इटहरी । पूर्व–पश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट सुरु भएको रुख कटान अभियान बिहीबार सुनसरी प्रवेश गरेको छ ।

गत फागुन १७ गते झापाको काँकरभिट्टाबाट सुरु भएको रुख काट्ने काम बिहीबार सुनसरीको इटहरी आइपुगेको हो । दुई महिनाअघि झापादेखि सुरु भएको रुख कटान १५ दिनअघि मोरङको सुन्दरहरैंचा हुँदै बिहीबार सुनसरीको इटहरी प्रवेश गरेको हो । ‘दुई लेन’ सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप निर्माण सुरु गरिएको एसियन राजमार्ग क्षेत्रमा रुख काट्ने काम तीव्र बनाइएको ४ लेन सडक आयोजनाका प्रमुख जगत प्रजापतीले बताए ।

आयोजना अन्तर्गत इटहरीमा मात्रै २ सय ४२ वटा विभिन्न प्रजातिका ठूला रुखहरू काटिने जिल्ला वन अन्तर्गत सव–डिभिजन कार्यालय तरहराका वन रक्षक डिगम्बर विश्वासले बताए । उनका अनुसार आगामी तीन दिनभित्र इटहरी क्षेत्रका सबै रुखहरू कटान गर्ने गरी काम अघि बढाइएको र बिहीबार एकैदिन ३५ वटा रुखहरू काटिएको बताए ।

इटहरीमा रुख कटान चलिरहँदा विद्युत् प्राधिकरणले ३ देखि ४ घण्टासम्म विद्युत् सेवा अवरुद्ध बनाएको थियो । अधिकांश रुखहरू बिजुलीको पोलसँग जोडिएकोले रुख कटान गर्दा हुने सम्भावित क्षतिलाई मध्यनजर गर्दै बिहीबार दिउँसो १ बजेदेखि इटहरीस्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी मुख्य चौकदेखि बूढीखोलासम्म विद्युत् सेवा अवरुद्ध बनाइएको प्राधिकरणको वितरण शाखा इटहरीले जनाएको छ । विना सूचना प्राधिकरणले विद्युत् सेवा अवरुद्ध बनाएपछि सो क्षेत्रका बासिन्दाहरू केही समय रुष्ट बनेका थिए ।

त्यस्तै सडक आयोजनाले रुख काट्न खोज्दा स्थानीयले केही समय अवरोध पनि गरेका थिए । कतिपयले रुख काटेर नष्ट गर्नेभन्दा पनि उपयुक्त स्थान हेरेर स्थानान्तरण गरिनु पर्नेमा जोड दिएका थिए । एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरी काम गरिरहेको सडक आयोजनाको कार्यालय इटहरीले जनाएको छ ।

एसियाली विकास बैङ्कको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा उक्त आयोजनाको काम भइरहेको सो कार्यालयले जनाएको छ । ४ लेन सडक निर्माण अन्तर्गत विभिन्न मापदण्ड बनाएर काम गरिरहेको आयोजनाको कार्यालय इटहरीले जनाएको छ । झापादेखि लौकहीसम्मको १ सय २० किलोमिटर सडकलाई ४ लेन बनाउँदै गर्दा विभिन्न मापदण्ड तोकेर काम तीव्र बनाइएको सडक आयोजना प्रमुख जगत प्रजापतीले बताए ।

सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने प्रमुख प्रजापतीको भनाइ छ । रुख कटानको काम सकिएको क्षेत्रमा अहिले सडक सम्याउने काम भइरहेको पनि उनले बताए । 

राजमार्ग विस्तारका क्रममा १२ हजार बढी रुखहरू काट्नुपर्ने भए पनि अहिलेसम्म ८ हजार २ सय ५७ वटा ठूला रुखहरू काटिसकेको सडक आयोजना प्रमुख प्रजापती बताउँछन् । राजमार्ग विस्तारसँगै पूर्व–पश्चिम सडक खण्डमा ७१ वटा नयाँ पुलहरू निर्माण हुने आयोजनाले जनाएको छ ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरूपमा निर्माण भइसकेको आयोजनाले जनाएको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

एसियन हाई–वे थाइल्यान्डको बैङ्ककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ । ‘एसियन हाई–वे’ सडक सञ्जालमा जोडिएसँगै नेपालको ग्रामीणस्तरको व्यवसायले पनि अन्तर्राष्ट्रिय बजारको सम्भावना बोक्ने आशा जगाउने विश्वास गरिएको छ ।