घरवरिपरि दिशा र पिसाबको गन्ध । बाँसको भाटा बुनेर बनाएको ढोका । कोठाभित्र पसेपछि एकतिर तीनवटा ढुंगा गाडेर बनाएको चुलो ।चुलोको एकछेउमा भात पकाउने कसौंडी । सोही चुलोछेउमा दुईवटा खाट जोडेर बनाएको ओछ्यान । एक वर्षदेखि नधोएका ओढ्नेओछ्याउनेहरू असरल्ल छन् ।

[caption id="attachment_36493" align="alignleft" width="620"] फाइल तस्बिर[/caption]

त्रियुगा नगरपालिका–७ चुहाडेका जितबहादुर दनुवार चार छोरासहित त्यही कोठामा रमाउन बानी परिसकेका छन् । उनको जेठो छोरो २५ वर्षीय भरत, माइलो २३ वर्षीय पर्वत, साहिँलो १९ वर्षीय जयराम र कान्छो १५ वर्षीय सीताराम छन् । उनका चारैजना छोरा मानसिक रोगबाट पीडित छन् । उनीहरूको न दिन हुन्छ न रात, दिनचर्या सधैं यही कोठामा बित्ने गर्दछ ।

मानसिक रोगले पीडित भए पनि आर्थिक अभावमा जितबहादुरका सबै सन्तान वर्षौंदेखि रोग पालेर एउटै कोठामा थुनिएर बस्न बाध्य छन् । एक वर्षअघि पत्नीको पनि मृत्यु भएपछि चारैजनाको रेखदेख उनैले गर्दै आएका छन् ।

मानसिक रोगबाट पीडित चार सन्तानको बाबु जितबहादुरको दिनचर्या छोराहरूको स्याहारसुसारमै बित्ने गरेको छ । मजदुरी गरेर परिवार पाल्ने उनले अहिले चार सन्तानको हेरचाहका लागि मजदुरी गर्न छाडेका छन् । पत्नीले पनि छाडेर गएपछि चार सन्तानको रेखदेख आफैंले गर्दै आएको बताउँदै आफ्नो र छोराहरूको जीवन कष्टकर रहेको उनले बताए ।

‘जेठो छोरो भरत चार वर्षको उमेरसम्म त ठीक थियो, अरूजस्तै हाँस्ने, खेल्ने र बोल्ने गथ्र्यो,’ उनले भने, ‘त्यसैगरी, माइलो छोरो पर्वत पनि ७ वर्षसम्म ठीकै रहेको र स्कुल जाने आउने गथ्र्यो । जेठा र माइलाको उपचार गर्न मानसिक अस्पताल पाटनमा रहँदै गर्दा घरबाट खबर आयो, साहिँलो र कान्छोलाई पनि दाइहरूको जस्तै लक्षण देखा पर्यो ।’

साहिँलो जयराम त झन् अरू दाजुहरूभन्दा भिन्न किसिमको भएको स्मरण गर्दै उनले भने, ‘ऊ चनाखो थियो, पढ्न जान्थ्यो ।’ ४ कक्षासम्म पढेका साहिँलालाई पनि दाजुहरूलाई जस्तै रोग लागेकोउनले बताए ।तर, कान्छो छोरा सीतारामलाई चाहिँ दाजुहरूको संगतले रोगी भएको उनको आँकलन छ । ‘श्रीमती हुदाँ छोराहरूको हेरचाह गर्ने गरेको र आफू दिनभर मजदुरी गरेर बेलुका फर्कंदा खाना बनेको हुन्थ्यो,’ उनले निन्याउरो भावमा भने । अहिले खाना बनाइदिने कोही पनि नभएको बताउँदै उनले भने, ‘कहिलेकाहीँ चार सन्तानलाई कोठामा थुनी राखेर काममा हिँड्ने गरेको छु ।’

कमाइ गरेर ल्याउने उमेरका छोराहरूलाई कोठामा थुनेर आफु काममा जानुपर्ने बाध्यता रहेको दनुवारले दुखेसो गरे । ‘दैवले पनि देखिसकेन, मजस्ता मजदुरी गरेर खानेलाई नै आपत पारिदियो,’ जीतबहादुरले भने, ‘कोठामा थुनेर हिँडेका दिन छोराहरू दिशा र पिसाबमा खेलिरहेको भेट्छु ।’ दिनभर दिशा–पिसाबमा नांगै बस्ने हुदाँ चिसोको समयमा उनीहरूको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । सधंै रुघाखोकी र ज्वरोले सताइरहने उनले बताए ।उनका अनुसार छोराहरू बिरामी परेपछि जितबहादुरले मानसिक अस्पताल पाटनलगायतका विभिन्न अस्पतालमा लगेर उपचार गराएको र भएको घरखेत सकिएको छ ।