भद्रपुर । अचल सम्पत्ति घर–जग्गाको प्रमाणीकरण गर्ने राज्यको मुख्य कार्यालय नापी र भूमिसुधार तथा मालपोत कार्यालयको बेथितिका कारण आम सर्वसाधारणले वर्षौंदेखि सास्ती र हैरानी व्यहोरिरहनुपरेको छ ।

झापाका ती दुईवटा कार्यालयका कारण जनताले अहिलेसम्म पनि सरल र सहज रूपमा सेवा लिन पाएका छैनन् । ती कार्यालयमा सधैँ सास्ती र हैरानी मात्र व्यहोरिरहनुपरेको छ । वर्षौंदेखि देखे भोगेर पनि खुलेर विरोध नहँुदा नापी तथा मालपोत कार्यालयका कर्मचारीको मनोबल बढेर अहिले त झन् आम सर्वसाधारणले पेश गरेको फायलको काम नगरिदिने मात्र हैन, फायल नै गायब गरेर हैरानी दिने गरेका छन् ।

सर्वसाधारणको फायल हराइदिने, नियमअनुसार पेश गरेको फायलमा पनि विभिन्न बहाना बनाएर अनावश्यक झन्झट दिने मात्र नभई सिधै लेखापढी व्यवसायीमार्फत् कार्यालयमा आउन लगाउने गरिएको छ । लेखापढी व्यवसायीमार्फत् आउँदा कमिसन आउने भएकोले पनि नापी र मालपोत कार्यालयका कर्मचारीले सर्वसाधारणले सिधै ल्याएको फायल हराइदिने अथवा विभिन्न बहाना बनाएर काम नगर्ने गरिएको छ ।

पछिल्लो समय स्थानीय तहले जग्गा वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरणमा पनि आफ्नो घर–जग्गा भएको स्थानीय तहको सिफारिससहित प्रत्येक जग्गाधनीले मालपोतमा गएर अद्यावधिक गर्नुपर्ने भएको छ । अझ एउटै कित्ताको जग्गा दुई वा दुईभन्दा बढी वर्गमा परेको छ भने जग्गाको नापी कार्यालयमा गएर कित्ता काट गरेर मालपोत कार्यालयमा अद्यावधिक गर्नुपर्ने हुन्छ । जिल्लाका प्रत्येक जग्गाधनीले अनिवार्य जग्गाको अद्यावधिक गर्नुपर्ने भएकोले अहिले नापी र मालपोत कार्यालयलाई ‘मनि मेला’ लागेको सेवाग्राही आरोप लगाउँछन् । कार्यालयले सेवाग्राहीमाथि गर्ने व्यवहारका बारेमा एक सेवाग्राहीले खुलेर बोले पनि नाम भने भन्न चाहेनन् । नाम भनेमा बन्न लागेको काम पनि नहुने डरले आफ्नो नाम नबताउने उनले जनाए ।

यता भद्रपुर नगरपालिकाले जग्गा वर्गीकरण गरेपछि भद्रपुरका एक जना सेवाग्राहीले आफ्नो घर–जग्गाको वर्गीकरणअनुसारको अद्यावधिक गर्न भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमा पुग्दा भोग्नु परेको हैरानी र सास्तीले बिरामी नै पारेको दुःखेसो पोखेका छन् । उनका अनुसार सबै कागज पत्रसहित भूमिसुधार तथा मालपोत कार्यालयमा पुग्दा कार्याललयका कर्मचारीले  कार्यालयमा पेश गर्ने फारम लाइसेन्सप्राप्त लेखापढी व्यवसायीले नै भर्नुपर्ने र व्यवसायीको लाइसेन्स नम्बर पनि उल्लेख गर्नु पर्ने भन्दै फर्काएको बताए ।

