राजनीतिक दलहरू नीति, सिद्धान्त र कार्यक्रमबाट निर्देशित हुन्छन् । भलै नीति र सिद्धान्तबाट निर्देशित हुन नसक्ने पार्टी जनतासामु लोकप्रिय मान्न सकिँदैन । यस्तो पार्टीले जनताको मन जित्ने अपेक्षा पनि गरिँदैन । नीति र सिद्धान्तकै आधारमा दलहरूले चुनावी कार्यक्रम तय गर्छन् । यतिबेला अहिले स्थानीय तह निर्वाचनको तयारी भइरहेको छ । दलहरु पनि चुनावी एजेण्डाको तयारीमा लागेका छन् । राजनीतिक दलहरुको चुनावी घोषणापत्र अन्तिम चरणमा पुगेको छ । यही चुनावी घोषणापत्रका आधारमा जनमत सृजना हुने गर्दछ । बिडम्बना भन्नु पर्दछ, दलहरुले निर्माण गरेका घोषणापत्रहरु फगत कर्मकाण्डी हुने गरेका छन् । कार्यान्वयन गर्न नसकिने र नहुने एजेण्डाहरु चुनावी कार्यक्रममा राखेर जनतासामु जाँदा उनीहरुमाथिको विश्वसनीयता गुम्दै गएको छ । चुनावी कार्यक्रम या घोषणापत्रको कार्यान्वयन नहुँदा त्यसका लागि सम्बन्धित दल र नेतृत्वलाई जवाफदेही मान्न सकिँदैन । चुनावी घोषणा र दलहरुको कार्यक्रममा भएको अन्तरले नेतृत्वको विश्वसनीयतामा प्रश्न उब्जाएको छ । जनतासामु लोकप्रिय र विश्वसनीयताको सुनिश्चित गर्न दलहरूको कार्यक्रमसम्बन्धी घोषणा र कार्यान्वयनबीचको अन्तर न्यूनतम् हुनु वाञ्छनीय हुनेछ । घोषणापत्रमा लोकप्रिय कार्यक्रम ल्याउने तर कार्यान्वयन भने शून्य हुनु राजनीतिक दलहरुको असल चरित्र मान्न सकिँदैन । जुन काम गर्न सकिन्छ ती कुरालाई प्राथमिकतामा राखेर दलहरुले काम गर्नु नै बुद्धिमता हुनेछ । सस्तो लोकप्रियताका लागि चुनावी घोषणापत्र हुनु हँुदैन । जनतालाई राहत पुग्ने खालको घोषणापत्र बनाएर जनतासामु जानु पर्दछ । जुन पार्टीले जनताको हित हुने एजेण्डा तय गर्दछ र अक्षरशः पालना गर्दछ, कालान्तरसम्म त्यो पार्टी र त्यसको नेतृत्व गर्ने नेता लोकप्रिय हुने कुराको हेक्का राजनीतिक दलका नेताहरुले राख्नु पर्दछ ।