पृष्ठभूमिः
देवीदेवताहरूले बसोबास गरेको पौराणिक, ऐतिहासिक, विजयपुर र विजयपुरपछिको आधुनिक शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन तथा व्यापारिक पूर्वाधार बहुसांस्कृतिक धरोहर केन्द्रका रूपमा चिरपरिचित एक सय पच्चीस वर्षको इतिहास बोकेको कोशी प्रदेशस्थित सुनसरी जिल्लाको उत्तरी भू–भागमा रहेको एउटा विकसित र चेतनशील नेवार जातिको ऐतिहासिक संस्कृति र संस्कार बोकेको प्राकृतिक सौन्दर्यले सुशोभित आधुनिक सहरको नाम हो धरान ।
धरान उपमहानगरपालिका वडा नं. १ लक्ष्मीसडकलाई विगत ५५ वर्षदेखि आप्mनो जीवनलाई कर्मभूमि बनाई विभिन्न आरोह–अवरोह पार गर्दै जीवनका सङ्घर्ष र भोगाइका प्रतिमूर्तिका रूपमा रही आप्mना कुलको श्रीवृद्धिमा तन, मन, वचन र धन लगाउनु हुने झीगु समाज धरानका पूर्व अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार, नेवाः देय् दबूका केन्द्रीय संस्थापक सदस्य, सिद्धिनेवाः परिषद्का सल्लाहकार, नेपाल भाषाका भाषा तथा संस्कृतिविद्, समाजसेवी तिनै युगपुरुषको नाम हो’ धरानका सौरभ एवम् विभूतिको नाम होः बालकृष्ण हलवाई राज कर्णिकार । जसले इतिहासको कालखण्डको एक युगमा गाउँ, समाज र राष्ट्रलाई नेवार जातिको संस्कृति संस्कार छोडेर गए । उहाँ धरानका ज्येष्ठ अग्रज नागरिक, साहित्यकार, संस्कृतिविद् हुनुहुन्थ्यो । भौतिकरूपमा आजको दिनमा केहीदिन अघि उहाँलाई निष्ठुरी कालले टपक्क टिपेर लग्यो, धरान स्तब्ध भयो ।
जीवनको पूर्वाद्धः
उहाँको जन्म नेपाल संवत् १०५९ दिल्लागा अष्टमी वि.सं.१९९५ साउन ८ गते शुक्रबार पिता अनन्तबहादुर हलवाई तथा माता न्हुछेमाया हलवाईको कोखरूपी गङ्गोत्रीबाट एकल पुत्ररत्नका रूपमा तत्कालीन पूर्व ४ नं. भोजपुर जिल्लाको व्यापारिक केन्द्र टक्सार बजारमा भएको थियो । ७ वर्षको कलिलो उमेरमा उहाँको पिताजीको देहान्त भई आमा र तीन दिदी बहिनीहरूको लालन पालन स्याहार सुसारमा हुर्की भोजपुर टक्सारको विद्योदय पब्लिक स्कुलमा प्राथमिक शिक्षाको अध्ययन गरी वि.सं.२०११ सालमा एस.एल.सी.उत्तीर्ण भई २०१३ सालमा टक्सारस्थित यशोधरा बालिका विद्यालयमा अध्यापन कार्यको थालनी गर्दै २०२१ सालमा दरबार हाई स्कुल काठमाडौँबाट आई.ए.उत्तीर्ण गरी बी.ए.सम्मको स्वाध्ययन गरी २०२६ सालसम्म प्रधानाध्यापक भए ।
यसै अवधिबीच २०१४ साल असारमा १९ वर्षको उमेरमा टक्सार बजारका साहु काजीलाल ताम्राकारको माइली छोरी लक्ष्मीदेवीसँग वैवाहिक सम्बन्धमा गाँसिई दुई छोरा राजीव र सञ्जीव (हाल स्वर्ग) र दुई छोरी गायत्री र सरिता गरी चारजना छोराछोरीहरूका अभिभावक भए ।
धरान आगमनः
