धरान । धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाईस्कुलमा भर्नाका लागि प्रवेश परीक्षा दिन विद्यालयले तोकेको कोटाभन्दा दोब्बर विद्यार्थी सहभागी भएका छन् ।

विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्म जम्मा ३ सय १४ विद्यार्थीका लागि भर्ना आह्वान गरेकोमा प्रवेश परीक्षामा ७ सय १२ जना सहभागी भएको विद्यालयका को–अर्डिनेटर वीरेन्द्रबहादुर साहले जानकारी दिए । सामुदायिक विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा विद्यार्थीको चाप अत्यधिक बढेपछि स्कुलले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गर्ने गरेको छ । नयाँ शैक्षिक सत्र २०८१ का लागि मङ्गलबार सञ्चालन गरिएको प्रवेश परीक्षामा प्रवेश परीक्षा दिलाउन ल्याउनेमध्ये इटहरीस्थित सिबी कलेजका प्रिन्सिपल सागर भट्टराई पनि एक थिए । उनले पब्लिकमा पढाइ राम्रो हुने गरेको सुनेर आफ्नो छोरालाई भर्ना गराउन चाहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता सुदर्शन श्रेष्ठले पनि आफ्ना सन्तानलाई पब्लिकमा प्रवेश परीक्षाका लागि ल्याएका थिए । उनले सो विद्यालयमा छोराछोरी पढाइरहेका अन्य अभिभावकले पढाइ राम्रो रहेको बताएपछि आफूले पनि ल्याउन चाहेको बताए । अभिभावक प्रविना लिम्बूले सामुदायिक विद्यालय भए पनि पब्लिकमा गाडी र अन्य धेरै सुविधा भएकाले आफू आकर्षित भएको बताइन् ।

त्यस्तै राधिका कार्कीले पनि विभिन्न विषयको पढाइ हुने जानकारी पाएर यही विद्यालयमा भर्ना गर्न चाहेको बताइन् । विद्यालयका शिक्षक(अभिभावक सङ्घ अध्यक्ष राजेन्द्र किरातीले विद्यालयले अभिभावकसँग पटक–पटक छलफल र सहकार्य गरेर पठन–पाठनमा सुधार गर्दै लगेका कारण अभिभावकहरूको आकर्षण बढेको बताए । उनले भने, ‘पहिला यो विद्यालय पनि अन्य सामुदायिक विद्यालयभन्दा फरक थिएन तर, जब विद्यालयले अभिभावकसँग समस्या राखेर समाधानको बाटो खोज्यो, त्यसपछि अभिभावककै सहयोगमा विद्यालय चलिरहेको छ ।’

विद्यालयले विद्यार्थीका अभिभावकसँग आर्थिक सहयोग जुटाएर विभिन्न सुविधा थप गरिरहेको छ । पब्लिकमा हाल ६ वटा बस छन् । ल्याव, पुस्तकालय तथा सानो कक्षाका विद्यार्थीका लागि मन्टेश्वरी कक्षाको व्यवस्था गरिएको छ । विद्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झा अभिभावकको सहयोगकै भरमा विद्यालयको रूप परिवर्तन भएको बताउँछन् । उनका अनुसार विद्यालयमा शिक्षक र कर्मचारी गरेर हाल १ सय ९२ जना कार्यरत छन् । त्यसमध्ये जम्मा ४० जनाको मात्र सरकारले तलब दिन्छ । बाँकीलाई अभिभावकसँग सहयोग जुटाएर तलबको व्यवस्थापन गरिएको छ । प्रअ डा.झा भन्छन्, ‘दश वर्षअघिसम्म यो विद्यालय पनि अरू सामुदायिक विद्यालयभन्दा फरक थिएन । हामीले अभिभावक र सरोकारवालासँग छलफल गरेर सुधारको प्रयास गर्दा अभिभावकले सहयोग गर्नुभयो । अहिले त्यसैको भरमा चलेका छौँ ।’

विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म जम्मा ३ हजार ५ सय हाराहारीमा विद्यार्थी छन् । यो विद्यालयलाई सरकारले नमुना विद्यालयमा समेत छनोट गरेको छ । यसपटकबाट सरकारले विज्ञान पठन–पाठनका लागि कार्यक्रम सञ्चालन गर्न पब्लिकलाई पनि छनोट गरेको छ । विद्यालयमा हाल इलेक्ट्रिकल इञ्जिनियरिङ, कम्प्युटर साइन्स, कम्प्युटर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ब्युटिसियन कक्षासमेत सञ्चालन भइरहेका छन् । हाल नर्सरीदेखि ९ कक्षासम्म अङ्ग्रेजी माध्यम र १० देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन–पाठन भइरहेको प्रधानाध्यापक डा.झाले बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको कोशी प्रदेश समिति सचिव तथा पब्लिक हाईस्कुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्की विद्यालय र अभिभावककै पहलमा शैक्षिक वातावरण सुधार गरिएका कारण पब्लिकको शैक्षिक अवस्था राम्रो रहेको बताउँछन् । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले पब्लिक हाईस्कुलले शैक्षिक अवस्था सुधारका लागि धेरै काम गरेकाले नै अभिभावक र विद्यार्थीको आकर्षण बढेको बताए । उनले भने, ‘विद्यालयहरूले गर्ने राम्रा कार्यमा हाम्रो पनि सधैँ साथ सहयोग रहन्छ । पब्लिकबाट अरू विद्यालयले पनि धेरै कुरा सिक्न जरुरी छ ।’