पछिल्लो समय नेपाली समाज झनै विकृत र विसङ्गत बन्दै गइरहेको छ । वस्तुतः यो नेपाली समाजको मात्र समस्या भने होइन । यो विश्व मानव समाजकै आम समस्या हो । यसरी समाज विकृत, भ्रष्ट र ढोङ्गी बन्दैगएको औसत सबै चेतनाहरूले महसुस गरिरहेकै विषयहरू हुन् । बिग्रियो, भत्कियो, खत्तम भयो अनि बर्बाद भयो भन्ने पनि सबैले जानेबुझेकै सवाल हो । यस्तो बर्बादीले हामीलाई  सही गन्तव्यमा पुर्याउँदैन भन्ने पनि सबैलाई थाहा छ । गलत गरियो भने विस्थापित भइन्छ अनि राम्रो गरियो भने स्थापित भइन्छ भन्ने पनि सबैलाई राम्रोसँग थाहा छ । यस्तै रवैयाले समाज आपराधिक, अराजक र चरम् स्वार्थी बन्दै गएको पनि धेरैले देखेजानेकै कुरा हो । यही पृष्ठभूमिमा सिङ्गो समाज सचेत र सिर्जनशील नभएर झनै बरालिने, बहकिने र छचल्किने क्रममा देखिन्छ ।

यसरी हामीले गरिरहेको हरेक गतिविधिहरूले उत्पादनशील परिणाम दिन सकिरहेको छैन भन्ने प्रायः सबैलाई थाहा छ । गलत गरे गाली र सही गरे ताली पाइन्छ भन्ने न्यूनतम् चेत नभएको पनि होइन । विरोध, आलोचना र सजाय भोग्नुपर्छ भन्ने पनि राम्ररी थाहा छ । प्रमाणित भए जेल बस्नुपर्छ अनि इज्जत र प्रतिष्ठामा कालो दाग लाग्छ भन्ने पनि राम्रै ज्ञान छ । तर, पनि यस्तो गलत र आपराधिक कामहरू किन भइरहन्छ ? आज इमान्दार हुन्छन् भोलि भौतिक परिवेश सापेक्ष बेइमान हुन्छन् । कठिन र जीवनमरणको सङ्घर्षको बेला त्याग, बलिदान र समर्पणको कुरा गरिन्छ तर, अनुकूल अवस्थामा प्रायः अधिकांश यस्तै कुकर्महरूमा फसिरहेका छन् किन ? अर्थात् राम्रोसँग जान्दाजान्दै अनि राम्रोसँग बुभ्mदाबुभ्mदै पनि यस्तो घटना किन भइरहन्छ ? यसको सारभूत कारणबारे यहाँ चर्चा गरिएको छ ।

वस्तुतः कुनै पनि समाजको समग्र क्रियाकलापहरू उक्त समाजलाई नेतृत्व गरिरहेको अर्थराजनीतिक दृष्टिकोणले निर्धारण गरिरहेको हुन्छ । यो सार्वभौम कुरा हो । यसो भएपछि आज हाम्रो समाज वा आजको विश्व मानव समाजलाई कुन अर्थराजनीतिक विचारले दिशानिर्देश गरिरहेको छ भन्ने सवाल प्रधान हुने गर्दछ । खास अर्थराजनीतिले खास समाजको संस्कृति, सोच, चिन्तन, जीवनशैली, कार्यशैली, खानपान, उठबस, आचरण र जीवनव्यवहार निर्धारित हुने गर्दछ । सिङ्गो सामाजिक मनोविज्ञान, भाष्य र दृष्टिकोणहरू अर्थराजनीतिद्वारा निर्देशित हुने गर्दछ । सम्पूर्ण मानवीय दैनिक क्रियाकलापहरू अर्थराजनीतिक लयमा लय मिलाइरहेको हुन्छ । यस्तो वस्तुगत धरातलमा सही र गलत कसरी विन्यास हुन्छ भन्ने कुरा अर्थराजनीतिक चरित्रमा निर्भर हुन्छ । अर्थात् एउटा विशेषताको अर्थराजनीतिमा सही परिभाषित गरिने मुद्दा अर्को विशेषताको अर्थराजनीतिमा गलत हुने गर्दछ । त्यसैले हामीले के सिकिरहेका छौं वा के कस्तो आनीवानी र चालचलन अभ्यास गरिरहेका छौँ भन्ने कुरा अर्थराजनीतिले निर्धारण गर्ने सवाल हो ।

