलेको कृषकहरू बताउँछन् । पानी पर्याप्त परेर समयमै रोप्न पाएको र रोग नलागेको हुँदा धान राम्रो फलेको मेरिङ्देन गाउँपालिकाका कृषक हर्क लिम्बूले बताए । हिमाली जिल्लामा असोज अन्तिमदेखि मङ्सिरभरिनै कृषकहरू धान थन्क्याउने काममा व्यस्त रहन्छन् ।

कृषकले धान उत्पादनमा वृद्धि हुने बताए पनि जिल्लामा धानको यस वर्षको आधिकारिक तथ्याङ्क दिने निकाय छैन । विगतमा कृषि कार्यालयले कृषि सम्बन्धी सबै तथ्याङ्क सङ्कलन गरेर राख्ने गरेको थियो । अहिले कृषि कार्यालय खारेज भएको छ ।

तत्कालीन कृषि कार्यालयको आर्थिक वर्ष ०७४/७५ को तथ्याङ्कअनुसार जिल्लामा १७ हजार टन धान उत्पादन भएको थियो ।

‘सिञ्चित क्षेत्रमा ९ हजार, असिञ्चितमा ८ हजार र चैते धान वार्षिक दुई सय टन उत्पादन भयो, मूल्यका हिसाबले यो ७५ करोड रुपैयाँ हाराहारीमा हुन आउँछ,’ कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ६१ वडा रहेको ताप्लेजुङमा फक्ताङलुङ–७ बाहेक सबै क्षेत्रमा धान खेती हुने गरेको छ ।

सिरिजङ्घा गाउँपालिका–१ सिनाम र २ आम्बेगुदिन, पाथीभरा याङ्वरक गाउँपालिका– ६ थुम्बेदिन, फुङलिङ नगरपालिका वडा नं १, २, ३, ८ र ९ को तल्लो क्षेत्र, मिक्वाखोला गाउँपालिका वडा नं १ र २ तथा आठराई– त्रिवेणी गाउँपालिका वडा नं १ निघुरादिन बढी धान उत्पादन हुने क्षेत्र हुन् ।

१ लाख २७ हजार जनसङ्ख्या रहेको ताप्लेजुङमा उत्पादित धानले ६ महिना पनि खान नपुग्ने कृषि कार्यालयको गत वर्षको तथ्याङ्कमा उल्लेख छ ।

धान उत्पादन वृद्धि गर्नका लागि स्थानीय तहले पनि आफ्नो नीति तथा कार्यक्रममा प्रभावकारी योजना समेटेका छैनन् ।