यसपालि हिउँद शुरु भइसक्दा पनि उपत्यकामा मात्र होइन, पूर्व क्षेत्रमा पनि लोडसेडिङको असर देखिएको छैन । लोडसेडिङ अन्त्यले सबैभन्दा बढी खुशी उद्योगी–व्यवसायीहरु भएका छन् । यही खुशीमा मोरङका उद्योगी–व्यवसायीहरुले त मङ्गलबार ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई भव्य स्वागत नै गरे ।

त्यस अवसरमा ऊर्जामन्त्री शर्माले पनि उद्योगी–व्यवसायीहरुलाई अब लोडसेडिङ नहुने आश्वासन दिए । नेपालको ऊर्जाको क्षेत्रमा यो एउटा सकारात्मक सङ्केत हो । हिउँदमा अधिकांश समय बिजुलीविहीन अवस्थामा बस्न बानी परेका सर्वसाधारण पनि अहिले दङ्ग परेका छन् र यसलाई निरन्तरता दिन आग्रह गरिरहेका छन् । औद्योगिक विकासविना देशको अर्थतन्त्रले गति नलिने निश्चित छ । रोजगारको सिर्जना गर्न पनि प्रशस्त उद्योगधन्दाको स्थापना हुनु आवश्यक छ र यसका लागि ऊर्जा सङ्कट नै मुख्य बाधक बनिरहेको यथार्थ स्पष्ट छ । ऊर्जा सङ्कटको स्थायी समाधान नगरी देशमा औद्योगिक विकास हुन सक्दैन । अहिले देशमा रोजगार नपाएर युवा जनशक्ति धमाधम विदेश पलायन भइरहेका छन् । उनीहरुलाई स्वदेशमै रोक्न पनि देशमै पर्याप्त उद्योगधन्दाको विकास हुनु आवश्यक छ । कृषि र जडिबुटीमा आधारित उद्योगधन्दाका लागि देशमा पर्याप्त स्रोत र आधार छन् । यसलाई सदुपयोग गर्न सके देशलाई परिवर्तनको दिशामा अघि बढाउन सहज हुने निश्चित छ ।

यसका लागि ऊर्जा सङ्कट अन्त्य हुनैपर्छ । यसका लागि मोरङका उद्योगी–व्यवसायीहरुले सरकारलाई केही सुझाव दिएका छन् । ऊर्जामन्त्री शर्माले पनि यसका लागि मन्त्रालयले विशेष योजनाहरु बनाएको जनाएका छन् । यसै योजनाअन्तर्गत जलविद्युत्सम्बन्धी ठूला परियोजनाहरु जनताकै लगानीमा निर्माण गर्ने तयारी थालिएको उनले बताए । स्पष्ट नीतिसहित अगाडि बढेमा सरकारलाई साथ दिन देशवासी तयार छन् । उनीहरुको विश्वास आर्जन गरेर सरकारले यसका लागि पहल गर्नु अपेक्षित छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मेहनतका कारण अहिले देश लोडसेडिङमुक्त भएको छ । भएकै विद्युत्को उचित व्यवस्थापनबाट यो सम्भव भएको हो । यसलाई असफल बनाउन कतिपय कर्मचारी नै सक्रिय भएका सूचनाहरु पनि आउने गरेका छन् । छानविन गरी त्यस्ता कर्मचारीहरुलाई आवश्यक कारवाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन । देशलाई स्थायी रुपमै लोडसेडिङमुक्त बनाउने हो भने सरकार दृढ इच्छाशक्तिसहित अघि बढ्नुपर्छ ।