संखुवासभा/ हुन त हरेक व्यबसायमात्र हैन विविध विषयलाई लिएर विभिन्न मानिसहरु संगठित हुन थालेको धेरै भई सकेको छ । तर संखुवासभाको विभिन्न स्थानमा अलैंची खेती कै लागि भनेर गाउँगाउँमा गाउँलेहरु संगठिन हुन थालेका छन् । सदरमुकामदेखि १ दिनको पुरा बाटोमा पर्ने मकालु गाउँपालिका–३, आक्चेवामा प्रगतिशिल अलैंची उत्पादन कृषक समुह नाम दिएर अलैंची खेतीकै लागि समुह विस्तार गरेका २ बर्ष बितेको छ ।
अलैंची खेतीमा लागेका गाउँका किसानहरु मिलेर संगठन विस्तार गरेको धेरै भएको छैन । २०७३ सालमा स्थापना भएको समुहले निरन्तर कृषकमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । हाल आक्चेवाको यो समुहमा २५ सदस्यीय समिति रहेको यो कृषक समुह एउटा नमुना कृषक समुह रहेको छ । गाउँलेको मकै, धान, कोदो रोप्ने खेत बारीमा यति वेला अलैंचीले ढपक्क ढाकेको छ । गाउँको आर्थिक रौनाक नै फेरिएको समुहका अध्यक्ष सुरेश गुरुङले बताए । उनी भन्छन्ः हिजोसम्म आफुले उत्पादन गरेको अन्नले विहान बेलुकी हात जोड्न पनि पुग्दैनथ्यो तर अहिले मनग्य पगेको छ । आर्थिक स्थिती सुधार्नको निमित्त नदेबालीमा लगानी बढाउनु पर्ने स्थानीयको बुझाई छ । आन्तरिक खपतको साथै बाह्य बजारमा पनि निकासी गरिने भएकाले यो खेती व्यापारमा टेवा पु¥याई विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख श्रोत हुन गएको छ ।
यस खेतीका लागि चिस्याइलो र ओसिलो जमिन बढी उपयुक्त हुने भएकाले प्रायः पहाडका सिमसार र खोल्साहरुमा यसको खेती गरिन्छ । ठाउँले गर्दा एकातिर अन्य बालीको लागि उपयुक्त नहुने जग्गा सदुपयोग हुन आउँछ भने अर्को्तिर अप्रत्यक्ष रूपमा वनजंगलको विकास र बाढी पहिरोको नियन्त्रणमा पनि यसले सघाउ पु¥याउन सक्दछ । आम्दानीको हिसाबले अन्य कतिपय बालीहरुको तुलनामा भएको प्रति इकाई उत्पादन पनि बढी हुने हँुदा यसको महत्व अझ बढ्दो छ । आक्चेवामा ४० के.जी. देखि १२ सय के.जी. सम्म उत्पादन गर्ने कृषकहरु छन् । उनीहरुले उत्पादन गरेको अलैंचीले धान कोदोबाट भन्दा दोब्बर तेब्बर उत्पादन गर्छन् । हाल उनीहरुको जीवन शैली फरक भएको छ । एक पटकको १२ सय के.जी. अलैंची उत्पादन गर्ने सुरेश गुरुङले व्यवसायमा खुब मजाले लागेका छन् । आफ्नो पुख्यौली जग्गाहरुमा अलैंची खेती सुरु गरेका उनी सदरमुकाम खाँदबारीमा बस्दै आएका छन् । जिल्लाकै महंगो स्थान भनेर चिनिने खाँदबारीमा २ नानीहरुलाई बोर्डिङ स्कुलमा पढाएर मनग्य परिवार धानिरहेको सुरेशको अरु कुनै जागिर वा व्यवसाय छैन । उनी यहि अलैंचीबाट नै सम्पन्नता तिर उन्मुख भइ रहेका छन् ।
अझ समुहमा सामेल भए भएपछि झन सामुहिक रुपमा खेतीमा आएका समस्याहरु समाधान गर्ने गरेको आक्चेवाकै रामकृष्ण भट्टराई बताउँछन् । उनी गाउँमा नै अलैची खेतीमा दिन रात नभनी खटिएका छन् । उनी भन्छ्नः गाउँमा समुह बनाएदेखि हामी सबै एकमुष्ट आर्थिक समृद्धिमा लम्किएको भान भएको छ । आर्थिक विकासका लागि सामुहिक व्यबसाय अत्यआवश्यक छ ।समुहबाट नै गाउँमा भएका अलैंचीको हरेक विषयमा प्रत्येक महिना छलफल हुन्छ । गाउँले भेला भएर समस्या र खुसीका कुरा एक अर्कामा सटासाट गर्ने गर्छन् । उनीहरु छरछिमेकमा मित्रताको भाव पनि बढेकोमा अत्यन्तै खुसी छन् । अलैंचीमा लाग्ने छिर्के, फुर्के जस्ता घातक रोगहरुले कुनै समयमा वाक्क लगाउने गरेको भए पनि जिल्ला कृषि विकास कार्यालयबाट नै कृषि प्राविधिक बोलाएर सल्लाह लिन्छन् । त्यति मात्र हैन आफै पनि कृषि विकास कार्यालयमा आई पुग्छन् । संखुवासभा जिल्ला एक हिमाली जिल्ला हो । यस जिल्लामा अनेक किसिमको हावापानी पाईन्छ । रामसाई, गोलसाई जस्ता विभिन्न जातका अलैंची यस ठाउँमा पाईन्छ ।
नेपालमा खेती गरिने विभिन्न नगदेबालीहरुमध्ये अलैंची खेती पनि महत्वपूर्ण एक हो । खास गरी अलैंचीलाई मसलाको रूपमा प्रयोग गरिने प्रचलन शुरुमा पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने मेची र कोशी अञ्चलका पहाडी जिल्लाहरुबाट भएको देखिन्छ । यस बालीमा उत्पादनको हिसाबले इलाम जिल्लाले प्रमुख स्थान ओगटेको छ । यसरी सुदूर पूर्वका जिल्लाहरुबाट यसको शुरुवात भए पनि हाल आएर अधिराज्यका विभिन्न करिब ४० जिल्लाहरुको अन्दाजी १३ हजार ७ सय ८४ हेक्टरमा खेती गरिने तथा १२ हजार १५ हेक्टरमा उत्पादन हुने अलैंचीको कुल उत्पादन भने ७ हजार ८७ मेट्रिक टन हुने अनुमान गरिएको छ ।