भद्रपुर । धान खेति गर्दा लगानीनै नउठ्ने भएपछि दुइवर्ष अघि देखि बाझै राखेको जग्गालाई झापाका एक उद्योगीले मेसिनको प्रयोग गरि एक बिगाह तीन कठ्ठा सुख्खा जग्गामा छरुवा धान लगाएका छन् । झापा साविक महेशपुर गाविस हाल भद्रपुर ६ मा रहेको सुख्खा खेतमा उद्योगी याम बहादुर श्रेष्ठले बिउ छर्ने मेसिनबाट बुधबार विहान धान खेति लगाएका हुन् । धान खेतिका लागी प्रधानमन्त्री कृषि आधुनिकिकरण धान सुपरजोन झापाले खेतिको बारेमा जानकारी गराएपछि उत्साहित भएका श्रेष्ठले पहिलो पटक छरुवा धान खेति लगाएको बताए । उनले गरिमा जातको धानको बिउ लगाएका छन् । आफुले ७० सालमा जमिन खरिद गरेर धानखेति लगाउदा वार्षिक ४५ हजार रकम खर्च हुने र ४५ मन धानपनि नहुने भएपछि दुइ वर्षदेखि बाझै राखेको उनले सुनाए । यो प्रविधिबाट सन्तुष्टी भएमा बाझो रहेका र अन्य जमिनलाई समेत मेसिनबाट खेति लगाउन आफुले सल्लाह दिने उनले बताए । यो प्रविधिमा बिउ उखल्ने , रोप्ने ,शुरुमा पानीको आवश्यक्ता लगायतका काम गर्नु नपरेका कारण मेसिनको प्रयोगबाट लागत मूल्य घटाएको उनको भनाई छ । गरिमा जातको धान प्रति विगहा ८० देखि एकसय मनसम्म उत्पादन दिने र बजार मूल्य पनि कम्तिमा प्रतिमन १ हजार रुपैया रहेको उनको भनाई छ । झापामा पहिलो पटक सिडड्रिल मेसिन(बिउ छर्ने उपकरण)बाट सुख्खा खेतमा छरुवा धान प्रविधिको प्रयोगमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ धान सुपरजोन प्रमुख तथा कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताए । सरकारको नीतिनै मेसिनको प्रयोग गरि वा जसरी भएपनि जमिन बाझो नराख्ने उद्देश्य भएकोले सोही अनुसार झापाका विभिन्न जमिनमा धान खेतिको अभियान चलाइएको अधिकृत तिमल्सेनाले बताए । धान खेतिका विभिन्न प्रक्रिया मध्ये सुख्खा खेतमा धान छरेर गरिने खेति पनि प्रभावकारी हुने भएकोले किसानलाई खेति तर्फ उन्मूख हुन आफुले हर प्रयास गरिरहेको उनको भनाई छ । छरुवा धान १ सय विस दिनमा पाक्ने र गरा मिलेमा बिउ छर्न प्रति विगाह साढे एक घण्टा समय लाग्ने मेसिन चालकको भनाइ रहेको उनले जनाए । कामदार प्रयोग गरेर गरिने खेतिमा लागत बढी र उत्पादन कम हुने भएकोले अब मेसिनको प्रयोगबाट उत्पादन लागत घटाई उत्पादन बढाउन किसानलाई अनुरोध गरिरहेको उनले बताए । किसानहरु पुरानै ढङगबाट खेतिमा लागेका कारण प्रविधि प्रयोगमा बानी पर्न केही समय लाग्ने उनको भनाई छ ।