भद्रपुर/ झापामा सनपाट खेती हराउँदै गएको छ । केही वर्षयताबाट सनपाटको खेतीलाई परिवर्तन गरी धान वा मकै लगाउन थालेपछि यो खेती लोप हुँदै गएको हो । अन्य खेतीभन्दा सनपाट झन्झटिलो र बढी मेहनत गर्नुपर्ने भएकोले परापूर्वककालदेखि गर्दै आइरहेको खेती अहिले थोरैमात्र जमिनमा लगाउँदै आएको सनपाट कृषक बताउँछन् ।

सनपाटको नेपालमा भन्दा भारतमा दोब्बर बढी मूल्य छ । नेपालमा प्रतिकिलो २० रुपैयाँ पर्ने तर भारतमा ४० रुपैयाँमा बिक्री हुने गरेको कचनकवल ३ डाँगीबारीका महेन्द्र राजवंशी बताउँछन् । पोखरीमा सनपाट सफा गरिरहेको अवस्थामा भेटिएका राजवंशीले खेती झन्झटिलो भएको बताए । १० वर्षदेखि केही बिघामा लगाउँदै आएको खेती हाल ३ कठ्ठामा लगाइएको उनले सुनाए । सनपाटभन्दा छिटो आम्दानी दिने बैगुन,टमाटर, कोपी लगाउँदा सजिलो हुने भएकोले सनपाटलाई आवश्यकताको लागि मात्र प्रयोग गर्दै आइरहेको उनले बताए ।

तयारी अवस्थामा आइपुग्न तीन महिना लाग्ने भएकोले पनि यो खेती गर्न मन मर्दै आएको जाङ्ठेल राजवंशीले बताए । व्यावसायिक नभई घर खर्चको लागि केही मात्रा लगाउँदै आएको उनले सुनाए । यो वर्ष २ कठ्ठामा खेती गरिएको उनले बताए । नून तेल खरिदका लागि र पूर्खाले गर्दै आएको खेतीलाई नछाडे पनि अबको सन्ततिले नगर्ने पक्का भएको उनले सुनाए । प्रति कठ्ठा १२ सय रुपैयाँ भन्दा माथि खर्च हुने उनले बताए । सनपाट लगाए पनि पोखरी नहुदाँ टाढासम्म बोकेर लैजानुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । खर्चअनुसार उत्पादन नहुने पनि उनले बताए । यहाँ सनपाट लिन भारतबाट नै व्यापारी आउने गरेको उनीहरूको भनाइ छ ।

सरकारले सिंचाइको सुविधा उपलब्ध गराएपछि पानी नपुग्ने जमिनमा समेत सनपाटभन्दा अन्य खेती लगाएका कारण पनि यो खेती लोप हँुदै गएको कृषकहरूको भनाइ छ । झापाको केचना, भद्रपुर, पृथीवीनगर, बनियानी, गौरीगञ्ज, शिवगञ्ज, कोहबरा लगायतका स्थानमा खेती गरिँदै आइरहेको पाइन्छ । सनपाट अभाव भएसँगै चौपाया बाँध्न र पिङका लागि चाहिने सनपाटसमेत पाइन छोडेको कमल गाउँपालिका ६ का कृष्णप्रसाद गौतमले बताए । कतै महङ्गो मूल्य तिर्दा पाए पनि डोरी बनाउने सीप नभएपछि पछिल्लो समय प्लाष्टिकका डोरीले बजार लिएको गौतमले बताए ।