ताप्लेजुङको सावादिन गाविसमा पहिरोले तमोर नदी थुनिएर नदी किनारका दुईवटा बजारसहित एउटा बस्ती जोखिममा परेका छन् । पहिरोले थुनिएर नदीले धार परिवर्तन गरेपछि यस्तो अवस्था सिर्जना भएको हो । नदी थुनिएर तालमा परिणत भएपछि नदीले धार परिवर्तन गरेको हो । अहिले खोक्लिङ गाविसको थुम्बा बेसीको बस्तीसहित तमोर किनारका हान्द्रुङ र दोभान बजार पनि जोखिममा परेका हुन् । बर्खा लागेपछि पहाडी क्षेत्रमा पहिरोको समस्या हरेक वर्ष दोहोरिने गर्छ । त्यस क्रममा कयौँको ज्यान जाने गरेको छ भने कयौँ परिवार घरबारविहीन हुने गरेका छन् । त्यसो त बर्खायाममा तराईमा पनि बाढीको प्रकोप देखिने गरेको छ । बाढीको कारण नदीले धार परिवर्तन गर्दा कयौँ बस्ती डुबानमा पर्ने समस्या नौलो होइन । यो क्रम वर्षैपच्छिे दोहोरिने गर्छ । त्यस्तो बेला केही समय सुरक्षित स्थलमा आश्रय लिएर फेरि पुरानै स्थानमा फर्किन पीडितहरु बाध्य हुने गरेका छन् । बाढी–पहिरोका कारण सर्वसाधारणको जीउधन असुरक्षित हुने र घरबारविहीन हुने अवस्था वर्षेनी दोहोरिने गरे पनि यसबारे राज्यले गम्भीरता देखाएको पाइँदैन । नदीहरुमा अध्ययन गरेर आवश्यक स्थानमा तटबन्ध निर्माण गरी मानव बस्तीलाई सुरक्षित बनाउन सकिन्छ भने पहिरोको जोखिममा रहेका बस्ती वा घरहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिन्छ । तर यसतर्पm सरकारको ध्यान जान सकेको छैन । सङ्कट सिर्जना भइसकेपछि पीडितलाई सामान्य राहत प्रदान गर्दा आप्mनो दायित्व पूरा भएको ठान्ने राज्यको मानसिकताले सर्वसाधारण नागरिक त्रासमा जीवन बिताउन बाध्य हुने गरेका छन् । आइतबार बिहान ताप्लेजुङको मितलुुङ बजारका बासिन्दा बजार छाडेर सुरक्षित स्थानमा सरे पनि पानीको सतह घटेपछि उनीहरु फेरि घर फर्किए । नदी थुनिएपछि सावादिन –१ का जीवन लबुङको एउटा घर डुबाएको छ । घरमा राति मानिस नभएकाले मानवीय क्षति भने हुन पाएन तर यस्तो अवस्था सधैँ हुँदैन । यसतर्पm सरकारको ध्यान जानु अपरिहार्य छ । आप्mना नागरिकको जीउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । दुर्घटना भइसकेपछि सक्रियता देखाउनुभन्दा दुर्घटना हुनै नदिनेतर्पm सरकारको प्रयास केन्द्रित हुनुपर्छ । अनि मात्र नागरिकले सरकार भएको अनुभूति गर्न पाउने छन् ।