बलात्कार भएका घटनाकोे हेडलाइनहरु दिनहुँजसो अखबारका देखिन्छन् । अनलाइन, टेलिभिजन र एफएमहरुका समाचारमा बलात्कारका खबरहरु आउन कमी भएका छैनन् । देशका अधिकांश भागमा दिनहुँजसो बलात्कार विरुद्धका ¥यालीहरु भइरहेका छन्, सरकार र प्रशासनलाई दिनहुँ ज्ञापन–पत्र बुझाएका छन् । सरकारले अपराधीलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताइरहेकै छ तरपनि रोकिएको छैन बलात्कार । अपराधमा पनि पनि क्रूर अपराध हो, बलात्कार । बलात्कार रोक्न सरकारले कानून कडा ल्याउने कि बलात्कार विरुद्धको मानसिकताको विकास गर्ने ? अब यो विषयमा बहस गर्नु जरुरी छ । विश्वको तथ्याङ्कलाई हेर्ने हो भने मानवअधिकार पालनामा सबै सूचकहरु पूरा गरेका र शिक्षितहरु भएका ठूला देशहरुमा बलात्कारका घटनाहरु धेरै हुने गरेका छन् । लेखक तथा विश्लेषक विजयकुमारले नेपालको एक दैनिक पत्रिकामा लेखेको आलेखमा उल्लेख भएअनुसार विश्वमा सबैभन्दा धेरै बलात्कार हुने देशमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, स्वीडेन आदि पर्छन् भने दक्षिण एसियामा श्रीलङ्का र भारत अग्रपंक्तिमा छ । कडा सजाय र मृत्युदण्डको सजाय हुने देशमा नै धेरै बलात्कारका घटना हुनुले के कुरा स्पष्ट पारेको छ भने कानूनको विकास भयो तर चेतनाको विकास भएन । नेपालमा पनि विगत चार वर्षको औषत हेर्दा दैनिक तीनभन्दा बढी बलात्कार र दुई दिनमा तीनभन्दा बढी बलात्कारका प्रयास हुने गरेको देखिन्छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तथ्याङ्कअनुसार आ. व. २०७१÷७२ मा एक हजार ५ सय ४३, २०७२÷७३ मा एक हजार ५ सय ४३, २०७३÷७४ मा एक हजार ६ सय ६५ र २०७४÷७५ मा दुई हजार २ सय ७ वटा बलात्कारसम्बन्धी उजुरी दर्ता भए । यीमध्ये दुई हजार २ सय ७० घटना बलात्कारको प्रयासका छन् । यौन हिंसाका ज्यादै थोरै घटनामात्रै सार्वजनिक हुने यथार्थ पनि छ । यौन हिंसा हुने मुख्य कारणहरु केलाउँदा गरिबी, अशिक्षा, सामाजिक सोच, खुलापनतर्फ उन्मुख समाज, इन्टरनेट आदि । नेपालमा यीबाहेक पनि फितलो अनुसन्धान, न्यून दण्ड जरिवाना, कतिपय घटनामा दोषीले उन्मुक्ति पाउने अवस्थाले पीडकले प्रोत्साहन पाइरहेको मानिन्छ । कतिपय अवस्थामा बलात्कारसम्बन्धी गलत उजुरीले पनि मानिसमा प्रतिशोधको भावना वृद्धि भई बलात्कारका घटना हुने गरेका दृष्टान्त हामीकहाँ छन् । समग्रमा हामीले बुझ्नुपर्ने कुरा भनेको बलात्कार एउटा कारणमा मात्र हुँदैन । यसका धेरै पक्षहरु हुन्छन् । जे जति कारणले बलात्कार हुने भए पनि हामीले दण्ड सजाय र सामाजिक चेतनाको स्तर विकास गर्न सकेनौं भने यो अपराधको शृङ्खला बढ्दो क्रममा जान सक्छ । सरकारलाई मात्र होइन, हामी आफैले पनि बलात्कार विरुद्धको सामाजिक चेतना विकास गर्नु जरुरी छ । यसका लागि आजैबाट सङ्कल्प थालौं, ढिला नगरौं ।