धरानमा विमानस्थलको आवश्यकता धरानवासीले महसुस गरेको झण्डै एक दशक भयो । धरानमा विमानस्थल निर्माणसम्बन्धी चर्चा र बहस चल्न थालेको पनि त्यति नै समय भयो । यहाँ विमानस्थलको आवश्यकता स्थानीयवासीले मात्र महसुस गरेका होइनन्, पूर्वी पहाडका थुप्रैका लागि यो आवश्यक देखिएको छ ।

पूर्व पहाडका धेरै यात्रुलाई हवाइ यात्राका लागि विराटनगरसम्म पुग्नुपर्ने बाध्यता छ । बन्द–हड्तालका बेला उनीहरुले विराटनगरसम्म पुग्न निकै सास्ती व्यहोर्नुपर्छ । धरानमा विमानस्थल हुँदा ती सबैलाई राहत हुनेछ । धरानमा विमानस्थल निर्माणका लागि प्रारम्भिक प्रक्रिया अघि बढेपछि स्थानीयसँगै पूर्वी पहाडको एउटा भागका बासिन्दा हर्षित भएका छन् । धरानमा विमानस्थल निर्माणका लागि यती इन्कर्पोरेटले एक दशकअघि नै स्थानीयबाट जग्गा खरीद गरे पनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन । अहिले भने सरकारले डेढ करोड बजेट छुट्याएसँगै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढेको छ । ईआईएको रिपोर्ट आउनेबित्तिकै विमानस्थलको काम अघि बढ्ने बताइएको छ ।

यसले सकारात्मक सङ्केत दिएको छ । यसबाट स्थानीयमा पनि आशा जागेको छ ।धरानमा विमानस्थल निर्माण भएमा यस क्षेत्रको व्यापार–व्यवसायसँगै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने निश्चित छ । विमानस्थलकै अभावमा कतिपय बाह्य पर्यटक यस क्षेत्रमा आउन रुचाउँदैनन् । यसबाहेक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि यस क्षेत्रका कतिपय कार्यक्रम अन्यत्रै लैजाने गरेको सुन्ने गरिन्छ । विमानस्थलको निर्माणपछि यो अवस्थाको अन्त्य हुने विश्वास गर्न सकिन्छ ।

त्यसकारण धरानमा चाँडो विमानस्थल निर्माणका लागि सबै क्षेत्रबाट पहल गर्नु आवश्यक छ ।अब धरानवासीको यो सपनालाई मूर्त रुप दिन धरान उपमहानगरपालिकाले सकारात्मक भूमिका खेल्नु आवश्यक छ । विमानस्थल निर्माणका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्नु आवश्यक छ । उमनपाले यसलाई प्राथमिकतामा राख्नुपर्छ । आपूmसँग भएको र स्थानीयबाट जग्गा जुटाएर उमनपाले यस कामलाई तदारुकताका साथ अघि बढाउनु आवश्यक छ ।

जग्गा अपुग भएमा काम अघि बढ्न नसक्ने निश्चित छ । जग्गाविना विमानस्थल निर्माण हुन सक्दैन । यसकारण जग्गा जुटाउने काममा अहिलेदेखि नै सक्रिय हुनु आवश्यक छ । विमानस्थल निर्माण प्रक्रिया अघि बढ्न नसकेकोमा सरकारको मात्र आलोचना गरेर हुँदैन । स्रोत जुटाइदिनु उमनपाको पहिलो कर्तव्य हुनुपर्छ ।