सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सवारी दुर्घटनाका समाचार र पोष्टहरु निरन्तर देखिन्छन् । पछिल्लो समय सडकमा ट्राफिक प्रहरीको सक्रियता हुँदाहुँदै पनि दुर्घटना भइरहेका छन्, दुर्घटनाकै कारण मान्छेको मृत्यु हुने र अङ्गभङ्ग हुने क्रम बढिरहेको छ । अघिल्लो महिना नेपाल प्रहरीले सार्वजनिक गरेको एक तथ्याङ्कले पछिल्लो पाँचवर्षमा ४० हजार सात सयवटा सवारी दुर्घटना भएको देखाएको छ । ती दुर्घटनामा आठहजार नौ सयभन्दा बढीले ज्यान गुमाएका छन्। प्रहरीको विवरणले सवारी दुर्घटनामा प्रतिवर्ष दुई हजारको निधन हुने गरेको डरलाग्दो आँकडा प्रस्तुत गरेको थियो । यी सबै तथ्याङ्कले नेपाली सडक यातायात जोखिमपूर्ण भएको बताउँछ।

सरकारले भर्खरै यातायात क्षेत्रको सिण्डिकेट खारेजी गरेको छ । सिण्डिकेट खारेजी गर्नुअघि सरकारले दुर्घटनाको मुख्य कारण सिण्डिकेट हो भन्नसम्म भ्याएको थियो । अहिले पनि सार्वजनिक यातायातको वर्तमान अवस्थालाई हेर्दा सरकारको उपस्थिति कमजोर देखिन्छ। अहिले सरकारले ‘यातायात व्यवस्था कार्यविधि २०६०’ संशोधन गरेको छ । तर त्यसको कार्यान्वयन हुन बाँकी नै छ। सडक दुर्घटना न्यून गरेर जनतालाई अकालमा मर्न नदिन सरकार कठोर नियमनकारी बन्नै पर्छ । मानिसहरू कामबाट घरसम्म र घरबाट कामसम्म पुग्ने सडकलाई सुरक्षित बनाउन सरकार कठोर हुनै पर्छ । सवारी दुर्घटना न्यूनीकरण गर्न कानून बनाउने मात्र होइन, कडाइका साथ कार्यान्वयन पनि हुनु जरुरी छ । सडकको डिजाइन, यसको ठेक्का प्रक्रिया र निर्माण प्रक्रियादेखि नै सडक यातायातको भविष्य निर्माण शुरु हुन्छ । सडक निर्माणमा ठेक्का प्रक्रिया आफैमा विवादित छ । ठेक्का प्रणालीकै आवश्यकता र औचित्यबारे सरकारले पुनःमूल्याङ्कन गर्न जरुरी छ । जबसम्म हामीले सडक निर्माण कार्यको प्रक्रियादेखि नै सावधानी अपनाउँदैनौं, तबसम्म हाम्रा सडकहरु सडक नभएर मृत्युमार्ग बनिरहन्छन् ।

कतिपय अवस्थामा सवारीचालकहरुले पनि सावधानी नअपनाउने गरेको पाइन्छ भने यात्रु तथा पैदलमार्गमा हिँड्नेहरुले पनि सचेतना अपनाएको देखिँदैन । त्यसैले ट्राफिक प्रहरीले सडकमा सिठ्ठी बजाएर जरिवाना काट्ने मात्र काम नगरेर सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्नु आवश्यक छ । नेपालका सडकहरु सुरक्षित छैनन् भन्ने आभास नेपाल आउने पर्यटकले पाउनु हुन्न । त्यस्तो अवस्थाको अन्त्य गरिनु पर्छ । २० वर्ष पुराना सवारी साधन हटाउने निर्णयलाई सरकारले कडाइका साथ लागू गर्न सकिरहेको छैन । दुर्घटनाको अर्को कारण सवारी साधनको ‘लाइफ’ ले पनि निर्धारण गर्ने भएकाले सुरक्षित सडकका लागि सबै जिम्मेवार बन्नु जरुरी छ ।