चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीको पक्षमा समर्थकले सामुहिक सत्याग्रह शुरु गरेका छन् । लोकतान्त्रिक नेपालमा आफ्नो मत राख्न पाउने, आन्दोलित हुन पाउने, विरोध गर्न पाउने स्वतन्त्रता छ । आन्दोलनकै बलमा परिवर्तनहरू भएका छन् । नेपाली सञ्चारमाध्यमका सम्पादकहरूले उनको सत्याग्रहको ऐक्यबद्धता गरिरहेका छन् । विगत केही दिनदेखि डा. केसीको माग पूरा गराउन अस्पतालका सेवा बन्द गरेर डाक्टर आन्दोलनमा उत्रिएका छन् । डा. केसीको समर्थनमा जनलहर पनि देखिएको छ । उनका मागहरु जायज हुन सक्तछन् । डा.केसीका माग पूरा नभए अस्पतालको सेवा बन्द गरेर आन्दोलनमा उत्रने चिकित्सकले चेतावनी दिएका छन् । चिकित्सकको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घले यसको नेतृत्व गरेको छ । स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा कार्यरतले हड्ताल गर्नु उनीहरुको सामाजिक उत्तरदायित्व होइन । सरकारले दिएको तलब सुविधा खाएर हड्तालमा उत्रिएका चिकित्सकहरू हुन् वा अन्य जोकोही हुन् उनीहरूले मानव सेवामा समर्पित हुने पवित्र बाटोलाई फोहोर बनाउन हुँदैन । डा. केसीको मागलाई समर्थन गर्दै प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरिरहेका छन् । डा. केसीको जीवन रक्षा राज्यले गर्नुपर्छ । उनको मागको सम्बोधन गर्नुपर्छ । तसर्थ उनको समर्थनमा आफ्नो दायित्व नछाडि चिकित्सक सेवामा समर्पित हुनुपर्छ । यसले मात्र डा. केसीको अभियानमा बल पुग्छ । अन्यथा चिकित्सा क्षेत्रको सुधारको माग गरिरहेका उनलाई समर्थन गर्ने तरिकाले उनको सिद्धान्तमा असर पर्ने, उनको आन्दोलन नै तुहाउने, उनीमाथि नैतिक सङ्कट आइपर्नेलगायतका काम चिकित्सकबाट हुनुहुूदैन । ही आन्दोलनका क्रममा अस्पतालभित्र वा बाहिर अप्रिय घटना घट्न सक्छन् । चिकित्सकका हेलचेक्राइूका कुरा निस्कन सक्छन् । आक्रोशित बीच मुठभेड हुन सक्छ । तसर्थ यी संवेदशनशीलतालाई बुझेर चिकित्सकले काममा फर्कनु पर्छ । आफ्नो काम नछाडि सिर्जनात्मक विरोध र समर्थनलाई अघि बढाउनुपर्छ ।