अहिलेको राजनीतिक घटनाक्रम जसरी विकसित भैरहेको छ, त्यसमा प्रचण्ड कमजोर र निरीह बन्दै गइरहेका छन् । रवि लामिछानेको विषयमा जोडिएको सहकारीको सन्दर्भमा छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने काङ्ग्रेसको अडान यथावत् छ भने अर्को तिर काङ्ग्रेसले आत्महत्या गर्छु भने पनि छानबिन समिति बन्दैन भनेर एमालेले भन्न थालेको छ ।

यस्तो चेपुवामा प्रचण्ड परेका छन् । यसरी संसद् अवरुद्ध भइरहँदा सरकारमा सम्मिलित दल एमालेको रवि लामिछाने सन्दर्भको रणनीति भने सरकारको नेतृत्व लिन पुगेका प्रचण्डलाई असफल बनाएर सरकारबाट बहिर्गमन गराउने रहेको देखिन्छ । त्यो बहिर्गमन पनि राजीनामा गराउने बाध्यात्मक अवस्थामा पु¥याएर नै छाड्ने एमालेको अहिलेको प्रस्तुतिबाट देखिन्छ । अहिलेको गठबन्धन छोडेर माओवादी काङ्ग्रेससँग गठबन्धन गर्ने अवस्था पनि काङ्ग्रेसमा देखिँदैन ।

काङ्ग्रेसभित्र डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्षले माओवादीसँगको गठबन्धनको सुरुदेखि नै विरोध गर्दै आइरहेको छ । यो समूहभित्र संस्थापनभित्रकै केही सांसद् डा. शेखरको यो विचारमा सहमति राख्न थालेका छन । 

 डा. शेखरले काङ्ग्रेसभित्र मात्रै हैन, माओवादी र एमालेलगायत अन्य दलभित्र पनि आफ्नो निर्णायकत्व भारी पार्दै आएका छन् । काङ्ग्रेसमा अबको नेतृत्व शेखरको हातमा देख्दैछन् । यस्तो परिस्थितिमा प्रचण्डसँग काङ्ग्रेसको कुनै हालतमा गठबन्धन नहुने आँकलन गरेर नै केपी ओलीले रवि लामिछानेको विषयमा सरकारमा सम्मिलित दल भए पनि प्रधानमन्त्रीको भन्दा फरक विचार प्रस्तुत गर्दै आइरहेका छन् ।

एमाले छानबिन समिति कुनै हालतमा बन्न नदिने र काङ्ग्रेस छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने मौजुदा अवस्थामा प्रधानमन्त्री प्रचण्डको सरकार चेपुवामा पारेर असफल पार्दै राजीनामा गराउन बाध्य पार्ने अवस्था पैदा गर्ने पक्षमा एमाले छ । 

एमालेले माओवादीसँगको गठबन्धन भङ्ग गर्न चाहँदैन । नचाहनुको कारण भोलि जनतामा एमालेले धोखा दियो भन्ने ठाउँ नरहोस् भनेर नै प्रचण्डलाई राजीनामा गराउने परिस्थिति निर्माण गर्नु नै एमालेको राजनीतिक उद्धेश्य देखिन्छ ।

राजनीतिक घटनाक्रम यसरी अगाडि बढिरहँदा सरकार बनाउने खेल फेरि सुरु हुने । अब सरकार बन्दा नयाँ समीकरण अर्थात् नयाँ गठबन्धन हुनेछ । नयाँ गठबन्धन भनेको एमाले र काङ्ग्रेसको हुनेदेखिन्छ । यस्तो गठबन्धन अहिले काङ्ग्रेसभित्र डा. शेखरले उठाएको विचार नै स्थापित हुने आँकलन गरिँदै गर्दा यस्तो गठबन्धन हुनेछ भन्नुपर्ने हुन्छ । 

केही दिनपूर्व एक अन्तरवार्तामा डा. शेखरले संसदीय दलमा पनि आफ्नो बहुमत पुग्ने अवस्था विकसित हुँदै गएको बताउँदा र नयाँ गठबन्धन बन्ने परिस्थिति निर्माणले भोलि अब बन्ने गठबन्धन सरकारको नेतृत्व डा. शोखरले गर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था डा. शेखरले उठाएको संविधान संशोधन त्यसमा भएका जटिलताहरू निर्वाचन प्रक्रिया समानुपातिक विषय नै हुन् ।

आफ्नो नेतृत्वमा जुन सहजता उनलाई हुन्छ, त्यो एमालेको नेतृत्वमा नहुन सक्छ । एमालेको नेतृत्वमा सरकार हुँदा भोलि यदि संविधान संशोधनको मुद्दा ओझेलमा प¥यो भने  डा. शेखरको सत्तामा पुग्ने सिँढी रैछ संविधान संशोधनको कुरा भनेर जनताले नभनून् यो चिन्ता डा.शेखरले गम्भीरतापूर्वक लिएका जस्तो लाग्छ र लिनु पनि पर्छ ।

काङ्ग्रेसमा देउवा विचार विस्थापित हुँदै

काङ्ग्रेसमा शेरबहादुर देउवा कमजोर हुँदै गइरहेका छन् । माओवादीसँग गठबन्धन भङ्ग भएसँगै उनी कमजोर हुन थालेका हुन् । उनका वरिपरि रहेका र उनका सल्लाहकारले समयानुकूल राजनीतिक सल्लाह नदिँदा देउवामा विपरीत राजनीतिक परिस्थिति हात लाग्न थालेको हो । एमाले–माओवादी गठबन्धन भङ्ग गरेर अर्को गठबन्धनको तयारीमा लागेका देउवा जसपाको पार्टी विग्रहपछि तुहियो । 

जसपा पार्टी फुट्नु अमेरिकी दूतावास या प्रचण्डलाई दोष लगाए पनि यो खेलभित्र केपी ओली छन्÷छैनन् भने पनि सबैभन्दा फाइदा एमालेलाई छ । एमाले कुनै पनि हालतमा यो गठबन्धन सहज तरिकाले अर्को कुनै दलसँग गठबन्धन होस् यो चाहँदैनन् । देउवाले अन्य दलसँग मिलेर गर्ने भनिएको गठबन्धन प्रत्यक्ष अप्रत्यक्ष केपी ओलीबाट तुहियो !

डा .शेखरले  देउवाबाट हुने कुनै पनि गठबन्धन रुचाउँदैनन् र त्यसको सहयोगी भूमिका केपी ओलीबाट भयो ! डा. शेखरको एमाले र काङ्ग्रेस गठबन्धनको सरकारको परिकल्पना जसपा पार्टी फुटले अझै जीवित देखिएको छ । यो अभियान जीवित रहुन्जेल मनोवैज्ञानिकरूपबाट देउवाको विचार, नीति र रणनीति  कमजोर हुँदै गर्दा त्यो कमजोरी उनकै नेतृत्वमा रहेको दल काङ्ग्रेसभित्र पनि त्यसको छायाँ पर्दै गएको छ । यो छायाँभित्र एक्लो देउवा मात्र हैन, पूरै संस्थापनपक्ष पनि परेको छ र यसरी संस्थापनको विचार, नीति र रणनीति ‘वन्साइ’ मा परिणत हुँदै गएको छ ।