वर्षायाम समाप्त भइसक्यो । मनसुनले औपचारिक रुपमै नेपाली आकाशबाट बिदा लिइसकेको छ तर त्यही वर्षायामले छाडेका पीडाका घाउहरु अहिले पनि नेपाली जीवनमा आलै छन् ।

कयौँ बाढीपीडित परिवार अहिले पनि घरबारविहीन अवस्थामा छन् । कतिपयले आफन्त र प्रियजन गुमाएका छन् । कतिपयले पहिरोमा आफन्त र घरबार गुमाएका छन् । उनीहरु अहिले पनि कष्टकर जीवन बिताइरहेका छन् । यस्तै अवस्थामा छन् मोरङका बाढीपीडितहरु । मोरङको नूनसरी खोलामा आएको बाढीले बाँध भत्काएपछि गत असार ७ गते मानव बस्तीमा पसेको खोला अहिले पनि पूर्ववत् स्थानमा फर्किएको छैन । मधुमल्ला–४ को धप्परटोल र ५ को बेतेनीको बाँध फुटाएर खोला बस्तीमा पसेको थियो । अहिले पनि खोला खेत र घरबारी भएको स्थानबाटै कुदिरहेको छ । बस्ती संरक्षणका लागि गरिएको प्रयास सफल हुन नसकेपछि स्थानीय अहिले आन्दोलित भएका छन् । स्थानीयले बाँध बाँध्ने प्रयास धेरैपटक गरे तर उनीहरुले खोलालाई छेक्न सकेनन् ।

जिल्ला विकास समिति र गाउँ विकास समितिको सहयोग पनि पर्याप्त हुन नसकेपछि उनीहरु अहिले असहाय भएर राज्यको मुख ताकिरहेका छन् । खोलाको सतह बस्तीभन्दा उँचाइमा भएपछि समस्या सिर्जना भएको हो । अब बाँध निर्माणबाट मात्र समस्याको समाधान नहुने निश्चित छ । फेरि पनि बाँध बाँधेर छाड्ने हो भने अर्को वर्ष समस्या दोहोरिने पक्का छ । यस कारण सरकारले दीर्घकालीन समाधानका लागि योजना बनाउनु आवश्यक छ । खोलाको सतह नघटाई दीर्घकालीन समाधान नहुने स्पष्ट छ । यसका लागि गिट्टी, बालुवा उत्खनन् गरेर खोलाको सतह घटाउने र बलियो तटबन्ध निर्माण गरेर वृक्षारोपण गर्ने काम आवश्यक देखिन्छ । यसो गर्न सकिएन भने बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन ।

आप्mना नागरिकहरुलाई वर्षेनी मृत्युको मुखमा होमेर त्यो हृदयविदारक दृश्य टुलुटुलु हेरिरहनु जिम्मेवार राज्यलाई शोभा दिँदैन । यस विषयमा राज्यको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ । राज्यले पीडित नागरिकको आवाज सुन्नैपर्छ । यो मोरङवासीको मात्र समस्या होइन। अधिकांश नेपाली नागरिकहरुको साझा समस्या हो । बाढी र पहिरोबाट देशका थुप्रै नागरिक वर्षेनी पीडित हुने गरेका छन् । वर्षायाममा मात्र यस विषयमा चर्चा गर्ने र हिउँदमा कानमा तेल हालेर बस्ने प्रवृत्तिले यो समस्याको दीर्घकालीन समाधान हुन सक्दैन । यसको दीर्घकालीन समाधानका लागि परिपक्व योजना बनाउनु आवश्यक छ । यसतर्पm सरकारको ध्यान जाओस् ।