निम्नमध्यम् वर्गको आर्थिक अवस्थाबाट गुजारा चलाउँदै केवल शिक्षक पेशाले मात्र जीवन धान्न गाह्रो भई देवी देवताहरूले बसोबास गरेको पौराणिक ऐतिहासिक विजयपुर र विजयपुरपछिको भौगोलिकरूपले पहाड र तराईको सङ्गम, पहाडसँग व्यापार गर्ने पूर्वाञ्चल क्षेत्रको व्यापारिक हरियाली सुन्दर नगरी धरानमा कर्मथलो बनाउन जन्मथलो टक्सारबाट २०२७ सालमा सपरिवार बसाइ सरी धरानमा स्थायी घरजम गर्न थाल्नुभयो । समयले जसलाई जुनबेला जहाँ लग्यो, त्यो जीवन यात्राको रथको पाङ्ग्रा पनि उतै गुड्दो रहेछ । सामाजिक प्राणी मानिसको अवधारणाले धरान आएर चुप लागेर नबसी आप्mनो संस्कृति, संस्कार र आर्थिक व्यापार व्यवसाय आदि मुख्यतः धरान पुरानो बजारको नेवार जातिको जातीय संस्थामा उहाँको नजर पर्यो । अनि भाषा संस्कृतितर्फ चासो बढ्दै गयो ।
झीगु समाजमा प्रवेशः
धरानमा आर्थिक व्यापार व्यवसायलाई अघि बढाउँदै २०१७ सालमा स्थापित नेवार जातिको जातीय संस्था ‘मृत्यु सहयोग समिति’ धरानको सदस्य भई २०३१ सालमा उहाँको प्रस्तावबाट मृत्यु सहयोग समितिबाट सर्वसम्मतले झीगु समाजको नामकरण भएको थियो । २०५४ सालमा आजीवन सदस्य भई सोही वर्ष उहाँ झीगु समाजको पहिलो पटक २०५४÷०५५ र २०५६ देखि २०६२ सम्म लगातार अध्यक्षको जिम्मेवारीमा रही सेवा गर्नुभई उहाँको कार्यकालमा समाजको तेस्रो तलाको निर्माण भई समाजको स्थापना दिवस पहिलो पटक २०६० आषाढ ६ गते शुक्रबार ४५औं वार्षिक साधारणसभा उहाँबाटै पानसमा दियो प्रज्वलित गरी समुद्घाटन भएको थियो । नेवार समुदायमा सामूहिकरूपले सङ्गठित भई बाँच्ने संस्कार यी क्रियाकलापहरूबाट छर्लङ्ग हुन्छ ।
उपत्यकाबाहिर पूर्वी नेपालको जेठो नेवार संस्थाको रूपमा स्थापित झीगु समाजले नेपाल संवत् ११३१, वि.सं.२०६७ पौष २४ गते शनिबार झीगु समाज धरान पचास वर्ष पुगेको शुभअवसरमा स्वर्ण महोत्सव मनायो । उक्त अवसरमा झीगु स्वर्ण स्मारिका ने.सं. ११३१, वि.सं. २०६७ प्रकाशन गरेको थियो । उक्त झीगु स्वर्ण स्मारिकाको प्रधान सम्पादक उहाँ बालकृष्ण हलवाई र सम्पादक यस लेखका पङ्क्तिकार नै रहेका थिए ।
नेवाःदेय दबूका संस्थापक सदस्य
काठमाडौंस्थित सिद्धार्थ वनस्थलीमा नेपाल संवत् १११५ कात्तिक महिनामा भएको दुईदिने नेवाः राष्ट्रिय विचार गोष्ठीको निर्णयअनुसार नेपाल संवत् १११६ मा नेवारहरूको राष्ट्रिय सङ्गठन नेवाः देय दबूको स्थापना भयो । त्यस सम्मेलनमा उपत्यकाभित्र र बाहिरका नेवार जातिका थुपै्र सङ्घ संस्थाहरूले भाग लिएका थिए । उपत्यकाबाहिर पूर्वी नेपालको झीगु समाज धरानबाट बालकृष्ण हलवाई र लक्ष्मीबहादुर हलवाईले प्रतिनिधित्व गरेका थिए । फलस्वरूप बालकृष्ण हलवाई नेवाः देय दबूका संस्थापक सदस्य र लक्ष्मीबहादुर हलवाई ने.सं. १११६ देखि ने.सं.१११९ सम्म संस्थापक पूर्वाञ्चल उपाध्यक्ष भए । त्यसले धरान संस्कृति र संस्कारमा अझ अघि बढ्दै गयो ।
आज नेवाः देय दबूको स्थापनाले देश विदेशका नेवारहरूमा समेत आप्mनो जातीय सङ्घ–संस्था स्थापना गर्ने संस्कृति र संस्कारको जागरण ल्याएको छ । हामी नेवार हौँ भन्ने भावना जगाएको छ । नेवाः देय दबूको सातौं राष्ट्रिय महाधिवेशन नेपाल संवत् ११४२ चिल्लागा एकादशी÷द्वादशी वि.सं.२०७८ चैत १४ र १५ गते नेवाः देय दबूका अध्यक्ष भाजु नरेश ताम्राकार र प्रमुख अतिथि संरक्षक भाजु मल्ल के. सुन्दरको प्रमुख आतिथ्यमा सिद्धि नेवाः परिषद् धरानमा भयो । यस कामको सुरु गराउने कामको श्रेय बालकृष्ण हलवाईलाई नै जान्छ ।
उहाँले करिब तीन दशक अघिदेखि नेपाल भाषाका साहित्य तथा पुस्तकहरू लेख रचना आदि लेख्दै आइरहेका छन् । तीमध्ये एक भाषा हराए जाति हराउने भने झैं नेपाल भाषा जान्न चाहनेहरूका लागि २०६९ सालमा प्रकाशित ‘नेपाली नेवा भाषा शब्दावली हुन्’ । जसलाई नेपाल भाषा एकेडेमीका कुलपति सत्यमोहन जोशीले शुभकामना मन्तव्य दिएका छन् । समाजसेवी एवम् धर्मप्रेमी हलवाईले २०६५ सालदेखि धरानको पुरानो अस्पतालमा आश्रित असहाय विकलाङ्ग बाल बालिकाहरूलाई दैनिक खाद्यान्न जुटाउन सहारा समूहका दाताहरूसँग सहयोग सङ्कलन गर्ने पुण्य कार्यमा लाग्नुभयो ।
धरानका स्थानीय सामाजिक धेरै सङ्घ–संस्थाहरूमा आबद्ध भएका समाजसेवी आध्यात्मप्रेमी बालकृष्ण हलवाई फुर्सदको समयमा दशकौंदेखि आप्mनै घरमा ईश्वर भजनकीर्तन हार्मोनियम, मादल, बाँसुरी बजाएर सुन्दर र मन छुने भजनहरू साँझपख गाउने गर्थे । नेवाः देय दबू सुनसरी धरानले आयोजना गरेको राष्ट्रिय जनगणना सचेतना तथा सम्मान कार्यक्रममा नेवाः देय दबू केन्द्रीय समितिका अध्यक्ष नरेश ताम्राकारले संस्कृतिविद् बालकृष्ण हलवाईलाई २०७७ पौष १९ गते सम्मान–पत्रसहित दोसल्ला तथा नेवारी समुदायले लगाउने फेटा गुथेर धुलिखेल समाज धरानमा सम्मानित गरिएको थियो ।
जीवनको उत्तराद्र्धः
जीवनका थुपै्र उकाली ओराली र भोगाइहरू पार गर्दै जीवनको उत्तराद्र्धमा दुई–अढाई वर्ष अघिदेखि अस्वस्थ भई उपचारकै क्रममा २०८२ वैशाख १२ गते शुक्रबार साँझ ८ बजे ८७ वर्षको उमेरमा हामी सबैलाई छोडी परमधाम हुनुभयो । ‘कीर्तियस्य स जीवति’ अर्थात् उहाँको पञ्चभौतिक शरीर नाश भएर गए पनि उहाँले छोडेर गएका सुकीर्तिहरू पूर्ववत् प्रज्वलित भइरहनेछन् । आज त्यस्ता व्यक्तिको अनुपस्थितिबाट राष्ट्रलाई ठूलो क्षति भएको तथ्य सबैले महसुस गरेको विषय हो भन्ने लाग्दछ । उनको भौतिक शरीर नरहे पनि धरानको आकाशमा सौरभको रूपमा तारा झैँ चम्किरहनेछन् । पितृ देवो भवः ।
(कर्माचार्य ‘धरानका सौरभ’ नामक पुस्तकका लेखक तथा झीगु समाजका सल्लाहकार हुन् ।)