कोसी नदीको समग्र आयामलाई पर्यटनसँग जोडेर स्थानीय विकास गर्ने सवाल बारम्बार उठ्छ । तर, तीनै तहका सरकारले कोसी नदीमा आधारित पर्यटनको विकास गर्न ठोस काम अघि बढाएका छैनन् । सरकारको पूर्वाधार प्रोत्साहनबिनै व्यवसायीले कोसी नदीमा आधारित पर्यटनको विकासका लागि लगानी गरिरहेका छन् । 

बराहक्षेत्रको चतराघाट र उदयपुर बेलकाको कोठु जोड्ने सप्तकोसी नदीमा पक्की पुल निर्माण भएपछि यो क्षेत्र आन्तरिक पर्यटनको गन्तव्यका रुपमा विकास भइरहेको छ । यहाँ लाखौं, करोडौं लगानीमा होटलहरु खोलिएका छन् । चतराघाट क्षेत्रमा दर्जन बढी होटल सञ्चालनमा आएका छन्  भने कोठु क्षेत्रमा त्यत्तिकै सङ्ख्यामा होटल रिसोर्ट सञ्चालनमा आएका छन् । 

पछिल्लो पटक सप्तकोसी पुल उत्तरपट्टी कोसी किनारमा झण्डै ५० लाखको लगानीमा दुई युवाले 'द रिभर बीच रिसोर्ट' नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन् । वैदेशिक रोजगारको मोह त्यागेर सामाजिक र राजनीतिक काममा लागेका ४० वर्ष नकाटेका यी युवा कोसीको बगरमा व्यावसायिक सम्भावनाको खोजी गरिरहेका छन् । 

उमेरले दामली दुई युवा जीवन्त राई (३०) र हिराजङ राई (३३) ले स्थानीय स्रोत साधनको जोहो गरी  मौलिक पारामा खानाका परिकार पस्कने र रातै बस्ने गरी आउने पर्यटकलाई स्वागत गर्न संरचना निर्माण गरेका छन् । 

'हाम्रै उमेरका साथीहरु वैदेशिक रोजगारको सम्भावना बोकेर परदेश उडिरहेका छन्, हामी गाउँमै सम्भावना खोज्न लागेका छौं,' जीवन्त भन्छन्, 'व्यवसाय हो, सफलता र असफलताबीचमा रहेर निरन्तर सङ्घर्ष गर्नै पर्छ, असल कर्म गरे सफलता पाइन्छ नै ।' 

गत स्थानीय तहको निर्वाचनमा बेलका नगरपालिका- ८ को वडाध्यक्षको उम्मेदवारसमेत रहेका जीवन्त उद्यमशीलताबिना राजनीति सफल नहुने बताउँछन् । गाउँघरमै उद्यमशीलताको सिलसिला विकास गर्न आफूहरुको काम उदाहरणसमेत सावित हुनेमा जीवन्त विश्वस्त छन् । 

राज्यले रोजगार प्रवर्धनको नारा लगाउने र नीति कार्यक्रममा उल्लेख गर्ने गरे पनि व्यवहारिक कार्यान्वयन तल्लो तहदेखि नै निराशाजनक रहेको अर्का रिसोर्ट सञ्चालक हिराजङ बताउँछन् । स्थानीय राजनीतिकमा सक्रिय रहेका हिराजङ नेकपा एमालेका बेलका नगरका सचिव हुन् । उनले प्रत्येक 'प्लेटफर्म' मा बेलकाको पर्यटन प्रवर्धनमा आवाज उठाएको बताउँछन् ।

'कोसी नदीको पर्यटनलाई राज्यले आत्मसात गर्ने हो भने कोसी नदी आसपासका सुनसरी र उदयपुर, धनकुटा, भोजपुरलगायत जिल्लाका प्रत्येक युवा स्वरोजगार बन्नेछन्,' हिराजङ भन्छन्, 'हामीले एउटा प्रयत्न सुरु गरेका छौँ, कोसी नदी क्षेत्रको सौन्दर्यीकरण गरेर आतिथ्य पर्यटनका लागिमात्र युवालाई प्रशिक्षित गराउने र राज्यले व्यवसाय गर्ने वातावरण मिलाइदिने हो भने हामीजस्ता युवा विदेशिनु पर्दैन ।' 

जीवन्त र हिराजङले जस्तै कोसी नदीमा आधारित रहेर पर्यटनको विविध पक्षमा नीजी स्तरबाट स्थानीय युवाले काम गरिरहेका छन् । दर्जन बढी जेटबोट र मोटरबोट यही क्षेत्रमा सञ्चालित छन् । प्याराग्लाइडिङ, एटिभी राइडिङ, जङ्गल जीप सफारीजस्ता सहासिक खेलको सुरुवात यहाँका युवाले गरेका छन् । 

जेटस्की, फ्लाइबडी, प्यारासाइलिङजस्ता सहासिक खेलको सम्भावनासमेत यहाँका युवाले देखेका छन् । छिमेकी मुलुकमा समुद्र किनारको सौन्दर्यीकरण देखेर आएका युवाहरुले राज्यले आफ्नो देशमा काम नगरेको गुनासो बारम्बार गर्छन् । 

'राज्यले कोसी नदीको सम्भावना राष्ट्रियस्तरमासमेत लानसकेको जस्तो लाग्दैन, सरकारले लगानी सम्मेलन गर्छ, कोसीको पर्यटनको मात्रै सम्भावना उजागर गर्ने हो भने आन्तरिक र बाह्य लगानी अवश्य भित्रन्छ ।' पर्यटन नै समृद्धिको आधार रहेको जोड दिंदै जीवन्त भन्छन् ।