नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ फेरि नदोहोरिने गरी समाप्त भएको घोषणा गरेका छन् । हिउँदमा १८–२० घण्टा र वर्खामा समेत लोडसेडिङ झेलेका नेपाली नागरिक अहिले कार्यकारी निर्देशक घिसिङको कार्यशैलीबाट उत्साहित भएका छन् । उनले आगामी वैशाखदेखि उद्योगहरुमा पनि २४ घण्टा बिजुली दिने जनाएका छन् । निश्चय नै, यो निकै खुशी र उत्साहको विषय हो । जलस्रोतमा धनी भईकन पनि अँध्यारोमा बस्न अभ्यस्त भइसकेका नागरिक लोडसेडिङ अन्त्यको घोषणाबाट खुशी हुनु अस्वाभाविक पनि होइन । बिजुली आपूर्तिमा देखिएको यो सकारात्मक परिवर्तनबाट उद्योगी–व्यवसायी अझ बढी उत्साही देखिएका छन् । नियमित बिजुली आपूर्तिको अभावमा जेनेरेटरबाट उद्योग सञ्चालन गर्नु पर्दा लागत खर्च बढेर उद्योग धान्न समस्या परेको उद्योगीहरुले बताउने गरेका थिए । यही समस्याका कारण कतिपय उद्योगहरु बन्द पनि भएका थिए । लोडसेडिङको अन्त्यसँगै यो अवस्था पनि अब समाप्त हुने देखिएको छ । त्यसैले देशमा औद्योगिक विकासका लागि पनि यो सकारात्मक अवस्था हो । नियमित विद्युत् आपूर्ति भएमा औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । लागत खर्च घटेमा उत्पादित सामानको मूल्यमा पनि समायोजन गर्न सकिए यसबाट उपभोक्ताले पनि लाभ पाउने थिए । यसतर्पm पनि उद्योगीहरुले ध्यान दिनु आवश्यक छ । यसले विद्युत् प्राधिकरणमा व्याप्त भ्रष्टाचार र अनियमितताको पाटोलाई पनि उदाङ्गो बनाएको छ । विद्युत् आपूर्तिमा खासै बढोत्तरी नभए पनि भएकै विद्युत्लाई व्यवस्थापन गरी घिसिङ र उनको टोलीले देशलाई लोडसेडिङ मुक्त बनाएर देखाइदिएको छ । यसबाट यसअघि विद्युत् वितरणमा हुने अनियमितता छर्लङ्ग भएको छ । प्राधिकरणका अघिल्ला कार्यकारी निर्देशक मुकेशराज काप्mलेले हिउँद महिनामा लोडसेडिङ अन्त्य भए आपूmले कहिल्यै पनि सरकारी नियुक्ति नलिने चुनौती दिएका थिए । घिसिङको नेतृत्वमा प्राधिकरण यो अभियानमा सफल भएको छ । अब यो अवस्थालाई निरन्तरता दिनु आवश्यक छ । नेतृत्व असल भएमा सकारात्मक परिवर्तन धेरै टाढा छैन भन्ने उदाहरण घिसिङ र ऊर्जामन्त्री जनार्दन शर्माले प्रमाणित गरेका छन् । देशलाई लोडसेडिङ मुक्त बनाउने लक्ष्यसहित ऊर्जामन्त्री शर्माले लै अघिल्ला कार्यकारी निर्देशक काप्mलेलाई हटाएर प्राधिकरणमा घिसिङलाई ल्याएका थिए । दुवैको तालमेलबाट ‘उज्यालो नेपाल’ अभियान सफल भएको छ । यसबाट अन्य क्षेत्रले पनि पाठ सिक्नु आवश्यक छ ।