धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले बुधबार पुस्तक लोकार्पणसहित पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

समूहले प्रकाशित गर्दै आएको ‘परदेशी बिम्ब’ को लोकार्पण गरिएको छ । पुस्तकको भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा, अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीलगायतले विमोचन गरे । यस क्रममा दुईवटा कविता सङ्ग्रह र कथा सङ्ग्रहको विषयमा परिचर्चा गरिएको छ । कवि कृष्णप्रसाद गौतमको लोकबेँसीको स्पन्दन कृतिमाथि कवि टीका आत्रेयले परिचर्चा गरिन् । उनले कृतिको आवरण पृष्ठमा रहेको चित्रले समग्र पहाडी जीवनको चित्रण गर्ने बताइन् ।

‘कविता सङ्ग्रहको कभर नै समग्र पहाडी जीवनको चित्रण नै कविता भएर बसेका छन्’–उनले भनिन् । उनले समसामयिक विषयवस्तुमाथि लेखिएको कविता रहेको बताइन् । यस कविता सङ्ग्रहमा रहेका कविताहरू भाग्य खोज्दै हिँड्ने हाम्रो वर्तमानका विषयमा पनि लेखिएको छ । उनले भनिन्, ‘भाग्य खोज्दै हिँड्ने हाम्रो वर्तमान हो । कहिलेसम्म हिँड्नुपर्ने हो ।’ गौतमका कविताहरू अन्तरहृदयबाट लेखिएको बताइन् ।

यस्तै सुनिता राई कन्दङ्वाको कथा सङ्ग्रह तिउरीमाथि कथाकार जनकऋषि राईले परिचर्चा गरे । उनले १३ वटा कथाहरू महिला वरिपरि नै घुमेको बताए । ‘हरेक कथाका कथानकहरू महिलासँग जोडिएका छन्, महिलाकै वरिपरि घुमेको छ’ –उनले भने । कतिपय स्थानमा कथाकार नै अल्मलिएको हो कि जस्तो लाग्ने उनले बताए । सुनाखरी र श्रद्धाञ्जलि कथा अधिक लामो भएकाले कथानक नै बीचमा हराउने र कहाँ जोडिन्छन् भन्ने पाठकलाई लागिरहने किसिमको भएको उनले बताए । ‘कथानकमा केही कमजोरी पनि रहेको छ’ उनले भने, ‘तर, पनि इजरायलमा बसेर कथा लेख्न सफल भएकोमा बधाई दिन्छु ।’

यस्तै सुरेन्द्र लिम्बू परदेशीको नयाँ कविता कृति हामी आयामका भूइँमान्छेहरूमाथि प्रा.डा. भीम खतिवडाले परिचर्चा गरेका थिए । उनले कविता मुटुको भाषा रहेकाले अलिकति स्वाभिमानको कुरा, अलिकति पहिचानको कुरा, अलिकति देशप्रेमको कुरा, अलिकति सद्भावको कुरा कृतिमा रहेको बताए । २० वटा कवितामा विज्ञान प्रविधिको कुरादेखि संसारका सबै कुरालाई अटाउन सफल भएको उनले बताए । उनले यस कृतिमा मोबाइल संस्कृतिले पठन संस्कृतिलाई खत्तम पारिसकेको विषयलाई पनि उठान गरिएको छ ।

‘पढ्न आग्रह गरिएको छ’–उनले भने । कार्यक्रममा अध्यक्ष लिम्बूले आफ्नो बाबा भीमबहादुर लिम्बूको नाममा स्थापना गरिएको भीम स्मृति साहित्यिक सम्मानबाट मधु माधुर्यलाई सम्मानित गरिएको छ । यस्तै भीम स्मृति साहित्यिक पुरस्कारबाट कवि दीपक सुवेदीलाई पुरस्कृत गरिएको छ । उनलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगदसहित प्रमाण–पत्रले पुरस्कृत गरिएको छ । यसैबीच गजलकार लक्ष्मण कट्वाल, रोमु अधिकारी, कवि सुकमतीकला राई, गगन योक्पाङ्देनलगायतले कविता वाचन गरेका थिए ।