विजयपुर । धरानभित्र लोड अनलोड गरिने मालवाहक सवारी साधनसँग मात्रै शुल्क लिनुपर्ने व्यवस्था भए पनि ठेकेदार कम्पनीले धरान भएर जाने सबै मालवाहक सवारी साधनबाट शुल्क असुल्ने गरेको छ ।

मङ्गलबार चालक केदार पुडासैनी ना.८ ख २१५४ नम्बरको खाली ट्रक लिई धनकुटातर्फ लागे । धनकुटा हिँडेका पुडासैनीको ट्रक तीनकुनेमा ठेकेदार ए.बि. रात देउ निर्माण सेवामा कार्यरत कर्मचारीले रोके । ब्लाष्टकर्मीले चालक पुडासैनीलाई सोध्दा एक सय ९० रुपैयाँको रसिद देखाउँदै भने, ‘शुल्क नतिरी हिँड्न दिँदैनन् ।’ यस्तै, को.१ ख ७६९२ नम्बरका चालक मनिस भुजेल पनि इटहरीबाट ट्रक लिएर सङ्खुवासभाको खाँदबारीतर्फ हिँडेका थिए । उनले पनि १ सय ९० रुपैयाँ नै तिरे । चालक भुजेलका अनुसार एउटै पालिकाभित्र तीन प्रकारको कर लिने गरेको छ । ठेकेदार कम्पनीले गैरकानूनीरूपमा शुल्क असुल गरिरहँदा पनि नियामक निकाय मौन छन् ।

धरान उपमहानगरपालिकाले धरानभित्र लोड अनलोड हुने सामग्री ल्याएका मालवाहक गाडीहरूको हकमा विभिन्न शुल्क तोकेको छ । जसमा पावर ट्रेलर, अन्य साना तीनचक्के सवारी साधनमा ५० रुपैयाँ, पिकअप तथा हलुका सवारी ६० रुपैयाँ, मिनी ट्रक ६५ रुपैयाँ, ट्याक्टर ५० रुपैयाँ, टिपर ६५ रुपैयाँ, ट्रक तथा अन्य हेभी सवारी ६५ रुपैयाँ, ६ चक्काभन्दा बढी भएका ट्रक, टिपर, लहरी आदिको १ सय २५ रुपैयाँ र पानी बोक्ने ट्याङ्करको ५० रुपैयाँ शुल्क तोकेको छ । ट्रक व्यवसायी सङ्घका अध्यक्ष जीबी खड्का धरानमा लोड अनलोड नगरी धरान क्षेत्रबाट बाहिरिने सवारीसाधनमा गैरकानूनी शुल्क असुल्ने गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘धरानभित्रै पनि ठूला सवारी साधनमा खुलेआम ६५ रुपैयाँ ठगी भइरहेको छ । साना सवारीबाट पनि बढी नै असुल गर्छ ।’

धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा धरानमा लोड अनलोड नगरी सिधै धरान भएर बाहिरिने सवारीसाधनलाई शुल्क लिन नमिल्ने बताउँछन् । यता ब्लाष्टलाई प्राप्त बिलहरू हेर्दा धरानबाहिर हिँडेका सवारी साधनहरूलाई पनि ठेकेदार कम्पनीले असुल गरिरहेको देखिन्छ । नीतिविपरीत शुल्क लिइरहेको विषयमा उपमहानगरले शुल्क नलिन पत्राचारसमेत गरेको उपप्रमुख बेघाले बताए । २०८० चैत ३० गते उपमहानगर राजस्व महाशाखा प्रमुख खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेको ६३५७ चलानी नम्बरको पत्रमा ‘नगरक्षेत्र बाहिरबाट लोड भई अन्यत्र जाने सवारी साधनबाट समेत उक्त शुल्क असुली गरेको भनी गुनासो निवेदन प्राप्त हुन आएको’ उल्लेख गरेका छन् । पत्रमा ‘अब उपरान्त धरान भएर बाहिरिने ढुवानीका सवारीसाधनहरूबाट उक्त शुल्क सङ्कलन नगर्नुहुन जानकारी गराइन्छ’ भनिएको छ । तर, पत्राचारपश्चात् पनि निर्माण सेवाले शुल्क लिइरहेको पाइएको छ ।

शुुल्क असुल गरिरहेको ठेकेदार कम्पनी ए.बि. रात देउ निर्माण सेवाका सञ्चालक जीवन न्यौपानेलाई सम्पर्क गरी बुझ्न खोज्दा उनको फोन स्विचअफ भएको पाइयो । ठेकेदार कम्पनीको प्रतिनिधिले भने धरान बाहिर जाने सवारीसाधनमा शुल्क उठाउन छाडेको दाबी गरे । तर, २७ गतेसम्म पनि शुल्क असुल गरेको बिल ब्लाष्टले प्राप्त गरेको छ । धरानको बाटो भएर धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, खोटाङ, ताप्लेजुङलगायतका पहाडी जिल्लामा दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन बाहिरिने गरेको धरान तीनकुने चेकपोष्टमा रहेका प्रहरी बताउँछन् ।

‘कारबाही गरिनुपर्छ’
ठेकेदार कम्पनीले एउटै सवारीसाधनलाई पटक–पटक असुल्ने गरेको व्यवसायी बताउँछन् । अध्यक्ष खड्काले भने, ‘ठेकेदारले एउटै गाडीलाई जति पटक आउँछ, त्यति पटक नै शुल्क लिन्छ ।’ गैरकानूनीरूपमा मालवाहक सवारीसाधनमा शुल्क असुल गर्ने ठेकेदार कम्पनी ए.बि.का सञ्चालकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने अध्यक्ष खड्का बताउँछन् । उपमहानगरपालिकाले स्ट्याम्प हानेर रसिद दिने तर शुल्क बढी असुल्दा पनि थाहा छैन भन्नु हास्यास्पद भएको उनी बताउँछन् ।

कारबाही गर्छौंः उपप्रमुख बेघा

उपप्रमुख बेघाले मापदण्डविपरीत शुल्क लिने ठेकेदार कम्पनीलाई कारबाही गर्ने दाबी गर्छन् । ब्लाष्टकर्मीसँगको फोन सम्पर्कमा उनले भने, ‘सम्झौताभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही हुन्छ ।’ राजस्व महाशाखा प्रमुख खतिवडाले नगर प्रहरी पठाएर स्थलगतरूपमा बुझेर निर्धारण गरेकोभन्दा बढी शुल्क लिएको पाइएमा सम्झौताअनुसार जरिबाना गर्ने बताउँछन् । उनी भन्छन्, ‘जरिबाना गराउने व्यवस्था छ, ठ्याक्कै कति भन्ने थाहा भएन, सम्झौतामा छ ।’