आजको मानव समाज पुँजीवादी अर्थराजनीतिक उत्पादन पद्घतिद्वारा निर्देशित रहेको छ । पुँजीवाद पनि नाफा र पुँजी सञ्चयको अतृप्त लोभमा विभिन्न अवतारी भेषहरूमा प्रकट हुने गर्दछ । पछिल्लो समय यो भूमण्डलीकृत दलाल पुँजीवादी अर्थराजनीतिक तथा सांस्कृतिक अवतारमा प्रकट भइरहेको छ । वास्तवमा पुँजीवाद भनेको निकृष्ट निजी स्वामित्वमा आधारित उत्पादन पद्घति हो । यो निजी असीमित नाफा र सञ्चयको आधारभूत नीतिद्वारा निर्देशित हुन्छ । निजित्व, नाफा र सञ्चय भनेको शोषण, उत्पीडन, विभेद र हेलाहोचोसँग जोडिने गर्दछ । यसरी निजी नाफा र सञ्चय विस्तार अनि सुदृढ गर्न नियमभन्दा बाहिरको गतिविधिहरू गर्नै पर्दछ । गैरकानूनी भनसुनहरू गर्नै पर्दछ । स्वार्थ मिल्नेहरूबीच बाक्लो र अस्वभाविक हिमचिमहरू गर्नै पर्दछ । संविधान, ऐन र कानूनहरू धारा, उपधारा र दफाहरू छल्नै पर्दछ । हरेक सामाजिक उत्पादनहरू निजी स्वार्थद्वारा निर्देशित हुन्छ । यही निजित्वको फेरो समातेर नाफा र सञ्चयको अतृप्त लोभ गर्ने सिलसिलामा नै व्यापारीहरूले भन्सार छलेर सामान ल्याउनु पर्ने हुन्छ । नेता वा कर्मचारीलाई पैसा खुवाएर कर छल्नु पर्ने हुन्छ । नेताले पनि पैसा बाँडेर, ढाँटेर, छलेर, झुक्याएर, भावनात्मक ब्ल्याकमेलिङ गरेर, मिडिया स्टन्ट गरेर, अरूलाई पाँडे गाली गरेर अनि सस्तो लोकप्रियताको ढोङ्ग गरेर निजी चुनाव जित्नु पर्ने हुन्छ । यता मतदाताले पनि उम्मेदवारहरूसँग मसँग यति मत छ, उति मत छ भन्दै मत सौदाबाजी गरेर आप्mनो निजी स्वार्थ प्राप्तिको प्रयोजनमा अनगिन्ती कामहरू गर्नुपर्ने हुन्छ । यसमा सबैको आ–आफ्नै खास निजी स्वार्थ हुने गर्दछ ।

यस्तो अर्थराजनीतिले नेतृत्व गरिरहेको समाजमा दोष कसलाई दिने ? कतिपयले कुनै पार्टी, नेता, कार्यकर्ता, कर्मचारी, न्यायाधीश, सेना र प्रहरीलाई दोष दिने गर्दछ । विशेष गरेर राजनैतिक पार्टी र नेताहरूलाई दोष दिने चलन छ । तर, दोष उनीहरूको मात्र होइन । यदि उनीहरूको मात्रै दोष हुन्थ्यो भने यति धेरै पार्टी र नेताहरूमध्ये कोही न कोही त इमान्दार, विवेकशील र अनुशासित हुनुपर्ने हो नी । कोही न कोहीको दिमागमा घाम लाग्नु पर्ने हो नि । तर, अन्ततः सबै उस्तै दलदलमा फस्छन् किन ? यसको सारभूत कारण भनेको अर्थराजनीति नै हो । नेपाली समाजलाई पुँजीवादी अर्थराजनीतिले नेतृत्व गरिरहेको छ । यस्तो अर्थराजनीतिमा सिङ्गो सामाजिक मनोविज्ञान, भाष्य र आचरणहरू निजित्वमा आधारित नाफा र सञ्चय केन्द्रित हुन्छ । यस्तो निजित्व, नाफा र सञ्चयको आधारभूत प्रस्थापनाद्वारा निर्देशित समाजमा समग्र संस्कृति, सोच, चिन्तन, जीवनशैली, कार्यशैली, उठबस, खानपान र व्यवहार आपराधिक, भ्रष्ट र छलछाममा आधारित हुन्छ । आपैm मात्र कमाउने र आपैm मात्र खाने भन्ने निकृष्ट निजी स्वार्थ हाबी हुन्छ । यस्तो स्वार्थले नेतृत्व गरिरहेको समाजमा नत अपराध न त भ्रष्टाचार अनि नत विकृती र विसङ्गती रहित हुन्छ । अपराध, भ्रष्टाचार र विसङ्गती भनेको निजित्वमा आधारित पुँजीवादी स्कुलिङको उपज हो । यसकारण यो पुँजीवाद रहेसम्म कायमै रहन्छ । 

