संस्कृति र परम्परागत मान्यताअनुसार होलीलाई मानसिक तनाव कम गर्न विभिन्न रङहरु खेलेर आनन्द लिने पर्वको रुपमा मानिँदै आएको छ । व्यक्तिमा भएका सम्पूर्ण दुःख, पीडा बिर्सेर, होलीको रङसँगै नयाँ उत्साहमा आपूmमा ताजापनको सञ्चार गरेर दीर्घजीवन बाँच्न यस पर्वले सहयोग गर्ने मान्यता रहिआएको छ । निश्चय नै, होलीले सद्भाव जोडने काम गरेको छ । समाजमा रहेका सबै जातजाति, धर्म, समुदायका व्यक्तिले एउटा उत्सवका रुपमा साझा पर्वका रुपमा उल्लासपूर्वक यो पर्व मनाउने परम्परा रहिआएको छ । यो पर्वको सकारात्मक पाटो भनेकै यही हो । होली निःसन्देह वर्षभरिका रिस, राग र द्वेषलाई समाप्त पार्दै एक–अर्कासँग अङ्कमाल गरी विभिन्न रङ र अबिर लगाई सद्भाव साटासाट गरिने पर्व हो । यसले नेपालीहरुको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै संस्कृति र परम्पराको संरक्षण गरेको कुरालाई हामीले भुल्नु हुँदैन । तर होली पर्वको राम्रो पक्ष हुँदाहुँदै पनि आजभोलि विकृत बन्न थालेको छ । होली पर्वलाई जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रङ छ्यापिदिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा पनि यसलाई प्रयोग गर्ने जमात् बढेका छन् । यस वर्ष पनि यस्ता विकृति रोकिएको मान्न सकिने अवस्था छैन । साझा पर्वलाई विकृत बनाउने समूहलाई नियन्त्रण गर्न राज्यले नै कडाइ गर्नुपर्छ । समाजलाई विकृत बनाउनु सभ्य नागरिकको कर्तव्य होइन । स्वयं व्यक्ति सचेत हुनु आवश्यक छ । राज्यले पनि सामाजिक पर्वलाई विकृत बनाउनेलाई कडा कारवाही गरेर विकृतिरहित समाज निर्माणमा हातेमालो गर्नुपर्छ । होलीको बहाना बनाएर गाँजा, लागूऔषध खाने र अरुलाई पनि खुवाउने प्रवृत्ति रोकिनुपर्छ । होली सबै मिलेर उल्लासमा मनाऔ“ । विकृतिरहित समाज निर्माण गरौ“ । हाम्रो पनि शुभकामना ।