प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा छन् । उनले आइतबार मात्रै चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । विनातयारी भए पनि प्रधानमन्त्री प्रचण्डको यो भ्रमण महत्वपूर्ण छ । स्वतन्त्र व्यापारका लागि डेढ दशक अघिदेखि सङ्गठित एशियाली मञ्च बोआओ सम्मेलनमा सहभागिता अर्को महत्वपूर्ण उपलब्धि हो । उक्त सम्मेलनमा सहभागिता र राजकीय भेटलाई शिष्टाचारमा मात्र सीमित गरिएन भने यो भ्रमण नेपालजस्ता मुलुकका लागि उपयोगी हुनेमा दुई मत छैन । प्र्रधानमन्त्रीको यो भ्रमण उच्च राजनीतिक महत्वको भ्रमण भएको कुरामा सन्देह छैन । प्रधानमन्त्री प्रचण्डले भ्रमणलाई उपयोगी र फलदायी बनाएर नेपाली परराष्ट्र विज्ञहरुबाट यो भ्रमणको तयारीको विषयमा भएका आलोचनालाई जवाफ दिनुपर्दछ । ‘वान बेल्ट वान रोड’ (ओबर) मा सहभागिताले नेपाललाई फलदायी बनाउने कुरामा दुई मत रहेन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका केही लोकप्रिय परियोजना थाँती रहेका छन् । प्रमको भ्रमणपछि यी परियोजनाहरुले निरन्तरता पाउने आशा गर्न सकिन्छ । आफ्नो अनुकूल सेवा, सुविधा र राजनीतिक समर्थनका लागि पहिले भारततर्पm लम्पसार पर्ने, त्यो नभए चीनतर्पm ढल्किने र राष्ट्रवादिता घन्काउने नेपालका शासकहरुको पुरानो रोग हो । यो मानसिकता र संस्कार अबका नेपाली नेताहरुले हटाउनुपर्ने बेला आएको छ । निश्चय नै छिमेकसँगको सम्बन्धमा सन्तुलन कायम राख्न सक्नुपर्छ । भारत वा चीनसँग चित्त नबुझेका कुरा दिल्ली वा बेइजिङमै गएर भन्न सक्ने हैसियत राख्नुपर्छ । अहिले चीनले अघि सारेको ओबर निकै ठूलो प्राथमिकताको विषय हो । यसबाट सम्पर्क, सम्बन्ध, आर्थिक विकासलगायतका विषयमा विश्व सम्बन्धको नयाँ आधार संस्थागत गर्न सकिन्छ । प्राचीन चिनियाँ सभ्यता र व्यापारको पहिचान बोकेको ‘सिल्क रोड’ कनेक्टिभिटीजस्तो देखिए पनि ओबर त्योभन्दा धेरै व्यापक र महत्वाकाङ्क्षी प्रस्तावना देखिएको छ । यसले एशिया, युरोप र अफ्रिकाका ६० भन्दा बढी देशलाई समेट्न खोजेको छ । चीनको वर्तमान नेतृत्व पुस्ताको यो सर्वाधिक प्राथमिकतामा परेको छ । यसमा नेपाल सहभागी हुन पाउनु सुख्द कुरा हो ।