धरान र वराहक्षेत्र सीमा जोडिएका उपमहानगरपालिका र नगरपालिका हुन् । जोडिएका सीमा भएपछि यी दुई नगरको एक आपसमा निर्भरता, विशेषता र परिपूरकता रहेको छ । भौगोलिक र भावनात्मक आत्मीयतासँगै पुरानो शहरका रुपमा रहेको धरानले वराहक्षेत्रका माग र आवश्यकता पनि धेरै हदसम्म परिपूर्ति गरेको छ ।

वराहक्षेत्र नगरपालिकाका उत्पादनलाई धरानले बजार दिएको छ भने धरानका उपभोक्तालाई वराहक्षेत्रले उत्पादन दिएको छ । स्वास्थ्य, उच्च शिक्षाको क्षेत्रमा निकै अघि रहेको धरानबाट नै वराहक्षेत्रले लाभ लिइरहेको छ । हाल धरान उपमहानगरपालिकाका रुपमा संरचित छ । यसमा साविक विष्णुपादुका समायोजन भएको हो । एउटै संसदीय क्षेत्रका रुपमा स्थापित धरान र वराहक्षेत्र संविधान सभाको निर्वाचपछि मात्रै छुट्टै क्षेत्र भएका हुन् ।

यस अघि यी दुई नगरको भौगोलिक, सांस्कृतिक, वातावरणीय स्वभावमात्रै उस्तै थिएनन्, राजनीतिक स्वभाव पनि उस्तैउस्तै थियो । मुलुक संघीय संरचनामा गएपछि वराहक्षेत्रसमेत वृहत क्षेत्रफलमा फैलिएको छ । दक्षिण साविक मधुवनदेखि प्रकाशपुर, महेन्द्रनगर, भरौल, वराहक्षेत्र मिलेर फराकिलो क्षेत्रसँगै विशाल सम्भावनासमेत यसले बोकेको छ ।

संघीयताको मर्मअनुसार स्थानीय तहको रेखांकन र सीमांकन भइरहँदा विभिन्न समयमा साविक वराहक्षेत्र गाविस र धरानलाई समायोजन गर्नुपर्छ भन्ने आवाज उठेको थियो । वराहक्षेत्र र धरानबीच विभिन्न चरणमा वार्ताहरु पनि भए । भौगोलिक, सांस्कृतिक, राजनीतिक अवस्था समान भएकाले समायोजन हुनुपर्ने मत थियो तर वराहक्षेत्र छुट्टै नगरपालिकाका रुपमा स्थापित भयो ।

संरचनागत रुपमा दुई छुट्टै नगर भएपनि यहाँका समान सम्भावना र विकास निर्माणका काम भएकाले अब धरान र वराहक्षेत्रले यी विकासे एजेण्डालाई एकै साथ अघि बढाउनु पर्छ । धरान सरकारद्वारा प्रकाशित ‘धरान राजपत्र’ (भाग–१ ऐनसम्बन्धि) को धरान उपमहानगरपालिका नगर कार्यपालिकाका प्रमुखद्वारा वर्ष २०७४।७५ को नीति तथा कार्यक्रमको ‘पर्यटन विकास’ शीर्षकअन्तर्गत दफा ७ मा ‘पर्यटन विकासका लागि छिमेकी स्थानीय तहसँग सहकार्य गरी आपसी लाभमा आधारित सहकार्य अघि बढाइनेछ ।’ भनिएको छ । यसबाट धरानले अन्य स्थानीय तहसँग सहकार्य गर्नसक्ने बाटो खोलिसकेको छ ।

धरानले यसअघि पनि वराहक्षेत्रमा लाग्ने कार्तिके मेला, वराहक्षेत्र मेलालाई छुट्टै बजेटसमेत प्रदान गर्दै आएको थियो । हाल जनप्रतिनिधि आएपछि पनि यसलाई निरन्तरता दिइएको रहेछ । ‘धरान राजपत्र’ को बजेट खर्चको अनुसूची विवरणमा वराहक्षेत्र मेला व्यवस्थापन शीर्षकमा रकम छुट्याइएको छ । यो धरानले गरेको पहल हो ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले समेत स्थानीय तहबीच साझेदारी र व्यवस्थापन गर्न सक्ने स्पष्ट देखाएको छ । ऐनको दफा २६ ले साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने भनेको छ । यसअन्तर्गत दुई नगरले वृहत पूर्वाधार निर्माण, ठूला मेसिन तथा औजार खरिद र व्यवस्थापन, विपद व्यवस्थापन, यातायात संचालन फोहोर विसर्जन र प्रशोधन, भूउपयोग, पर्यटन विकास, उद्योग स्थापना, अभ्यास र अनुभव आदानप्रदान र अन्य उपयुक्त विषय गर्न सक्ने मार्ग प्रसस्त गरेको छ ।

यो कार्यलाई व्यवस्थित रुपमा अघि बढाउनका लागि स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन गर्न सक्ने उल्लेख गर्दै ऐनको दफा ११ को उपदफा २ को खण्ड (ठ) को उपखण्ड (४) ले अधिकार प्रत्यायोजन गरेको छ ।

अब धरान र वराहक्षेत्रले के गर्ने त ? स्थानीय सरकार संचालन ऐनले दिएको सबै अधिकार प्रयोग गर्दै सम्भावित विकास र समृद्धिलाई आत्मसात गर्नुपर्छ । नगरको दीगो विकास नै जनचाहना हो भन्ने बुझेर धरान र वराहक्षेत्रलाई भरपर्दो भौतिक संरचनाले जोड्ने र सामुहिक रूपमा विकास गर्न दुई नगर अघि बढ्नु पर्छ । स्थानीय सरकार संचालन ऐनले पनि दुई नगरले सामुहिक लगानीमा विकास गर्न सक्ने मार्ग प्रसस्त गरेको छ । विकासको पहिलो मेरुदण्ड सडक संजाल वा यातायात हो । यी दुई नगरले प्रारम्भिक रुपमा यातायात, रुट वा चक्रपथको अवधारणालाई व्यवस्थापन गर्न सक्छन् ।

