विजयपुर । धरान उपमहानगरपालिका–९ चर्चलाइनस्थित बाटोको जग्गामा लगत कट्टाको समस्या देखिएको छ । लगतकट्टाको समस्या देखिएपछि  वडाध्यक्ष रूपेश आचार्यले ‘नामसारी’ गर्न सिफारिस गरिदिएको पाइएको छ ।

स्थानीय मृतक सीता आचार्यको नाममा दर्ता रहेका कारण नजिकका नातेदारमा ल्याएर मात्रै सार्वजनिक बाटो कायम हुने भएकाले सिफारिस गरिएको अध्यक्ष आचार्यले बताए । सोअनुसार गत साउन २९ गते मृतक आचार्यको नाममा रहेको धरान ७ ग कित्ता नं. ७१३ को १ कठ्ठा सात धुर जग्गा (हाल बाटो कायम रहेको) छोराहरू निरज र निर्मल आचार्यको नाममा नामसारी भएको छ । ‘मृतकको नाममा लगत कट्टा हुँदैन, त्यसैले नजिकका नातेदारमा ल्याएर लगत कट्टा गराउनलाई सिफारिस गरिदिएको थिएँ’ अध्यक्ष आचार्यले भने, ‘प्रक्रियागत रूपमा नै गरेको हुँ । तर, यसअघि समाचार आउँदा केही तथ्यगत त्रुटि देखियो ।’

आचार्य दाजुभाइले अंशबण्डाका लागि पनि सिफारिस मागेका थिए । तर, बाटोमा लगत कट्टा नभइञ्जेलसम्म अंशबण्डाको सिफारिस नगर्ने उनले बताए । वडाध्यक्ष आचार्यले भने, ‘त्यही कारण हालसम्म अंशबण्डाको सिफारिस पनि गरेको छैन । बाटोको लगत कट्टा गरेर मात्र अंशबण्डाको सिफारिस गर्छु ।’ यसअघि ब्लाष्टमा सार्वजनिक बाटो व्यक्तिको नाममा नामसारी गर्न वडाध्यक्षले अनुमति दिएको समाचार प्रकाशित भएको थियो । उक्त समाचारप्रति खण्डन गर्दै अध्यक्ष आचार्यले थपे, ‘मैले कुनै गलत उद्देश्यले सिफारिस दिएको होइन । कानून व्यवसायीदेखि सबैसँग बुझ्यौँ । मृतकको नाममा लगत कट्टा हुँदैन रहेछ । फेरि एउटै धनीपुर्जामा दुईवटा कित्ता थियो । त्यस्तो अवस्थामा त झनै समस्या हुने रहेछ ।’

धरान उपमहानगरपालिकामा भने २०५८ सालअगि नै बाटो कायम भएको देखिन्छ । स्थानीय केशरमान राईले घर निर्माण गर्नुपूर्व लिएको अनुमति र घर सम्पन्न कागजातको प्रमाण–पत्रमा धरान–७ (ग) कि. नं. ७१३ को कित्ता बाटो भएको उल्लेख थियो । तर, कानूनीरूपमा सरकारी बाटोमा लगत कट्टा नभएको पाइएपछि वडाध्यक्ष आचार्यले गत साउन १८ गते सिफारिस गरेका थिए । सोही विषयमा ब्लाष्टमा वैशाख १२ गते समाचार प्रकाशित भएको थियो । आचार्य दाजुभाइले आफूहरूले बाटोमा गइसकेको जग्गा आफ्नो नाममा कायम गर्न नखोजेको बताए । निरज आचार्यले आमाको नाममा भएको जग्गा आफ्नो नाममा ल्याउनका लागि वडामा निवेदन दिएको र सोहीअनुसार नामसारी भएर आएको बताए ।

भाइ निर्मल आचार्यले दाजुभाइ सङ्गोलमै बस्दै आएकाले पनि हालसम्म नामसारी गर्नुपर्ने अवस्था सिर्जना नभएको बताए । उनका अनुसार आमाको देहान्त भइसकेकाले पनि कुनै न कुनै दिन ल्याउनुपर्ने भएपछि अंशबण्डासहितको नामसारीको निवेदन वडामा दिएका थियौँ । उनले भने, ‘हामीलाई बाटो भनेर थाहा थिएन । आमाको नाममा भएको धनीपुर्जामा जग्गा देखिएकाले नामसारी गरिएको हो ।’ उनले आफूहरूले बाटोको जग्गा बाटोकै लागि दिने बताए ।

यता मालपोत कार्यालयका एक कर्मचारीका अनुसार नेपाल सरकारका नाममा बाटोमा लगत कट्टा नभएसम्म व्यक्तिकै नाममा रहन्छ । ती कर्मचारीले भने, ‘व्यावहारिक रूपमा बाटो भन्न मिल्यो तर, कानूनीरूपमा त्यो व्यक्तिकै रहन्छ । मृतकका नाममा लगत कट्टा हुँदैन । नजिकका हकदारकोमा ल्याउनै पर्ने हुन्छ । प्लटिङका जग्गामा यस्तो समस्या व्यापक छ । जब नेपाल सरकारको नाममा लगत कट्टा हुन्छ अनि मात्रै व्यक्तिको नाम हट्छ ।’