कोसी नदी किनारको घाँसे मैदानमा बुरुक्क उफ्रिंदै, लुक्दै फेरि उफ्रिंदै लुक्दै गर्ने हाँसजस्तै देखिने हराउँदै गएको चरा 'खर मजुर' कसरी जोगाउने ?, विज्ञहरुलाई ठूलो चिन्ता परेको छ ।

विज्ञका अनुसार प्रजनन समयमा खर मजुरको भालेले पोथीलाई आकर्षित गर्न यस्तो ‘कला’ देखाउने गर्छ । 'समुद्रमा डल्फिन उफ्रेको पारखीले सजिलै  हेर्न सक्छन् तर घाँसे मैदानमा खर मुजुर उफ्रेको हेर्न भाग्य चाहिन्छ ।' बर्खा लाग्नुभन्दा अघि गर्मी याममा कोसी किनारामा देखिने यो चराको संरक्षण गर्दै सङ्ख्या बढाउन सके जैविक विविधता र पर्यटनमा कोसी नदी क्षेत्रमा ठूलो आयाम थपिने विज्ञहरुले बताएका छन् ।

कोसीटप्पु वन्यजन्तु आरक्ष आसपास उत्तरमा बराहक्षेत्र र बेलकाका घाँसे मैदानमा पाइने चरा 'खरमजुर' को संरक्षण गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । 

घाँसे मैदानमा भुइँमा नै गुँड लगाउने विश्वमै अतिदुर्लभ मानिएको र अति सङ्कटापन्न सूचीमा समावेश 'खर मजुर' संरक्षणका लागि बराहक्षेत्रमा अभियान थालिएको छ ।

बराहक्षेत्र- २ स्थित सगरमाथा युवा क्लबले लोपोन्मुख चरा खर मजुर संरक्षणका लागि समुदायको भूमिकाबारे 'खरमजुर संरक्षणसम्बन्धि जनचेतनामूलक कार्यक्रम- २०८१' औपचारिक कार्यक्रम आयोजना गरेको छ । 

जनचेतना कार्यक्रममा स्थानीय स्तरमा रहेका संघसंस्थासँग सहकार्य गरेर संरक्षणको कामलाई अगाडि बढाइएको संरक्षणकर्मी विमल तिम्सिनाले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष युवराज भट्टराईले घाँसे मैदानमा बस्ने दुर्लभ चराको संरक्षण गर्न डढेलोलगायत चोरी सिकारीको नियन्त्रण गर्न समुदायस्तरबाट लागिपर्नुपर्ने बताए । कोसीटप्पु क्षेत्रको कोसी नदी किनारको घाँसेमैदान, आरक्षको पथरी, भागलपुर, सिसौलीघाट र प्रकाशपुरक्षेत्रमा एक महिना अगाडि खर मुजुरको गणना गरिएको थियो । ३० जना चरा विज्ञ तथा संरक्षणकर्मीहरूको सहभागितामा एक हप्ता लगाएर गरिएको गणनापछि हिमाली नेचर संस्थाले समुदायमा खर मजुरबारे जनचेतनाका कार्यक्रम अघि सारेको हो । 

घाँसे मैदानमा बच्चा कोरल्ने र हिउँदमा सीमसार क्षेत्रको मैदानमा बस्ने चरा प्राकृतिक र मानवीय विनासका कारण लोप हुँदै गएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । 

घाँसे मैदान घट्दै जानु र प्राकृतिक रूपमै भालेको सङ्ख्या बढी र पोथीको सङ्ख्या कम हुँदै जाँदा लोपोन्मुख खर मजुरको सङ्ख्यामा कमी आएको डा. बरालले बताए ।

गत वर्ष कोशी टप्पुमा २३ वटा मात्र खर मजुरको भएको तथ्याङ्क सार्वजनिक  गरिएको थियो । खेतबारीमा प्रयोग गर्ने विषादीका कारण मरेका किरा फट्याङ्ग्रा खाएर चराहरूको प्रजनन क्षमता कमजोर हुँदै गएकाले खर मजुरको सङ्ख्या घट्दो अवस्थामा पुगेको संरक्षण कर्मीहरूले बताउँदै आएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पाइने खर मुजुर लोप हुँदै गएपछि हिमाली नेचर संस्थासँगै बेङ्गाल फ्लोरिकन प्रोजेक्ट, कन्जर्भेसन लिडरसीप प्रोग्राम, फौना एण्ड फ्लोरा इन्टरनेश्नल, बर्ड लाइफ डब्ल्यूसीएस, केबीलगायतका संस्था र अभियानले खर मजुर संरक्षणमा चासो देखाउँदै आएका छन् । अभियानले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जोडिएका बस्तीहरूमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

विज्ञका अनुसार संसारभर दुई उप‍प्रजाति भेटिएको खर मजुर कोसीटप्पु आसपास  बराहक्षेत्र र बेलकामा पाइन्छ । दक्षिण पूर्वी एसियाका नेपालको तराईमा अवस्थित नदी किनारका घाँसे मैदान र भारतको ब्रह्मपुत्र नदीको किनारमा साथै कम्बोडियामा यो चरा पाइएको छ । अङ्ग्रेजीमा 'बेङ्गाल फ्लोरिकन' भनिने यो चरा झण्डै १ सयको सङ्ख्यामा रहेको तथ्याङ्क छ । 

नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पन्छीको रुपमा अनुसूची १ मा सूचीकृत गरेको छ भने 'साइटिस'ले पनि अनुसूची १ मा नै समावेश गरेको छ |