इटहरी । लागूऔषध ओसार–पसार कारोबार तथा बिक्री वितरणमा कठोर बनेको कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेख्यरूपमा गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा सार्वजनिक प्रगति विवरणअनुसार प्रहरीले आ.व. २०८१/०८२ मा विभिन्न जिल्लाहरूबाट २६ हजार ७ सय ५० केजीभन्दा बढी गाँजा बरामद गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा तीन गुना बढी भएको जनाइएको छ । प्रहरीले अघिल्लो वर्ष ९ हजार केजीभन्दा बढी गाँजा बरामद गरेको थियो । प्रहरीले सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरबाट सो परिमाणको गाँजा बरामद गरेको जनाएको छ । 

गाँजासँगै ओसार–पसारमा संलग्न  २ सय ३५ पुरुष र २६ महिला पक्राउ गर्न सफल बनेको कोशी प्रहरीले जनाएको छ । नेपालको कानूनअनुसार गाँजाको खेती, कारोबार, ओसार–पसार तथा भण्डारणसम्मलाई अपराध मानिदै आएको छ । तर कोशी प्रदेशकै पहाडीभेगमा भने यसको पर्याप्त खेती हुने गरेको प्रहरी अनुसन्धानले देखाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोख्रेलले बताए । 

आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी सुनसरीबाट प्रतिबन्धित गाँजा बरामद भएको विवरणले देखाएको छ । सुनसरीबाट १२ हजार ३ सय ७५ केजीभन्दा बढी गाँजा बरामद भएको विवरणमा उल्लेख छ । त्यस्तै मोरङबाट ६ हजार ६ सय ५० किलो, धनकुटाबाट ४ हजार १ सय ९४ किलो, झापाबाट १ हजार ६ सय ५१ किलो र उदयपुरबाट १ हजार ८ सय १० किलो गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यही अन्तरालमा प्रहरीले गाँजा बोक्न प्रयोग गरिएका सवारी साधनसमेत नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । सो अवधिमा ओसार–पसारमा प्रयोग गरिएका ७७ वटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाँजा तस्करीमा सुनसरी ट्रान्जिट, गन्तव्य भारत 

कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा अहिले दैनिकजसो प्रतिबन्धित गाँजा बरामद भए पनि भित्रिने ट्रान्जिट पोइन्ट भने सुनसरी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । गाँजा ओसार–पसार गर्ने ट्रान्जिट सुनसरी बने पनि कारोबारी तथा तस्करहरूको गन्तव्य भने भारत रहेको प्रवक्ता एसपी पोख्रेल बताउँछन् । भारतका विभिन्न राज्यहरूमा गाँजाको माग अत्यधिक छ । त्यता यसको खेती, कारोबार तथा बिक्री वितरणमा बन्देज छ तर नेपालमा यसको पर्याप्त खेती नै छ । त्यही भएर यताबाट गाँजा उता तस्करी गरी लैजाने प्रयास गरिएको प्रवक्ता पोख्रेल बताउँछन् । नेपालमा प्रतिकेजी  १० हजारदेखि १५ हजार रुपैयाँसम्म गाँजाको बिक्री वितरण हुने गरेको पाइए पनि यही गाँजा भारतमा भने प्रतिकेजी ३५ हजारसम्ममा बिक्री वितरण हुने गरेकोले माग अत्यधिक हुने गरेको प्रवक्ता पोख्रेल बताउँछन् । प्रहरीको कडाइले धेरै गाँजा भारत पुग्न नपाएको प्रहरीको दाबी छ । 

तस्करको अनेकौं उपाय

गाँजा नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि तस्करहरूले ओसार–पसारमा अनेकौं युक्ति लगाउने गरेका छन् । बिरामी बोक्ने एम्बुलेन्सदेखि सब्जीको गाडी, दूधको गाडी, ट्याङ्कर, म्याजिक भेन, मोटरसाइकल र निजी कारमा समेत लुकाएर ल्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बर्खाको बेला धेरैजसो जलमार्गको समेत प्रयोग हुने गरेको केही घटना विवरणले देखाएको प्रहरीको भनाइ छ । तस्करहरूले अनेकौं उपाय लगाएर गाँजा ल्याए पनि प्रहरीले सबै विफल बनाउँदै बरामद गर्ने गरेको प्रवक्ता पोख्रेल बताउँछन् ।  

यता कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले अहिलेसम्मकै ठूलो परिमाणमा गाँजा नियन्त्रण हुनुलाई सफलता मानेका छैनन् । अब प्रहरीले नयाँ रणनीति ल्याउने उनको भनाइ छ । “अब ओसार–पसार गर्ने र बिक्री वितरण मात्र हैन, यसको खेती गर्नेलाई पनि कानूनी दायरामा ल्याउने तयारी छ”–डिआइजी कार्कीले भने । 

 खेती गर्नेलाई कारबाही

पूर्वी पहाडी भेगका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, भोजपुर, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लाहरूमा यसको व्यावसायिक खेती नै हुने गरेको छ । पहाडी भेगहरूमा गाँजाको खेती हुने गरेको पाइएको छ । ती ठाउँहरूको पहिचान भइसकेको छ, अब बोट नष्ट गर्ने र खेती गर्नेहरूलाई पनि कारबाही गर्ने डिआइजी कार्कीले बताए ।