धरान । सङ्खुवासभाका गोपाल भण्डारी खसीबाख्रा बिक्री गर्न धरान आइपुग्छन् । उनी पहिलो पटक भने आएका होइनन् । धरानको कृषिउपज बजारस्थलमा नियमित आइपुग्ने कृषक साथै व्यापारी हुन्, उनी ।

धरानमा हरेक शुक्रबार खसीबाख्रा बजार लाग्ने गरेको छ । त्यसका लागि उनी बिहीबारै धरान आइपुग्ने गरेका छन् । उनका अनुसार गाउँघरबाट बिक्रीका लागि धरान नै आउनुपर्ने बाध्यता रहेको छ । उनले १५ वर्षअघिदेखि सङ्खुवासभामा फारम खोलेर खसीबाख्रा पाल्न थालेका हुन् । ‘गाउँमै केही गरौँ भनेर खोलियो’ उनी भन्छन्, ‘विदेशतिर पनि जान मन लागेन ।’ उनी आफ्नो फारमको मात्रै खसीबाख्रा ल्याउँदैनन् । गाउँघरतिरका खसीबाख्रा पनि भेला पारेर ल्याउँछन् । उनी भन्छन्, ‘घरकै मात्र ल्याउँदा त भाडा नै थेगिसक्नु हुन्न । एकैचोटी भेला पारेर ल्याउने गरेको छु ।’

गाउँघरमा राम्रो बजारीकरण नहुँदा खसीबाख्रा सङ्कलन गरेर ल्याउने गरेको उनले सुनाए । ‘गाउँमा बिक्री हुँदैन, बजार छैन । अनि बाध्य भएर धरान नै झार्नु पर्छ’–उनले भने । उनका अनुसार गाउँबाट एकपल्टमा ३५ देखि ४० वटासम्म खसीबाख्रा ल्याउने गरेका छन् । पहाडका खसीबाख्राको माग तराईमा धेरै हुने गरेको छ । उनका अनुसार पहाडीभेगमा पालिएका खसीबाख्राको मासु स्वादिलो हुने भएकाले यतातिर माग बढी हुने गरेको छ । उनीमात्रै हैन, धनकुटाकी बिना श्रेष्ठले पनि विगत १२ वर्षदेखि धरानको कृषिउपज बजारस्थलमा बाख्रा बिक्री गर्न ल्याउने गरेकी छिन् । उनले बाख्रा पालेरै आफूले पाँच जनाको परिवार चलाउने गरेको सुनाइन् ।

‘बाख्राबाट राम्रो आम्दानी हुन्छ । तर, बजार टाढा हुँदा खर्च नै धेरै हुन्छ । कहिलेकाहीँ भनेजस्तो मूल्य नपाउँदा हैरान भइन्छ’ –उनले भनिन् । उनले पनि बिहीबार नै खसीबाख्रा लिई धरान आइपुग्ने गरेको सुनाइन् । कृषिउपज बजारस्थलले विगत चार वर्षदेखि टाढाबाट आउने कृषक तथा व्यवसायीहरूलाई बास बस्ने सुविधा प्रदान गरेको छ । एक सय रुपैयाँमा कोठाहरू उपलब्ध गराउने गरेको छ ।

नेपाल आर्मीबाट अवकासप्राप्त भोजपुरका श्याम श्रेष्ठले पनि अहिले खसीबाख्रा पालन गर्दै आएका छन् । उनले यसैलाई पेशा बनाएका छन् । गाउँघरबाट बाख्रा सङ्कलन गरेर एकपटकमा ४५ वटासम्म धरान ल्याउने गरेको उनी सुनाउँछन् । ‘आर्मीमा भन्दा यता धेरै राम्रो छ’–उनी भन्छन् । उनले खसीबाख्रामा खट्नसके राम्रो आम्दानी हुने बताउँछन् । तर, शुक्रबारको बजारमा बिक्री हुन नसकेका खसीबाख्राहरू भने अन्य दिन सस्तोमा बेचेर हिँड्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनका अनुसार असोजदेखि फागुनसम्म खसीबाख्राको व्यापार राम्रो हुने गरेको छ ।

कृषि बजारका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार पहाडी जिल्लाबाट मासिक १२ हजारको हाराहारीमा खसीबाख्रा आउने गरेको छ । तर, बजारमा आर्थिक मन्दीका कारण अहिले खसीबाख्राको मूल्य विगतको तुलनामा घटेको छ । उनका अनुसार धरानको कृषि बजारमा पहाडका धनकुटा, राजारानी, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुमलगायतका क्षेत्रबाट खसीबाख्रा आउने गरेको छ । यहाँबाट तराईका इटहरी, विराटनगर, झुम्का, इनरुवा, लाहान, दमक, भन्टाबारी, मोरङ र भारतसम्म खसीबाख्रा जाने गरेको उनले बताए ।