त्यसैले अपराध, भ्रष्टाचार, विकृति विसङ्गति र जालझेलहरूलाई पूर्णरूपमा अन्त्य गर्ने हो भने अर्थराजनीतिक प्रणाली नै बदल्नु पर्ने हुन्छ । पुँजीवादलाई कायम राखेर भ्रष्टाचार र अपराधविहीन समाजको परिकल्पना गर्नु भनेको वैचारिक दरिद्रता र अज्ञानता मात्र हुन्छ । यस्तो वकालती कि त पुँजीवादी एजेण्टहरूले गर्छन् कि त सारभूत तथ्य नबुझेर गर्छन् । नेपालमा पछिल्लो समय दुवैखाले प्रवृत्ति हाबी देखिन्छ । यहाँ एकातिर पुँजीवादी दलालहरू पुँजीवादबाहेक अर्को अर्थराजनीतिक विकल्प छैन भनेर ढोल पिटिरहेका छन् भने अर्कोतिर अपराध, भ्रष्टाचार र विकृति कहाँबाट पैदा हुन्छ भन्ने न्यूनतम् ज्ञान नहुने अल्पज्ञानी प्रवृत्ति पनि हाबी रहेको छ । आजको पुँजीवाद र यसको दलाल पात्रहरू पनि यस्तै विभ्रमहरू छरेर आप्mनो वर्चश्व र ब्रह्मलुट जोगाइराख्ने दाउमा देखिन्छन् । उनीहरूले चुनावबाट सही मान्छे जिताएर सबै समस्याको समाधान गर्ने अवस्तुवादी र सतही कुरा गरेर आप्mनो वर्गस्वार्थ र वर्गचरित्रलाई ढाकछोप गरिरहेका छन् । उनीहरूले योजनाबद्धरूपमा पैmलाएका दिग्भ्रमहरूमा कतिपय मतदाताहरू आज नराम्ररी बहकिने, बरालिने र छचल्किने गरिरहेका छन् । यस्तो रवैयाले कसैलाई चुनाव जिताउला, सरकार बनाउला अनि भौतिक शक्ति र सुखभोग गर्लान् । तर अपराध, भ्रष्टाचार र विकृतिहरूको अन्त्य भने हुँदैन ।

तसर्थ, सारभूत समस्या पुँजीवादी अर्थराजनीतिक प्रणालीमा रहेको छ । वस्तुतः अर्थराजनीतिक प्रणाली समग्र वा निर्णायक हुन्छ भने अमुक पार्टी, व्यक्ति र कार्यकर्ताहरू गौण वा अंश हुन्छन् । सार्वभौमतः गौण र अंशले समाजमा निर्णायक उपस्थिति जनाउन सक्दैन । हामी नेपालीहरूको सम्पूर्ण उठबसहरू पुँजीवादी अर्थराजनीतिमा आधारित छ । तब त यहाँ अपराध, भ्रष्टाचार, विकृति, विसङ्गति र छलछामहरू भई नै रहन्छन् । अर्थात् राजनैतिकरूपमा निजी पदीय शक्ति, आर्थिकरूपमा निजी नाफा र सञ्चयको अतृप्त लोभ, सामाजिकरूपमा निजी छवि वा प्रतिष्ठा निर्माण अनि सांस्कृतिकरूपमा हिरोवादमा आधारित अहङ्कारी मानसिकता सबै पुँजीवादी अर्थराजनीतिका वरदानहरू हुन् । त्यसैले पुँजीवाद रहेसम्म अपराध, भ्रष्टाचार र असङ्गत कायमै रहन्छ । यसको साङ्गोपाङ्गो अन्त्य भनेको समाजवादी अर्थराजनीतिमा मात्र सम्भव हुन्छ, जहाँ निजी राजनैतिक शक्ति र प्रतिष्ठा निर्माणको लागि साम, दाम, दण्ड र भेदको नीति लिनु पर्दैन साथै निजी नाफा र पुँजी सञ्चयको अतृप्त लोभमा फस्नु पर्दैन । यस्तो आत्मगत तथा वस्तुगत अवस्थामा मात्र अपराध, भ्रष्टाचार र असङ्गतिहरूको सारभूत समाधान खोज्न सकिन्छ ।