धेरैलाई शायद थाहा नहुन सक्छ, इटहरी उपमहानगरपालिका क्षेत्रमा सरकारले रेशम प्रशोधन केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्रमा करोडौं मूल्य पर्ने रेशम प्रशोधन गर्ने मेसिन छन् । तर सरकारी बेवास्ताका कारण विगत ४ वर्षयता केन्द्र लथालिङ्ग अवस्थामा छ । सरकारले ठूलो लगानीमा स्थापना गरेको केन्द्र लथालिङ्ग हुँदासमेत राज्य उदासिन हुनु बिडम्बना हो । रिलिङ धागो, जागुरी धागो र कटुवा धागो यहाँ उत्पादन हुँदै आएको थियो । तर कच्चा पदार्थ अभावले ४ वर्षदेखि धागो समेत उत्पादन हुन छाडेको यहाँका कर्मचारीले बताएका छन् । रेशमको उत्पादन किम्बुबाट गरिन्छ । सरकारले किम्बु खेतीलाई प्रोत्साहन गर्न सकेको छैन । कच्चा पदार्थका लागि स्थानीय कृषकलाई प्रोत्साहन गर्न नसक्नु राज्यको कमजोरी हो । रेशमबाट बनेका कपडाहरुको उच्च माग रहेपनि राज्यले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कञ्जुस्याइँ गर्दैआएको छ । इटहरीमा भएको रेशम प्रशोधन केन्द्र लथालिङ्ग हुनु एउटा उदाहरण हो । स्वदेशी उद्योग कलकारखानालाई बढावा दिएर लगानी बढाएर उच्च उत्पादन गर्ने राज्यको नीति अहिलेसम्म बन्न सकेको छैन । मुलुकमा भएका स्वदेशी जीर्ण उद्योगहरुलाई राज्यले लगानी गर्नु पर्दछ । कच्चा पदार्थ उत्पादन, उद्योगमा स्वदेशी लगानीमा राज्यले ध्यान दिने हो भने यहाँकै उत्पादनबाट मुलुकले मुहार फेर्न सक्छ । तर, सीमित व्यक्तिको स्वार्थमा मुलुकमा भएका उद्योगलाई लथालिङ्ग बनाएर विदेशी कम्पनीबाट सामान आयात गर्ने कर्मचारीतन्त्रबाट मुलुक बन्ने आशा गर्न सकिँदैन । राज्यले लगानी गरेका जीर्ण उद्योगलाई सरकारले जगाउने काम गर्नु पर्दछ । विदेशी सामग्री आयातलाई कम गरेर स्वदेशमै उत्पादन बढाउने काम गर्नु पर्दछ ।