नेपालमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको विज्ञापन हुने गरेको तथ्याङ्क सरकारसँग छ । पछिल्लो समय विज्ञापनको बजार केही फराकिलो हुन थालेको छ । विभिन्न संस्थाहरुले आफै वा एजेन्सीमार्फत् विज्ञापन गर्न थालेका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा विभिन्न उत्पादन र सेवाहरुको विज्ञापन गर्ने शैली र संख्यामा नवीन प्रयोग र प्रभावकारिता बढ्न थालेको छ । नेपालमा विज्ञापनको शुरुवात गोरखापत्रको प्रकाशनसँगै भएको हो । गोरखापत्रका पहिलो विज्ञापनदाता कृष्णप्रसाद आचार्य हुनुहुन्थ्यो । पञ्चायतकालमा सुस्त रहेको विज्ञापन बजार ०४६ सालको जनआन्दोलनपश्चात् गतिपूर्वक अघि बढेको देखिन्छ । जनआन्दोलनको सफलतासँगै प्रकाशन स्वतन्त्रता पनि प्राप्त भयो । दैनिक, साप्ताहिक पत्रिकाको प्रकाशन दिनहुँ बढ्दै गयो । नेपालमा करिब ४९ प्रतिशत विज्ञापन छापा माध्यमले ओगटेको छ । २० देखि २२ प्रतिशत टेलिभिजन र २० प्रतिशतजति रेडियोमा जान्छ । त्यसपछि झन्डै तीन प्रतिशतजति डिजिटल सञ्चार माध्यममा र १० प्रतिशत अन्य प्रकारका विज्ञापनले ओगटेको छ । यो गत आर्थिक वर्षको सूचना प्रविधि मन्त्रालयको तथ्याङ्क हो । पत्रिका प्रकाशनसँगै एफएम रेडियो र केही टेलिभिजन पनि स्थापना भए । मिडिया विस्तारसँगै विज्ञापन बजारको पनि विस्तार भयो । वार्षिक करिब नौ अर्बको विज्ञापन व्यवसाय छ भनिए पनि यसबारे हालसम्म गहिरिएर अध्ययन, अनुसन्धान भएको पाइँदैन । तर, वार्षिक न्यूनतम् ८ देखि १५ प्रतिशतका दरले वृद्धि हुँदै आएको पाइन्छ । अहिले टेलिभिजनहरुले ‘क्लिनफिड’ को माग गरिरहेका छन् । ०५९ सालमा विज्ञापन नीति आएको भए पनि त्यससम्बन्धी ऐन, कानून अहिलेसम्म नबन्दा समस्या अझै बढिरहेको छ । ‘क्लिनफिड’ लागू भएमा टेलिभिजनमा विदेशी च्यानल आउँदा विज्ञापनरहित ‘सिग्नल’ आउँछ र त्यसमा स्वदेशी विज्ञापनले ठाउँ पाउनेछ । विस्तार भइरहेको विज्ञापन बजारलाई अघि बढाउन र दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न ‘क्लिनफिड’ तुरुन्त लागू हुनुपर्छ । क्लिनफिड लागू नहुँदा राजस्वमा समेत प्रभाव परिरहेको छ । विज्ञापन बजारमा सरकारी विज्ञापनको वर्चस्व बढी देखिन्छ । तर, सरकारी विज्ञापनमा केही सञ्चार माध्यमको मात्र एकाधिकार देखिन्छ । यसलाई नतोडी विज्ञापन बजार फैलने देखिन्न । कुनै एक वा दुई पत्रिका, टेलिभिजन वा रेडियोलाई उपलब्ध गराइने सरकारी विज्ञापन सरकारी क्षेत्रबाट प्रतिस्पर्धात्मक ढङ्गबाट विज्ञापन एजेन्सीमार्फत् नै वितरण गर्नुपर्छ । समानुपातिक वितरण प्रणाली लागू गर्नुपर्छ । यसो भयो भने विज्ञापन बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा केही कम हुनसक्छ । विज्ञापन बजारमा अस्वस्थ खालको छुट दिने र लिने प्रतिस्पर्धा देखिन्छ । त्यसले गर्दा देखाउने दर एउटा र कार्यान्वयन हुने दरबीच ठूलो खाडल देखिन्छ ।