नेपाल भूकम्पीय जोखिममा रहेको क्षेत्र हो । विसं १९९०, २०४५ र २०७२ मा गएका विनाशकारी भूकम्पले जनधनमा ठूलो क्षति पुर्याए। ९० सालको भूकम्पले गरेको विनाशलाई प्रत्यक्ष देख्ने मानिस अब धेरै छैनन् तर ४५ र ७२ सालका भूकम्पलाई प्रत्यक्ष अनुभव गर्ने हामी धेरै छौँ । ती भूकम्पहरुले सिर्जना गरेको त्रास अहिले पनि हाम्रो मस्तिष्कमा ताजै छ । हुन त त्यसअघि पनि नेपालमा ठूल्ठूला भूकम्प गएको विज्ञहरुले बताउने गरेका छन् । सन् १२५५ मा पनि काठमाडौँमा ठूलो भूकम्प गएको र त्यस भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको अध्ययनहरुले देखाएका छन् ।

भौगोलिक कारणले गर्दा अहिले पनि नेपाल भूकम्पीय जोखिममा छ । यस विषयमा स्वदेश तथा विदेशका विज्ञहरुले विभिन्न समयमा देशका विभिन्न भागमा अध्ययन गरेका छन् । स्वदेशी र विदेशी विज्ञ सम्मिलित एउटा टोलीले अहिले पनि देशको पूर्वी भागमा अनुसन्धान गरिरहेको छ । यो टोलीले झापाको दमक र इलामको चुलाचुली क्षेत्रमा पर्ने चुरे फेदीमा भूकम्पको वर्षौं पुरानो दरार फेला पारेको छ । धेरै वर्षअगाडि गएको भूकम्पबाट दमकको बेलडाँगीभन्दा तीन किलोमिटर उत्तरमा ५ मिटर जमीन फाटेको टोलीले फेला पारेको छ । त्यहाँको माटोको परीक्षणपछि यसबारे थप तथ्य प्राप्त हुने विशेषज्ञहरुले बताएका छन् । ९० र ४५ सालमा गएका भूकम्पहरुको केन्द्र पनि देशको पूर्वी क्षेत्रमै थिए । काठमाडौँ पनि भूकम्पको अति जोखिमयुक्त क्षेत्रमा पर्छ । भूकम्प प्राकृतिक विपत्ति भएकोले यसलाई रोक्न सकिँदैन । भूकम्प आउने ठ्याक्कै मिति र समयको पूर्वानुमान गर्न सकिने प्रविधि पनि अहिलेसम्म विकास हुन सकेको छैन । त्यसकारण यो अवश्यम्भावी विपत्तिको सामना हामीले गर्नैपर्छ । यसलाई रोक्न नसकिए पनि यसबाट हुने जनधनको क्षतिलाई कम गर्न भने सकिन्छ । यसका लागि हामीले केही पूर्वतयारी गर्नुपर्छ । यसमा हेल्चत्र्mयाइँ गर्नु हुँदैन । भौतिक संरचना निर्माणमा पनि हामीले विशेष ध्यान दिनु आवश्यक छ ।

भूकम्पप्रतिरोधी घर निर्माण गरिएमा भूकम्पबाट हुने सम्भावित क्षतिलाई धेरै न्यूनीकरण गर्न सकिन्छ । अहिले सरकारले देशका नगर क्षेत्रहरुमा भूकम्पप्रतिरोधी घर निर्माण गर्न निर्देशन दिएको छ । मापदण्डमा नपरेका घरहरुको नक्शा पास नगर्न स्थानीय निकायलाई निर्देशन दिइएको भए पनि कतिपय भवनहरु मापदण्ड पूरा नगरी नै निर्माण भइरहेका छन् । आर्थिक चलखेल गरेर मापदण्डविहीन भवनहरुको नक्शा पास गराउने प्रवृत्ति अहिले पनि रोकिएको छैन । यो दुःखद् पक्ष हो । मापदण्डविहीन घरहरु अरुका लागिमात्र नभएर आप्mनै लागि पनि मृत्युको कारण बन्न सक्छ भन्नेतर्फ ध्यान नजानु चिन्ताको विषय भएको छ । बलिया र भूकम्पप्रतिरोधी संरचना निर्माण नै क्षति न्यूनीकरणको एकमात्र विकल्प हो ।

यसतर्फ सरकार, स्थानीय निकाय, सरोकारवाला पक्ष तथा सर्वसाधारण नागरिक सबैको ध्यान जानु आवश्यक छ । यसमा खेलाँची गर्नु कुनै पनि कोणबाट उपयुक्त होइन । विज्ञहरुले दिएका सुझाव र सल्लाहलाई सबैले पालना गरौँ किनकि भूकम्पलाई रोकन सकिँदैन, पूर्वतयारीबाट जोखिमलाई भने घटाउन सकिन्छ । त्यसैले बेलैमा सचेत बनौँ ।