विराटनगर । विराटनगरमा रहेका ठूला अस्पतालअगाडिका फार्मेसीले लाँदै नलगेको औषधि ‘प्रेस्क्रिप्सन’ मा देखाएर बिरामीलाई ठगी गरेको पाइएको छ ।

विराटनगर–१० न्यूरो हस्पिटलअगाडि रहेको दिलाबर फार्मेसीले बिरामीले लाँदै नलगेको महँगो औषधि बिलमा चढाएर ठगी गरेको पाइएको हो ।

दिलाबर फार्मेसीले एक भाइलको १ हजार ६ सय ५० रुपैयाँ पर्ने ‘सिस्ट्रा’ इन्जेक्सन चिकित्सकले प्रेस्क्रिप्सनमा नलेखिदिए पनि बिलमा चढाएर पैसा लिएको प्रमाण भेटिएको छ । उक्त फार्मेसीले २८ फागुन २०८० मा चिकित्सकले लेखेको प्रेस्क्रिप्सनमा उल्लेख नभएको २० भाइल सिस्ट्रा इन्जेक्सन नगदी बिलमा इन्ट्री गरेर ३३ हजार २४ रुपैयाँ ठगी गरेको पाइएको छ ।

सो फार्मेसीबाट भारतको ग्राम हरिपुर–६ का ८० वर्षीय शेख नइम ठगिएका हुन् । उनी २६ फागुनमा सवारी दुर्घटनामा परी न्यूरो अस्पतालमा भर्ना भएका थिए । उनले उपचारमा आवश्यक पर्ने औषधिहरू हस्पिटलअगाडिको दिलाबर फार्मेसीबाट लिने गरेका थिए । हस्पिटलबाट डिस्चार्ज हुँदा उपचार गरेको हस्पिटलको भन्दा फार्मेसीको महँगो बिल आएपछि उनी अचम्ममा परे । २ लाख ५० हजार बढीको फार्मेसीको बिल आएको थियो । ‘यति धेरै बिल आएपछि अचम्ममा परेँ’ बाबुको उपचार गराउन आएका छोरा नैचर समसादले भने, ‘पछि हस्पिटलले दिएको प्रेस्क्रिप्सन र फार्मेसीले दिएको नगदी बिल भिडाएर हेर्दा महँगो इन्जिेक्सन सिस्ट्रा इन्ट्री गरेर रकम असुली गरेको पत्ता लाग्यो’ उनले दिएको निवेदनमा भनिएको छ, ‘यसरी बिरामी ठगी गर्ने फार्मेसीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

बाबुको उपचारमा ४७ वटा बिल फार्मेसीले दिएको छ । एउटा बिलमा चेक गर्दा ३० हजार ठगी भएको पत्ता लागेको हो । अन्य बिल चेक गरेमा अरूमा पनि ठगिएको हुनसक्ने बिरामीको आशङ्का रहेको छ । प्रहरी प्रशासनले ठगी गर्ने फार्मेसीविरुद्ध छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने बिरामीको माग छ । यता फार्मेसीका सञ्चालक मो. दिलावरले काम गर्ने क्रममा ‘मिस्टेक’ भएको बताए । ‘फार्मेसीलाई बढी दिएको पैसा बिरामीलाई फर्ता दिने कुरा भएको छ’ उनले भने, ‘बिरामी बुधबार सम्म आउने कुरा छ । आएपछि हामी त्यो पैसा फिर्ता दिनेछौँ ।’

यसअघि पनि परिमाण र औषधिमा बढी मूल्य हालेर विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडिको फार्मेसीले बिरामीलाई खुलेआम ठगी गरेको पाइएको थियो । ०८० साल जेठमा चिरञ्जीवी फार्मेसीले मोरङको कटहरी गाउँपालिका–१ घर भएका विकेश सरदारलाई ठगी गरेको थियो ।

हस्पिटलभित्रका फार्मेसीलेभन्दा सस्तो र छुट बढी दिने लोभले बाहिरको फार्मेसीबाट औषधि खरिद गरेका उनी चिकित्सकले डिस्चार्ज दिएका दिन प्रयोग भएका औषधिको बिल फार्मेसीले दिए पछि उनी तीन छक्क परे । फार्मेसीले दिएको बिलमा औषधिको परिमाण र मूल्य बढी हालेको शङ्का उनलाई भयो । ठगीमा परेको शङ्का लागेपछि उनले त्यहीँ अगाडिको अर्को फार्मेसीमा गएर बुझ्दा मूल्य र परिमाण बढाएको देखियो ।

नियामक निकाय मौन
यी दुई घटना कमाउधन्दामा लागेका फार्मेसीले कसरी बिरामी ठगी गर्छन् भन्ने प्रतिनिधिमूलक घटना हुन् । अहिले चाँडै पैसा कमाउने धन्दामा लागेका केही फार्मेसीले बिरामीले लाँदै नलगेको औषधि बिलमा चढाउने, औषधिको परिमाण बढाउने र सर्जिकल सामानमा बढी मूल्य हालेर बिरामीमाथि ठगी गर्ने गरेको एकपछि अर्को गर्दै घटनाहरू बाहिर आउने गरेका छन् । औषधिजन्य वस्तुको अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभाग र बिरामीसँग बढी मुल्य लिएको जानकारी पाए अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय हो । तर, अनुगमनको जिम्मेवारी पाएका यी नियामक निकायहरू नै मौन बसिदिँदा ठगीधन्दा फस्टाएको छ ।

नियामक निकाय औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले बढी मूल्य लिएर ठगी गरेको घटना विभागले नहेर्ने भन्दै पन्छिए । ‘बढी मूल्य लिएर ठगी गरेको घटना विभागले हेर्दैन’ उनले भने, ‘कालोबजारीतिर जाने भएकोले यो घटना प्रशासनले हेर्ने गर्दछ ।’

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बढी मूल्य लिएर ठगी गरेको पाइए कारबाहीको दायरामा ल्याउने बताए । ‘चिकित्सकले सिफारिस नगरेको औषधि राखेर बिक्री गर्न पाइँदैन । तोकिएको मूल्यभन्दा बढी रकम लिन कसैले पनि पाउँदैन । यदि बढी मूल्य लिएर ठगी गरेको पाइए कारबाहीको दायरामा ल्याउनेछौँ’–उनले भने ।

फार्मेसीको संस्था नेपाल औषधि व्यवसायी सङ्घ मोरङका अध्यक्ष देशबन्धु ढकालले बिरामी ठगी गरेको पुष्टि भए त्यस्ता फार्मेसीलाई नियामक निकायले कारबाही गर्नुपर्ने बताए । ‘हामीले व्यवसायीहरूलाई पटक–पटक भन्दै आएका छौं । मर्यादित र स्वच्छ तरिकाले व्यापार व्यवसाय गर्न भन्दै आएका छौँ’ अध्यक्ष ढकालले भने, ‘यदि अटेर गरी मनलाग्दीरूपमा बिरामी ठगी गरे त्यस्ता फार्मेसीलाई कारबाहीको दायरामा आउनु पर्छ ।’

यस्तो छ कानूनी व्यवस्था
कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले कसैले देहायको कुनै काम गरे गराएमा कालोबजारी गरेको ठहर्छ । नेपाल सरकारले मोल निर्धारित गरिएको वस्तुमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै माल वस्तु बिक्री गरेमा सो माल वस्तुको लिएको माल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई एक वर्षसम्म कैद हुनेछ र दश लाख रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ ।