विजयपुर । नेपालमा मदिरा सेवन गर्ने दर बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

नेपालमा हालै भएको अध्ययनअनुसार मदिरा सेवन गर्ने पुरुष दर ५० प्रतिशतले वृद्धि हुँदा महिलाको दर ५४ दशमलव ९ प्रतिशतले वृद्धि भएको देखाएको हो । सन् २०१३ देखि २०२२ सम्म गरेको सर्वेक्षणले नौ वर्षमा मदिरा सेवन गर्नेको दर अधिक मात्रामा वृद्धि भएको देखाएको छ ।

आइतबार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले धरानमा आयोजना गरेको ‘मदिरा नियन्त्रण तथा नियमन’ सम्बन्धी कार्यशाला गोष्ठीमा प्रस्तुत गरेको तथ्याङ्कले वयस्कहरू (१५–६९ वर्ष) का मानिसले दैनिक ११.७ प्रतिशतले मदिरा सेवन गर्ने गरेको उल्लेख गरिएको छ । ८ जनामध्ये एक जना मानिसले दैनिक मदिरा सेवन गर्ने गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार सर्वेक्षणले ६.८ प्रतिशत जनसङ्ख्याले अत्यधिक मदिरा सेवन गर्ने गरेको देखाएको छ अर्थात् १० लाख वयस्कले अत्यधिक मात्रामा मदिरा सेवन गर्ने गरेका छन् । जसमा पुरुष ३२.२ प्रतिशत र महिला १६.२ प्रतिशत मदिरा सेवनमा संलग्न रहेको उल्लेख गरिएको छ । मदिरा सेवन गर्ने २ सयभन्दा बढी रोग र चोटपटक लाग्ने अवस्था निम्त्याउँछ ।

विश्वमा मदिराको हानिकारक प्रयोगको कारणले गर्दा हरेक वर्ष ३० लाख मानिसहरूको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । जसले सबै प्रकारका मृत्युको ५.३ प्रतिशत प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । नेपालमा हुने सबै प्रकारका मृत्युहरूमध्ये ३.०४ प्रतिशत मृत्यु मदिराजन्य पदार्थका कारण हुने गरेको छ । नेपालमा सन् १९९० र २०१६ को बीचमा मदिराका कारण हुने मृत्यु ३ सय ७५ प्रतिशतले बढेको पाइन्छ ।

‘स्कुलका सटरमै मदिरा बिक्री’
सुनसरीका अधिकांश शैक्षिक संस्थाको सटरमा नै मदिरा बिक्री हुने गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । आइतबार स्वास्थ्य शिक्षा सूचना  तथा सञ्चार केन्द्रले धरानमा आयोजना गरेको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी कार्यशाला गोष्ठीमा प्रमुख जिल्ला आचार्यले भने, ‘स्कुलको सटरमा रक्सी व्यापार छ । यस विषयमा पालिकाले सोच्ने बेला आएको छ ।’ उनले विद्यालयले सटर बनाएर व्यापार गर्न अनुमति दिने गरेकोले त्यसमा नगरले व्यवसाय गर्न अुनमति दिँदा सोच्नुपर्ने बताए ।

‘नीति बनाउन पहल गर्छु’
गोष्ठीमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले सबैतिर समस्या रहेको बताउँदै भने, ‘मदिरा नियमनका लागि नियम कानून बनाउन आवश्यक छ ।’ उनले मदिरा व्यवसायीसँग छलफल गरेर मदिरा नियमनसम्बन्धी नीति बनाउन पहल गर्ने बताए ।

गोष्ठीमा प्रमुख जिल्ला अधिकारी अचार्यले मदिरा नियमनमा मदिरा व्यवसायीलाई पनि जिम्मेवार बनाउनु पर्ने बताए । उनले प्रशासनलाई मदिरा सेवन गरेर सडकमा हो–हल्ला गर्ने व्यक्तिलाई मात्र कानूनअनुसार नियन्त्रणमा लिई कारबाही गर्न सक्ने व्यवस्था रहेको बताए । गोष्ठीमा ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख सुवास केसीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई कारबाही गर्दा कसैले छुटाउन आग्रह नगर्न अनुरोध गरे । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्र प्रमुख केशवराज पण्डितको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा सुरक्षा निकायका प्रमुख, मदिरा व्यवसायी तथा सङ्घ–संस्थाका प्रतिनिधि, उपमहानगरका शिक्षा र स्वास्थ्य महाशाखा प्रमुख तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

धरानमा मदिराको होर्डिङ बोर्ड हटाइने
धरान उपमहानगरपालिका क्षेत्रमा मदिराजन्य पदार्थ प्रचार–प्रसार गरेको होर्डिङ बोर्ड हटाइने भएको छ । आइतबार स्वास्थ्य शिक्षा सूचना  तथा सञ्चार केन्द्रसँगको छलफलमा मदिराजन्य पदार्थ प्रचार–प्रसार गरिएको होर्डिङ बोर्ड हटाउने सहमति भएको हो । यस्तै विद्यालयको दुई सय गजभित्र रहेका मदिराजन्य पदार्थ बिक्री गर्न बन्द गराउने पनि सहमति भएको छ । यस्तै, अनुमति नलिई मदिरा बिक्री वितरण गर्न नदिइने पनि सहमति भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।