जसमा विष्णुपादुका– वराहक्षेत्र धार्मिक करिडोर, मंगलबारे– भंज्याङ– सूर्यकुण्ड– चौदण्डा– चावचा ऐतिहासिक पर्यटकीय करिडोर, धरान– कुम्भिआहाल– भलुवाचौरी– कालाबंजार कृषि करिडोर, धरान– नडाहा– बांगे– चक्रघट्टी करिडोर, धरान– चतरा करिडोर । योसँगै दुई नगरले दमकल, एम्बुलेन्स सामुहिक रूपमा खरिद गरी सामुहिक प्रयोग गर्न सक्छन् । माथि भनिएका करिडोरमा सामुहिक रूपमा केबलकार, घोडा, नगरबस खरिद गरी संचालन गर्ने र नगरको आय वृद्घि गर्न सक्छन् ।

स्रोत साधनमा तुलनात्मक रुपमा बलियो रहेको एउटा स्थानीय तहले अर्को स्थानीयमा लगानी गर्ने र त्यहाँबाट पनि आय वृद्धि गर्न सक्छ । यसै मर्मअनुसार तुलनात्मक रुपमा स्रोत साधनले बलियो धरानले वराहक्षेत्रमा लगानी गर्न सक्छ । यी दुई नगरको सहकार्यमा र्याफ्टिङ, क्याम्पेइनिङ, प्याराग्लाइडिङ, क्यानोइङका क्षेत्रमा पूर्वाधार तयार गर्ने र सहकार्य गर्ने । धार्मिक रुट धरानदेखि सुरु गरेर धरानमै टुंग्याउने (दन्तकाली–रामधुनी–वराहक्षेत्र–विष्णुपादुका) । जलपर्यटन र पानीको स्रोतसँग सम्बन्धि सहकार्य गर्न सक्ने । साइट सिन, खेल पर्यटन (बीच खेल), सुटिङ स्पोटका रुपमा विकास गर्न सक्छन् । धरान र वराहक्षेत्रका माथिल्लो भेगमा अदुवा, हर्दी, अम्रिोसोलगायतका खेती त भइरहेका छन् । कृषिमा नयाँ सम्भावनाको अध्ययन गरी चिया, कफीलगायतका नगदेबालीको सम्भाव्यता अध्ययन गरी कृषक प्रोत्साहन कार्यक्रम ल्याउन सक्छन् ।

वराहक्षेत्रको विशाल फाँट अन्नको भण्डार हो । धरान अन्न र उत्पादनको बजार हो । यहाँबाट उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकिन्छ । वराहक्षेत्रले धरानलाई दशकौँदेखि दूध खुवाउँदै आएको छ । अब जल व्यवस्थापनमा पनि सहयोग गर्नसक्छ । फोहोर व्यवस्थापन र उर्जा उत्पादनमा सहयोग गर्न सक्छ । वराहक्षेत्रका विशाल फाँटमा धरानले चाहेको जस्तो कृषि अनुसन्धान र नयाँ बालीको व्यवस्थापन गर्न सक्छ । धरानसहितको लगानीमा धरानले चाहेको एयरपोर्टको चाहनालाई पूरा गर्न सक्छ ।

यति मात्र होइन यस अघि यहाँका जनताले चाहेको सपना पूरा गर्छ । यसअर्थमा अब भन्न सकिन्छ, विकास र समृद्धिका लागि कुनै रेखांकन बाधक हुँदैन । यदि बाधक हुन्छ भने विकास निर्माणमा नेतृत्वको चेतना बाधक हुन्छ । जनताले समृद्धिको सपना देखेका छन्, त्यसलाई क्रमशः पूरा गर्दै जानुपर्छ । विभिन्न अवस्थामा अभिव्यक्त भएका जनताका चाहना, स्थानीयको निकटता र आत्मीयता, विकासका सम्भावना, नेतृत्वको उत्कट इच्छा र स्थानीय सरकार संचालन ऐनले समेत वराहक्षेत्र र धरानलाई एकअर्काबाट टाढा राख्न सकेको छैन । यही अभिलाषाले पनि आँखै अगाडि रहेका विकासका यी सम्भावनालाई कार्यान्वयन गर्न दुई सरकारले हिम्मत गर्नुपर्छ । नगरको आन्तरिक आयवृद्धि गर्न र समृद्ध नगरका रुपमा अघि बढ्न पक्कै सहयोग पुग्छ ।

वराहक्षेत्र आफैँ पनि पुरानो व्यापारिक केन्द्र हो, धरानभन्दा पनि पुरानो । केही दशक अघिसम्म पनि वराहक्षेत्रको चतरा बजारले थुप्रै पहाडी जिल्ला र छिमेकी नगरको खाद्यान्नको आवश्यकता परिपूर्ति गथ्र्यो । बजारको विस्तार, आर्थिक, सामाजिक परिवर्तन र राजनीतिक अवस्थाका कारण अपेक्षाकृत रुपमा यहाँको विकास हुन सकेन । भरपर्दो भौतिक संरचना निर्माण नहुँदा, राज्यको ध्यान जान नसक्दा यहाँको विकास पछि नै परिरह्यो । अब स्थानीय सरकारको गठनसँगै सरकारले विकास निर्माण र आर्थिक परिवर्तनको मुद्दालाई आत्मसात गरेको छ । यो अवस्थामा जनताले चाहेको परिवर्तन अवश्य हुन्छ ।