यस विषयमा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख मालपोत अधिकृत शेरबहादुर भण्डारी कुनै कर्मचारीले सेवाग्राहीलाई त्यस्तो व्यवहार गरेको प्रमाणसहित आए कारबाही गर्ने बताउँछन् । आएका सेवाग्राहीको कामलाई प्राथमिकता दिनू भनेर कर्मचारीलाई निर्देशनसमेत दिएको भण्डारी बताउँछन् । अहिले भू–सेवामार्फत् सबै काम हुने भएकोले मालपोतले लेखापढी नचिन्ने भण्डारी बताउँछन् । अद्यावधिकको लागि लेखापढी व्यवसायीको आवश्यकता नपर्ने उनको भनाइ छ । लेखापढी व्यवसायीहरूले कसले कति रकम लिए, त्यो जानकारी नहुने उनले बताए । लेखापढी व्यवसायीहरूले लिने शुल्क नै तोकिदिन नेपाल सरकारसँग माग नै राखेको उनी बताउँछन् । यदि कसैले राजस्वबाहेक अनधिकृतरूपमा रकम लिएको प्रमाण आए उजुरी लिएर प्रमुख जिल्ला अधिकारीलाई भनेर भए पनि ठगीमा मुद्दा चलाइने भण्डारी बताउँछन् ।

कर्मचारीले फारममा लेखापढी व्यवसायीको हस्ताक्षर अनिवार्य गराउने र लेखापढी व्यवसायीले सेवाग्राहीसँग कित्ता काट गर्नुपर्ने भए ५ हजार र कित्ता काट गर्नु नपर्ने भए ३ हजार लाग्ने भन्दै सर्वसाधारणलाई खुलेआम लुट्ने गरिएको छ । सेवाग्राहीसँग अनावश्यक रकम किन लिइन्छ ? भन्ने जिज्ञासामा एक लेखापढी व्यवसायी नाम नछाप्ने शर्तमा भन्छन्, ‘हामी लेखापढी व्यवसायीले फारममा दर्ता नम्बर हालेर सही गरेपछि फाँटवालाले हिसाब राखेको हुन्छ, अनि हामीले हिसाब बुझाउनु पर्छ । नत्र भोलिदेखि काम गर्न गाह्रो हुन्छ ।’

विशेषगरी भद्रपुर नगरपालिकाले यही वैशाख २० गतेसम्म कित्ता काटको मिति तोकेका कारण जग्गाधनी अताल्लिएर भीड बढेसँगै केही गुनासो बाहिर आएको हुनसक्ने नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन भद्रपुरका अध्यक्ष लवराज पोखरेल बताउँछन् । लेखापढीले १५ सयसम्म शुल्क लिन पाउने निर्णय गरे पनि कामको चाप भएपछि कमाउधन्दामा लागेको हुनसक्ने उनले बताए । बढी रकम लिन नपाइने र त्यस्तो पाइएमा सजग गराइने उनको भनाइ छ । मालपोत र नापी कार्यालय पूरै सेटिङमा चलेको छ । लेखापढी व्यवसायीबाहेक आम सेवाग्राहीले आफै कुनै फाइल पेश गरे भने त्यो फाइलको कामै हुँदैन ।

व्यवसायीले पेश गरेको फाइलको काम ५ मिनेटमा हुन्छ, कागज पत्र पुगे नपुगेको केही हेरिँदैन, कागज पत्र नपुगे आँखाको इशारामा सबै कागज पुग्छ तर, सेवाग्राहीले पेश गरेको फाइलको काम १ हप्तासम्म पनि हुँदैन मात्र हैन, फाइल नै हराउँछ । अझ कर्मचारीले सेवाग्राही आफै आएको थाहा पाउने बित्तिकै पहिला त फाइल नै हेर्दैनन्, हेरिहाले भने पनि यो भएन, त्यो भएन, यो ल्याउनू, त्यो ल्याउनू भनेर जति रुपैयाँ भने पनि लेखापढी व्यवसायीलाई काम दिने वातावरण बनाउँछन् । किनभने लेखापढी व्यवसायीमार्फत् आउँदा ‘हिसाब’ आउँछ, सेवाग्राही सिधै आउँदा केही आउँदैन । मालपोत कार्यालयका कर्मचारीहरू भने लेखापढी व्यवसायीले भरेको फारम मात्र चल्ने भन्दै सेवाग्राहीलाई सास्ती र हैरानी दिइरहेका छन् । त्यसैगरी नापी कार्यालयमा पनि मालपोत कार्यालयकै जस्तो सेवाग्राहीलाई हैरानी र सास्ती दिने गरिन्छ । कार्यालय मात्र फरक अरू बोली व्यवहार उस्तै भएको प्रष्ट छ ।